धनगढी । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वारका रुपमा रहेको छ, कैलालीको अत्तरिया । अत्तरिया मुख्य बजारको छेउमै एउटा सरकारी विशाल शैक्षिक संस्था देखिन्छ । जहाँ, तीन तलेसम्मका भव्य भवनहरु, व्यवस्थित अन्य भौतिक पूर्वाधार, पर्याप्त शिक्षक जनशक्ति र गुणस्तरीय शिक्षाको लक्ष्य देखिन्छ । उक्त शैक्षिक संस्था हो, दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय । १६ हजार १३०.८६ वर्गमिटर क्षेत्रफलमा फैलिएको दुर्गालक्ष्मीको विद्यालय परिसरमा १३ वटा आकर्षक भवन छन् । जहाँ दुई हजार आठ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
लामो र संघर्षपूर्ण यात्रा पार गर्दै दुर्गालक्ष्मी आजको यो आकर्षक र व्यवस्थित स्वरुपमा उभिएको हो । करिब ५२ वर्षअघि, बालबालिकाहरुले घरघरबाट ल्याएका बोरा बिछ्याएर खुला चौरमा एक जना शिक्षकको भरमा विद्यालय सुरु गर्नु परेको स्थापनाकालको त्या अवस्थासंग दाज्दा त एक सपना झै लाग्छ देखे भोगेकाहरुलाई । त्यसबेला विद्यालयसंग न भवन थियो, न त फर्निचर । थियो त केवल बालबालिकालाई शिक्षाको दीपबाट प्रज्वलित गर्ने अठोट र आफ्ना बालबालिकाहरुलाई पढाउन चाहने अभिभावकहरुको उत्कठ अभिलाषा ।
बाल दिवसको अवसर पारेर ०३० भदौं ४ गते यो विद्यालय स्थापना गरिएको अभिलेखमा उल्लेख छ । तराईको जिल्ला भए पनि तत्कालीन अत्तरिया शिक्षाको दृष्टिले निकै पछाडि थियो । विद्यालय स्थापना गर्न ढिलाई गरे विद्यमान अशिक्षा र चेतनास्तर झन्झन् कमजोर हुने स्थानीयको महसुसले दुर्गालक्ष्मी स्थापनाको जग कोरिएको थियो । विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णदत्त पनेरु ती प्रारम्भिक दिन सम्झदै स्मारिकामा लेखेका छन्, ‘अत्तरियामा बसोवास रहेका मेरा भिनाजु जयप्रसाद पाण्डेले एक दिन यहाँका अगुवा नरबहादुर कडायत र भीमबहादुर कडायतसंग भेट गराउनु भयो । उहाँहरु तीनै जनाले अत्तरियामा विद्यालय अनिवार्य रहेको भन्दै मलाई सहयोग गर्न आग्रह गरेपछि विद्यालय स्थापना गर्न छलफल सुरु भएको थियो ।’
विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णदत्त पनेरु, ‘हरिदत्त–कौशिला पनेरु स्मृतिकोष’को छात्रबृत्ति तथा पोशाक वितरण गर्दै
डडेल्धुराको अजयमेरु गाउँपालिका– २ सिमका पनेरु त्यसबेला भारतबाट अध्ययन पूरा गरेर भर्खरै फर्किएका थिए । अध्यापनका लागि उपलब्ध एक मात्र योग्य व्यक्ति उनी नै थिए । विद्यालय स्थापना गर्ने सल्लाहपछि गाउँलेहरुले स्थानीय मुखिया चन्द्रभान कडायतको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेर औपचारिक रुपमा विद्यालय स्थापनाको प्रक्रिया अघि बढाए । त्यस क्रममा विद्यालयको नाम राखियो ‘श्री दुर्गालक्ष्मी लोअर प्राइमरी स्कूल’ ।
