धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित विशालनगरको नेतुवा ताल क्षेत्र पछिल्लो समय लागुऔषध दुर्व्यसनको केन्द्र बन्दै गएको छ । दिनहुँ लागुऔषध सेवन तथा ओसारपसारका गतिविधिका कारण उक्त क्षेत्रका बासिन्दा असुरक्षाको महसुस गर्न थालेका छन् ।
स्थानीयका अनुसार नेतुवा ताल आसपासमा दैनिक रूपमा युवाहरूको समूह जम्मा भई लागुऔषध सेवन गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले समाजमा असुरक्षा बढाउनुका साथै किशोरकिशोरीमा समेत नकारात्मक असर पारिरहेको उनीहरूको गुनासो छ। “साना बालबालिकासमेत गलत बाटोमा लाग्न सक्ने खतरा बढेको छ, हामी निकै चिन्तित छौं,” एक स्थानीयले बताए।
स्थानीयका अनुसार उक्त क्षेत्रमा रहेका एक–दुई वटा बाँझो तथा सुनसान घरहरू लागुऔषध सेवन, ओसारपसार र अन्य अवाञ्छित गतिविधिका लागि प्रयोग भइरहेको छ। यसले बस्तीमा झन् समस्या बढाएको उनीहरूको भनाइ छ।
लागुऔषध दुव्र्यसनसँगै आपराधिक गतिविधि समेत बढ्दै गएको स्थानीयको दाबी छ। पछिल्लो ६ महिनामा सोही क्षेत्रका ६ वटा घरमा चोरी भएका घटनाले बासिन्दामा त्रास बढाएको छ।
स्थानीयका अनुसार पटकपटक प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि नियन्त्रण हुन सकेको छैन। कहिलेकाहीँ प्रहरी आएर निगरानी गरेजस्तो देखिए पनि दीर्घकालीन रूपमा कडाइ नहुँदा समस्या यथावत रहेको उनीहरूको भनाइ छ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले भने उक्त क्षेत्रको अवस्थाबारे जानकारी आएको र अब निरन्तर निगरानी बढाइने बताएका छन्। उनले समुदायको सुरक्षालाई प्राथमिकतामा राख्दै लागुऔषधसम्बन्धी गतिविधि नियन्त्रणका लागि प्रहरी थप सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया