धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तीन प्रादेशिक अस्पतालमा अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ । एक वर्षदेखि समितिविहीन रहेको सेती प्रादेशिक अस्पतालसंगै भर्खरै प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएका कैलालीको लम्की र डडेल्धुराको जोगबुढा अस्पतालमा राजनीतिक नियुक्ति गरिएको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्ट, लम्कीचुहा प्रादेशिक अस्पतालमा अध्यक्षमा रामबहादुर बिष्ट र जोगबुढा अस्पतालको अध्यक्षमा कैलसिंह धामीलाई नियुक्त गरिएको जानकारी दिए । नियुक्त भएका तीनै जना अध्यक्ष प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस निकट हुन् ।
यस्तै सेती अस्पतालको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी र निरञ्जन शाह, लम्कीचुहा अस्पतालको सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार तथा जोगबुढा अस्पतालको सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्टलाई नियुक्त गरिएको छ ।
सेती अस्पताल गतवर्ष फागुनदेखि विकास समितिविहीन थियो भने जोगबुढा र लम्की अस्पताललाई केही समयअघि मात्रै प्रदेश मातहत ल्याइएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारमातहतका आठ अस्पताल अझै विकास समितिविहीन छन् । महाकाली प्रादेशिक अस्पताल तथा छवटा जिल्ला र एउटा जिल्लास्तरीय अस्पताल गरी आठ वटा अस्पताल एक वर्षदेखि विकास समितिविहीन रहेका हुन् ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले छिट्टै अन्य अस्पतालमामा पनि नियुक्ति गरिने जानकारी दिए ।
प्रतिक्रिया