अभिभावकहरुले घरघरबाट मासिक पाँच रुपैयाँ चन्दा संकलन गरेर मासिक ७० रुपैयाँ पारिश्रमिक दिने प्रतिवद्धता गरेपछि पनेरु अध्यापनसहित विद्यालयको शैक्षिक नेतृत्व गर्न राजी भएको सम्झन्छन् । ‘प्रतिवद्धता गरे पनि सबै अभिभावकले मासिक पाँच रुपैयाँ चन्दा सहयोग सक्दैनथे,’ पनेरुले सम्झिएका छन् ।
संस्थापक प्रअ पनेरुका अनुसार त्यसबेला भौतिक पूर्वाधार शून्य थियो । खुला चौरमै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो । विद्यार्थीहरु घरबाट बोरा बोकेर आउँथे, लेख्नका लागि सिलेट र खरी पनि उनीहरु आफैंले ल्याउनु पथ्र्यो । पहिलो वर्ष जम्मा २५ जना विद्यार्थी भर्ना भएका थिए, उनीहरुको सिकाईस्तर हेरेर कक्षा १, २ र ३ मा राखिएको थियो । तर, तीन वटै कक्षा एउटै शिक्षक (प्रधानाध्यापक पनि) रहेका पनेरुले सम्हाल्नु पर्ने बाध्यता थियो ।
सीमित साधनस्रोतका बीच पनि प्रमुख सरोकारवालाहरुले शिक्षाप्रतिको प्रतिवद्धता कमजोर हुन दिएनन् । स्थानीय समुदायको सक्रियता र निरन्तर प्रयासका कारण विद्यालय अघि बढ्यो । ब्यवस्थापन समितिको नेतृत्व गरेका चन्द्रभान कडायतको अगुवाईमा कुनै कमि भएन ।
समयको गतिसँगै अत्तरिया बजार विस्तार हुँदै गयो । जनसंख्या बढ्दै जाँदा शिक्षाप्रतिको चेतना पनि क्रमशः गहिरिदै गयो । त्यही परिवर्तनसँगै दुर्गालक्ष्मीले पनि आफ्नो स्वरुप र स्तर विस्तार गर्दै लग्यो । कक्षा थपिए, भवन बने, शिक्षक संख्या बढ्यो र विद्यालयले आफ्नो शैक्षिक हैसियत पनि उठाउँदै गयो ।
०४९ सालमा कक्षा ६ सञ्चालन सुरु भएको यस विद्यालयमा ०५० सालमा कक्षा ९ सम्म विस्तार गरिएको थियो । ०५२ सालमा एसएलसी पहिलो ब्याज सञ्चालन हुँदा सहभागी परीक्षार्थीमध्ये ४६.६ प्रतिशत उतीर्ण भएका विद्यालयको अभिलेखमा उल्लेख छ ।
०६१ सालमा विद्यालयलाई ‘प्लस टु’ मा स्तरोन्नति गरिएको यस विद्यालयमा हालसम्म १९ वटा विद्यालय व्यवस्थापन समिति र १७ जना प्रधानाध्यापक फेरिदा आज अत्तरिया बजारसंग जोडिएको आधुनिक संरचनामा उभिएको त्यही दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय सुदूरपश्चिमकै मात्र होइन, देशकै शैक्षिक नक्सामा चिनिएको नाम बनेको छ । यहाँ अध्ययनरत विद्यार्थी संख्या सुदूरपश्चिममै धेरै विद्यार्थी संख्या भएका विद्यालयमध्ये पर्छ ।
पाँच दशको यात्रा पार गर्दै गर्दा दुर्गालक्ष्मी हजारौं विद्यार्थीको भरोसा र अभिभावकको आशामा परिणत भएको छ । दुर्गालक्ष्मीलाई शैक्षिक रुपान्तरण, समुदायको साझा प्रयास र सुदूरपश्चिमको बदलिदो अनुहारको सशक्त चित्र भन्दा अतियूक्ति हुँदैन ।
विद्यालयको प्रवेशद्धारको अघिल्तिर ठूलो अक्षरमा एउटा सन्देश लेखिएको छ –अभिभावकज्यु, हामीहरुले यी दुई काम गरे पुग्छ, तपाई यसो गर्नुस्– तपाई घरमा पढ्ने वातावरण बनाउनुस्, तपाई घरमा संस्कार दिनुस् । हामी यसो गर्छौ, हामी विद्यालय बनाउछौं, हामी विद्यालयमा सिकाउँछौं ।
