धनगढी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्आित गर्दै सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानको नौ दिन मात्रै बाँकी रहेको अवस्थामा प्रदेशका नौ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रदेश प्रहरी कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला–जिल्लामा थप प्रहरी परिचालन गरिएको जनाएको छ ।
निर्वाचन सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयहरूमा थप मदत पठाउने क्रममा जारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टले जानकारी दिए । ‘सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट जिल्ला प्रहरी कार्यालय बैतडी, डडेल्धुरा र डोटीका लागि तीन सय ६० जनाको प्रहरी टोली खटिएको छ,’ उनले भने, ‘निर्वाचन सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयहरूमा थप मदत खटाउने क्रम जारी रहेको छ ।’
यस्तै, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरबाट जिल्ला प्रहरी कार्यालय बझाङका लागि दुई सय २१ जनाको प्रहरी टोली खटिएको छ । प्रदेश प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट जिल्ला प्रहरी कार्यालय बझाङका लागि प्रहरी निरीक्षकसहित ३० जनाको टोली खटिएको छ ।
गणबाटै एक सय ५५ जना प्रहरीको टोली अछाम जिल्लामा परिचालन गरिएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ४० जना प्रहरीको टोली कैलाली र कञ्चनपुर जिल्लामा परिचालन गरिएको छ । निर्वाचनको समयमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै लगिएको प्रदेश प्रहरीले जनाएको छ ।
प्रतिक्रिया