ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लम्कीचुहा अस्पताल हस्तान्तरणमा विवाद, कार्यान्वयन भएन साढे पाँच करोड बजेट

बुधबार ०४, चैत २०८२ ११:०९

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गरिरहेको १५ शय्याको अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालको रुपमा सञ्चालन गर्न विनियोजन बजेट हालसम्म पनि कार्यान्वयन भएको छैन ।

चालु आर्थिक वर्ष २०८२÷८३ सकिन चार महिना मात्रै बाँकी रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले उक्त बजेट कार्यान्वयनका लागि पहल गरेको छैन । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त बजेट कार्यान्वयनका लागि लम्कीचुहा नगरपालिकाबाट हस्तान्तरण लिई बजेट कार्यान्वयनको लागि टेण्डर आह्वान, जनशक्ति व्यवस्थापन लगायतका काम गर्नुपर्ने भए पनि नगरेको हो ।

यसवर्ष उक्त अस्पताललाई १५ शय्याबाट स्तरोन्नति गरी ५० शय्यामा सञ्चालन तथा व्यवस्थापन गर्न तीन करोड, उक्त अस्पतालका लागि औजार उपकरण खरिद गर्न एक करोड र स्तरोन्नतीका लागि एक करोड ५० लाख गरी जम्मा साढे पाँच करोड रुपैयाँ विनियोजन भएको छ । मन्त्रालयले समयमै नगरपालिकाबाट हस्तान्तरण लिई संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्भे गर्नुपर्ने थियो । तर गरेको छैन । सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले उक्त अस्पताललाई प्रदेश मातहतमा लिई प्रादेशिक अस्पतालको रुपमा सञ्चालन गर्न प्रसस्त बजेट विनियोजन गरिएको भएपनि कार्यान्वयन नभएको बताए । ‘अस्पतालको बजेट कार्यान्वयन भइसकेको छैन,’ उनले भने, ‘मेसु नियुक्त गर्न बाँकी छ । हामीले छिट्टै नियुक्त गरेर पठाउँछौं ।’

उक्त अस्पताललाई प्रदेशको मातहतमा ल्याई प्रदेश सरकारबाट नै साधनस्रोत व्यवस्थापन हुने गरी स्तरोन्नतिसहित सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्ने निर्णय नेपाल सरकारले २०८२ जेठ २६ गते नै निर्णय गरेको छ । उक्त निर्णयपछि हस्तान्तरण लिनका लागि मन्त्रालयले नगरपालिकासंग गर्ने सम्झौताको मस्यौदा पनि तयार गरेको छ । 

तर लम्कीचुहा नगरपालिकाले हस्तान्तरण नभएको जनाएको छ । लम्कीचुहा नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले अस्पताल हस्तान्तरण भएको विषयमा आफूलाई जानकारी नरहेको र अहिलेसम्म नगरपालिकाकै बजेटबाट अस्पताल सञ्चालन भइरहेको बताइन् । मन्त्रालयका सचिव रेग्मीले कानुनी रुपमा प्रदेश मातहतमा आइसकेको भएपनि प्रक्रियागत र व्यवहारिक रुपमा मात्रै प्रदेश मातहतमा ल्याउन बाँकी रहेको बताए ।

नगरपालिकाकै मातहतमा रहेको अस्पतालमा प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरिदिएपछि प्रदेश सरकार र उक्त नगरपालिकाबीच विवाद सुरु भएको छ । प्रदेश सरकारले आइतबार प्रदेशका तीन प्रादेशिक अस्पतालमा व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काको निर्णयबाट सेती, लम्कीचुहा र जोगबुढा प्रादेशिक अस्पतालमा अध्यक्ष र सदस्यको नियुक्ति गरिएकोमा लम्कीचुहा अस्पतालमा व्यवस्थापन समिति गठनको विरोध भएको छ ।
 

प्रतिक्रिया