‘प्रयास गर्ने हो, म कसो नबनुला र ?’, विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्न केही उदाहरणहरु पनि प्रवेशद्धारमै लेखिएको छ । तीस वर्षको उमेरमा क, ख पढेका काले राई स्वामी प्रपन्नाचार्य बने, खुट्टाले लेखेर झमक कुमारी घिमिरेले मदन पुरस्कार जितिन्, सात पटक एसएलसी फेल रबिन्द्रनाथ टैगोर विश्व कवि बने, मन्दबुद्धिका अल्वर्ट आइन्स्टाइन विश्वविख्यात बैज्ञानिक बने, साग बेच्दै हिड्ने थोमस एडिसन विख्यात बैज्ञानिक बने आदी थुप्रै उदाहरणहरु लेखिएका छन् त्यहाँ । विद्यालय प्रवेश गर्नु अघि नै त्यो पढ्दा भाव नै बेग्लै बनेर आउँछ ।
यस विद्यालयमा हाल विद्यार्थी संख्या २ हजार ८ सय ५२ रहेको छ । जसमध्ये छात्रा एक हजार ३८८ छन् भने छात्र एक हजार ४६४ छन् । आधारभूत तहमा ३ सय ४३ विद्यार्थी रहेकोमा छात्रा एक सय ७४ छन् भने छात्र एक सय ६९ छन् । यस्तै, कक्षा ६–८ तहको विद्यार्थी संख्या सात सय ६६ रहेकोमा छात्रा तीन सय ६७ छ भने छात्रको संख्या तीन सय ९९ छ । यस्तै, कक्षा ९–१० मा विद्यार्थी संख्या ७ सय ३४ रहेकोमा छात्रा संख्या तीन सय ३४ छ भने छात्रा संख्या चार सय छ । यस्तै ११–१२ मा अध्ययनरत विद्यार्थीको संख्या एक हजार ९ जना छ । जसमध्ये पाँच सय १३ छात्रा र चार सय ९६ छात्र छन् । विद्यालयमा दलितको संख्या तीन सय १० जना छन् भने जनजाति समूदायका विद्यार्थीहरुको संख्या दुई सय १४ रहेको छ ।
विद्यालयको नतिजा पनि तुलनात्मक रुपमा संतोषजनक रहेको शिक्षकहरु बताउँछन् । गत शैक्षिक सत्रमा कक्षा ५ को नगरस्तरीय परीक्षामा यस विद्यालयले ९४ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । यस्तै, कक्षा आठमा ७१.३८ प्रतिशत उतीर्ण हुँदा एसईईमा ५५.८१ प्रतिशत उतीर्ण भएका विद्यालयले जनाएको छ । यस्तै कक्षा १२ मा उतीर्ण भएकाको प्रतिशत ३९.९५ रहेको विद्यालयको अभिलेख छ ।
विद्यालय प्रशासन प्रमुख रतन कार्कीका अनुसार कूल ७२ जना शिक्षक र १५ जना कर्मचारी कार्यरत छन् । ७२ जना शिक्षकमध्ये ११ जना मात्रै स्थायी दरबन्दीका शिक्षक छन् भने अरु सबै अस्थायी प्रकृतिका शिक्षकहरु छन् । जस अन्तर्गत राहत, करार, अनुदान र निजी स्रोतका शिक्षकहरु हुन् । यस्तै १५ जना विद्यालय कर्मचारीमा २ जना मात्रै सरकारी सुविधा पाउने कर्मचारी हुन् भने अरु सबै विद्यालयले आप्mनै स्रोतबाट ब्यहोरेको छ ।
हाल प्लस टुमा कानून, ब्यवस्थापन, मानविकी, शिक्षा, विज्ञान, कम्प्युटर, इन्जिनियरिङ, विधामा अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुमा अत्तरिया क्ष्ँेत्रबाट मात्र सीमित छैनन् । सुदूरपश्चिमका नौ वटै जिल्लाबाट यस विद्यालयमा विद्यार्थीहरु अध्ययनरत छन् ।
कक्षा १२ विज्ञान संकायमा क सेक्सनमा अध्ययनरत ४६ जना विद्यार्थीमध्ये १२ जना कैलाली बाहेक जिल्लाका विद्यार्थीहरु छन् । अध्ययनकै लागि विभिन्न जिल्लाबाट आएका उनीहरु डेरा गरि बस्दछन् । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु पनि संख्यामा छ । ‘पढाइकै लागि आएको हुँ,’ कक्षा १२ मा अध्ययनरत बैतडीका लक्ष्मणसिंह धामीले भने ‘यतै डेरा गरि बसेको छु ।’ बझाङको बुंगल नगरपालिका घर भई डेरा गरि बस्दै आएका योगेन्द्र बोहराले विद्यालयको पढाई राम्रो रहेको बताए ।
