काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य सुरू गरेको छ । अब नागरिकले छुट्टै स्वास्थ्य बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बिमाको सुविधा दिने तयारी थालिएको हो ।
राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने गरी स्वास्थ्य बिमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतासँगै बोर्डले आगामी चैत २५ गते पर्ने ‘स्वास्थ्य बिमा दिवस’ को अवसर पारेर स्वास्थ्य बिमाको नयाँ दर्ता प्रक्रिया समेत अनलाइनमार्फत नै सुरु गर्ने गृहकार्य गरिरहेको छ । अहिलेसम्म स्वास्थ्य बिमाको नवीकरण मात्र अनलाइनबाट हुँदै आएकोमा अब भने नयाँ बीमितले दर्ताका लागि पनि अनलाइनबाटै सुविधा पाउनेछन् ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार नयाँ प्रणाली लागु भएपछि नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुने सुविधा पाउनेछन् । ‘अब स्वास्थ्य बिमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने प्रणालीतर्फ जाने तयारी भइरहेको छ,’ मल्लले भने ।
एनआईडी प्रणालीसँग जोडिएपछि स्वास्थ्य बिमा सम्बन्धी हाल देखिएका धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ । हाल स्वास्थ्य बिमा कार्यक्रममा करिब एक करोड नागरिक आबद्ध भइसकेका छन् । तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा विवरण नमिल्ने तथा कार्डको गलत प्रयोग हुने समस्या देखिएको थियो ।
देशभरिबाट संकलन भएको राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बिमा कार्यक्रम जोडिँदा डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने र कार्डको दुरुपयोग घट्ने मल्लले बताए । ‘एनआईडी नम्बरको आधारमा प्रणाली जोडिँदा यस्ता समस्या धेरै हदसम्म नियन्त्रण हुन्छ,’ उनले भने ।
नयाँ व्यवस्थासँगै स्वास्थ्य बिमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् । भविष्यमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरण समेत लागु गर्ने बोर्डको योजना छ ।
प्रतिक्रिया