ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा चुनावी माहोल : उम्मेदवार र एजेन्डामा छैन बहस

मङ्गलबार १२, फागुन २०८२ ०९:०३

धनगढी । अछामको साँफेबगरका भक्तबहादुर कुँवर तेस्रोपटक मतदानको तयारीमा छन् । उनलाई एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारबारे मात्रै जानकारी छ । तर, कुँवर पुराना दलले देशमा समृद्धि ल्याउन नसकेको भन्दै आसन्न निर्वाचनमा नयाँ दललाई मतदान गर्ने तयारीमा छन् । ‘नयाँबाट को उम्मेदवार छ र उनक एजेण्डा के छन् भन्ने विषयमा मलाई जानकारी छैन,’ उनले भने, ‘उम्मेदवार जो सुकै भए पनि नयाँले देशमा केही गर्छन् की भन्ने आशा छ । त्यसैले यसपटक भोट परिवर्तन गर्ने निर्णयमा पुगेको छु ।’

दार्चुलाको शैल्यशिखर घर भई हाल कैलालीको धनगढीमा बस्र्दै आएका रमेश खडायतलाई आफ्नो जिल्लाका सबै उम्मेदवारबारे जानकारी छैन । कुन दलबाट को उम्मेदवार छन् भन्ने विषयमा उनलाई चासो पनि छैन । न त उनीहरुका एजेण्डा नै के छन् ? भन्ने जान्नु छ खडायतलाई । तर, उनी २१ फागुनअघि दार्चुला फर्किएर परिवर्तनका लागि मतदान गर्ने बताउँछन् । ‘उम्मेदवार र उनीहरुका एजेण्डाबारे मलाई जान्नु पनि छैन,’ उनी भन्छन्, ‘देशमा परिवर्तन चाहिएको छ । पुराना दलबाट परिवर्तन सम्भव देखिएन । अब नयाँलाई भोट हाल्छु ।’ नयाँ भनिएका दलबाट को उम्मेदवार छन् ? भन्ने प्रश्नमा खडायतले आफूलाई जानकारी नभएको बताए । 

२१ फागुनको निर्वाचन आउन अब १० दिन मात्रै बाँकी छ । उम्मेदवारले प्रचार गर्न पाउने अवधि सात दिन मात्रै छ । तर, अझैसम्म ठुला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सुदूरपश्चिम आएका छैनन् । विगतका चुनाव जस्तो उनीहरुले प्रादेशिक आमसभा समेत आयोजना गर्न सकेका छैनन् । आफूलाई नयाँ भन्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने ६ फागुनमा कैलालीको धनगढीमा चुनावी सभा गरिसकेको छ । उक्त सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका थिए । अन्य दलबाट माहोल फेर्नसक्ने चुनावी कार्यक्रम नभएको र धनगढी सभाले चुनावी लहर झनै आफ्नो पक्षमा ढल्किएको विश्लेषण रास्वपाको छ । 

पत्रकार महासंघ सुदूरपश्चिमका पूर्वअध्यक्ष योगेश रावल अहिलेको चुनावी माहोलले परिणामबारे आकलन गर्नै नसकिएको बताउँछन् । ‘पुरानाप्रति मतदाता आक्रोसित छन्,’ उनले भने, ‘उम्मेदवार को हो ? कस्तो हो ? मतलब छैन । सबैको मुखमा नयाँ मात्रै सुनिन्छ । परिणाम जे पनि आउन सक्छ ।’ अहिलेको अवस्थामा पुराना दललाई आफ्ना मतदाता रोक्न चुनौती रहेको रावल बताउँछन् । ‘पुरानाको जति राम्रो भए पनि खराब र नयाँको जति खराब भए पनि राम्रो भन्ने मानसिकता मतदातामा देखिन्छ,’ रावलले भने, ‘तर, दलहरुले पुराना मतदातालाई रिझाउने सम्भावना नै नभएको भने होइन ।’

कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक शिवराज जोशी पनि अहिलेको चुनावी माहोलले परिवर्तन खोजिरहेको बताउँछन् । ‘उम्मेदवारका चुनावी एजेण्डामा मतदाताको चासो नहुनुको पछाडि त विगतका एजेण्डा कार्यान्वयन नहुनु हो,’ जोशी भन्छन्, ‘विगतमा दलहरुले निर्वाचनमा सार्वजनिक गरेका एजेण्डालाई चुनाव जित्ने माध्यम मात्रै बनाए । ती एजेण्डा कार्यान्वयनतर्फ कहिल्यै ध्यान दिएनन् । त्यसैले यसपटक मतदाताको एजेन्डामाथि छलफल गर्ने इच्छा देखिन्न ।’ मतदानअघि उम्मेदवार र उनीहरुका एजेण्डामाथि बहस आवश्यक रहेको सहप्राध्यापक जोशी बताउँछन् । 

२१ फागुनको निर्वाचनका लागि सुदूरपश्चिमका १६ क्षेत्रमा दुई सय आठ उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सबै क्षेत्रमा उम्मेदवार उठाएका छन् । अन्य केही दलका र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । अहिले उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डा लगेर मतदातामाझ पुगिरहेका छन् । आफ्नो चुनावी क्षेत्रबाहेक प्रादेशिक विकासका एजेन्डा पनि उम्मेदवारहरुको प्राथमिकतामा छन् । 

सबैभन्दा बढी उम्मेदवारले धनगढीमा फाप्ला क्रिकेट रंगशाला निर्माण, धनगढी विमानस्थल स्तरोन्नति, सेती लोकमार्ग, महाकाली करिडोर र धनगढी– दीपायल द्रुत मार्ग निर्माणको योजना उम्मेदवारको घोषणापत्रमा समेटेका छन् । यस्तै सेती प्रादेशिक अस्पतालको स्तरोन्नति र शहीद दशरथ चन्द विश्वविद्यालय सुचारु पनि एजेन्डामा अटाएको छ । सुख्खा बन्दरगाह निर्माण, औद्योगिक क्षेत्र स्थापना, विशेष आर्थिक क्षेत्र सञ्चालन लगायतका योजना पनि उम्मेदवारका एजेण्डा बनेका छन् ।

प्रतिक्रिया