मुख्य आकर्षण विज्ञान र इन्जिनियरिङ
विद्यालयले प्राविधिक धारतर्फ कक्षा ९–१२कम्प्युटर इन्जिनियरिङ र कक्षा १–१२ विज्ञान प्रवद्र्धन कार्यक्रम कार्यक्रमलाई प्राथमिकताको केन्द्र भागमा राखेर कार्य गर्दै आएको छ । ‘आधारभूत तहदेखि नै विज्ञान र गणित विषयलाई फोकस गरिरहेका छौं भने प्लस टु तर्फ इन्जिनियरिङ र विज्ञानलाई अझ बढि प्राथमिकता दिइरहेका छौं,’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराइले भने ।
यसबीचमा विद्यालयले शिक्षा पुरस्कार, एसएलसीमा प्रथम स्थान प्राप्त गर्दाको पुरस्कार तथा सम्मान प्राप्त गरेको विद्यालयले जनाएको छ । पछिल्ला शैक्षिक सत्रहरुमा यहाँ अध्ययन गरेका विद्यार्थीहरुले चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न संकायमा छात्रवृत्तिका कोटामा नाम निकाल्न सकेकाले पनि विद्यालयको महिमा बढाएको विद्यालयको बुझाई छ । ‘यसै वर्ष यही विद्यालयमा अध्ययन गरेका दुई जना विद्यार्थीले पूर्ण छात्रवृत्तितर्फ एमबीबीएसमा नाम निकाल्न सफल भएका छन्,’ विद्यालयका प्रधानाध्यापक बिरबहादुर महरा भन्छन् ‘गत वर्ष पनि एक जना दलित विद्यार्थीले प्रदेश सरकारको पूर्ण छात्रवृत्ति कोटामा एमबीबीएसमा नाम निकालन सफल भएका थिए ।’ ०८० मा यसै विद्यालयकी छात्राले ४ जीपीए ल्याएकी थिइन् ।
यसबाहेक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार दुई वर्ष उत्कृष्ट स्थान हासिल गरेको विद्यालयले जनाएको छ । विद्यालय अभिभावक संघका अध्यक्ष सुरतबहादुर बिष्टका विचारमा विद्यालयमा कक्षा कोठा सफा, विद्यार्थीको नियमितता, प्रतिवद्ध शिक्षक तथा नियमित अध्यापन सकारात्मक पक्ष हुन् । ‘अहिलेको नतिजा थप सुधारका लागि साझा प्रयास गरिरहेका छौं सुधार हुँदैजाने विश्वास छ,’ बिष्टले भने ‘नतिजामा थप सुधार ल्याएर उत्कृष्टता हासिल गर्नका लागि विद्यालय सम्वद्ध सम्पूर्ण समिति संरचना सक्रिय भएर लागि परेका छौं । विद्यालयप्रति अभिभावक तथा समूदायको अपनत्व छ ।’
सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख जयदेव महराका अनुसार दुर्गालक्ष्मी सुदूरपश्चिमका सामूदायिक विद्यालयहरुमा राम्रो विद्यालयका रुपमा पहिचान बनाएको विद्यालय भएको बताउ“छन् । ‘संघीय सरकारको नमूना विद्यालय, प्राविधिक धारको विद्यालय हो,’ महराले भने ‘विद्यार्थी संख्या बढि भएको विद्यालयमध्ये दुर्गालक्ष्मी एक हो ।’ सुदूरपश्चिममा दार्चुलाको महेन्द्र मावि, कैलालीको कर्णाली मावि टीकापुर, धनगढीको त्रिनगर मावि, कञ्चनपुरको महेन्द्रनगर मावि (साधारण स्कूल), डोटीमा पद्म पब्लिक मुक्तिनाराण, अछामममा षोडषा मावि, बाजुरामा मालिका मावि, बझाङमा सत्यवादी मावि, डडेल्धुराको महेन्द्र मावि अमरगढी र बैतडीमा शाहीलेक माविलाई राम्रो स्तर सामूदायिक विद्यालयका रुपमा लिन सकिने अवस्था छ ।
