ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सेती प्रादेशिक अस्पतालमा आजदेखि निःशुल्क जलन उपचार शिविर

मङ्गलबार १२, फागुन २०८२ ११:२६

धनगढी । सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन भएको छ । नबिल बैंक, सुश्मा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हाे । 

फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएका व्यक्तिहरु लाभान्वित हुने सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापक वेदप्रकाश जोशीका अनुसार जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा पनि प्रदान गरिने छ ।

उनले शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, कपाल गुमाएका, हातका औंला टाँसिएका, हातखुट्टामा पाँच वटाभन्दा बढी औंला टाँसिएका, विस्फोटमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनु पर्ने अवस्था भएका तथा खुट्टाको पैतला भित्रतिर फर्किएकाले निःशुल्क उपचार पाउने जनाए । जटिल समस्या भएका बिरामीलाई काठमाडौंको साँखुस्थित सुश्मा कोइराला मेमोरियल अस्पतालमा लगी निःशुल्क उपचार व्यवस्था मिलाइने उनले बताए ।

नविल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर धनगढीबाट सुरु गरिएको छ । यस्ता शिविर अन्य प्रदेशमा पनि सञ्चालन गरिने बैंकले बताएको छ । बैंकका अनुसार पहिलो चरणमा धनगढीमा सुश्मा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो । उक्त शिविरबाट १२० बढी लाभग्राही लाभान्वित हुने बैंकको अपेक्षा छ । बैंकले शिविर सञ्चालन गर्न कीर्तिपुर अस्पतालअन्तर्गतको फेक्ट नेपाल र सुश्मा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष ५६ हजार हाराहारीमा जलनसम्बन्धी घटना हुने गरेका छन् । यसमध्ये औषतमा दुई हजार एक सयको मृत्यु हुने गरिएकाे छ  ।

प्रतिक्रिया