धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले विवाह, व्रतबन्ध, सप्ताह एवम् चाडपर्व लगायत पूजा किर्तनहरुमा माइक, डिजे जस्ता विद्युतीय बाजा नबजाउन आग्रह गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले एक सूचना जारी गर्दै माइक, डिजे जस्ता विद्युतीय बाजा तथा प्रेसर हर्न नबजाउन र पटाका नपट्काउन आग्रह गरेको हो । ध्वनि प्रदुषणका कारण नगरवासीहरुलाई नकारात्मक असर परेको र वृद्ध तथा बालबालिका र मुटु रोग लागेका मानिसहरुको स्वास्थ्य थप समस्या उत्पन्न भएको सूचनामा उल्लेख छ ।
उक्त समस्या उत्पन्न भएको नगरवासीबाट पटकपटक गुनासो आइरहेको र ध्वनी प्रदुषणबाट वातावरणमा समेत नकारात्मक असर पुग्ने भएकोले नगरभित्रका सम्पूर्ण सरोकारवालाहरुलाई ध्वनी प्रदुषण सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ बमोजिम ध्वनी प्रदुषण नियन्त्रण गर्न उपमहानगरले सूचना प्रकाशित गरेको जनाएको छ ।
अटेर गरी त्यस्ता सामग्री प्रयोग गरे–गराएमा नियम कानून बमोजिम कारवाही गर्ने चेतावनी पनि उपमहानगरपालिकाले सूचनामार्फत् दिएको छ ।
प्रतिक्रिया