‘राम्रो गरिरहेका सबै जिल्लामा यी बाहेक अन्य विद्यालयहरु पनि छन्,’ महराले भने ‘प्रदेश समाजिक विकास मन्त्रालयले हरेक प्रदेश निर्वाचन क्षेत्रमा एउटा गरि कूल ३२ वटा विद्यालय छनोट गरेर नमूना कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ छनोटमा परेका विद्यालयले प्रदेश सरकारबाट भौतिक तथा शैक्ष्ँिक विकासका योजना निर्माण गराइएको र पाँच वर्षमा पाँच करोड अनुदान उपलब्ध गराउने योजना रहेको महराले बताए ।
विद्यालयको आर्थिक स्रोत
०७४ देखि ०७९ सम्मको पाँच वर्ष अवधिमा संघ सरकारबाट दुर्गालक्ष्मी नमूना विद्यालय छनोट भएको थियो हो । त्यसवाफत वार्षिक डेढ करोड प्राप्त हुँदा विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको विद्यालयको भनाई छ । त्यस लगत्तै ०८०–८१ देखि पाँच वर्ष अवधिका लागि विज्ञान प्रवद्र्धन कार्यक्रममा यो विद्यालय छनोट भयो । जस शैक्षिक गुणस्त बृद्धिका विभिन्न कार्यक्रमहरु सञ्चालनलगायत कार्यहरु गर्न वार्षिक ६० लाख विद्यालयले प्राप्त गर्दै आएको विद्यालयका प्रशासन प्रमुख रतन कार्की बताउँछन् ।
यस विद्यालयले पाउने अन्य आर्थिक अनुदान पनि छन् । दुई हजार भन्दा बढि विद्यार्थी भएको विद्यालयलाई शिक्षा विभागले भवन दिने गरेको छ । त्यसमा पनि यो विद्यालय छनोट भएको छ । शैक्षिक सामग्री खरिदका लागि प्रदेशको सामाजिक विकास कार्यालयबाट रकम प्राप्त हुने गरेको विद्यालयले जनाएको छ ।
त्यसबाहेक विद्यालयले आम्दानीको स्रोतका लागि अत्तरिया बसपार्क अगाडि २८ वटा सटर भएको सपिङ कम्प्लेक्स निर्माण गरेर भाडामा लगाएको छ । त्यसवाफत वार्षिक न्यूनतम ३० लाख आम्दानी हुने गरेको विब्यवस अध्यक्ष हरि भट्टराईले बताए ।
त्यसका अतिरिक्त कक्षा आठसम्म कुनै विद्यार्थी अभिभावकबाट कुनै पनि शुल्क वा सहयोग गर्ने तर ९–१२ मा भर्नाका बेला अभिभावकबाट सहयोगस्वरुप शुल्क लिने गरेको विद्यालयले स्वीकार गरेको छ । विद्यालय प्रशासनका अनुसार कक्षा ९ मा भर्नाका बेला वार्षिक तीन हजार, १० कक्षामा चार हजार, ११ मा पाँच हजार चार सय र १२ कक्षामा वार्षिक ६ हजार सहयोग स्वरुप वार्षिक एकमुष्ट शुल्क लिने गरिएको छ ।
उल्लेख्य संख्यामा अक्षय कोष
विद्यालयमा कूल १७ लाख ७७ हजार ५५५ बराबर रकम भएका ११ वटा अक्षय कोषहरु स्थापना गरिएका छन् । स्व. सन्तोष स्मृति अक्षय कोष, स्व. हरिदत्त पनेरु एवं कोशिल्या पन्त पनेरु, स्व. खगेन्द्र ओझा स्मृति अक्षय कोष, स्व. शंकर खड्का स्मृति अक्षय कोष, स्व. सरस्वती बोगटी स्मृति अक्षय कोष, स्व. सुशील ओझा स्मृति, स्व. बिस्नादेवी स्मृति, मनिराज,लक्ष्मी,भवानी, जमुना भट्ट अक्षय कोष, लक्ष्मीदेवी बोहरा अक्षय कोष,नित्यानन्द जोशीको आमाबुवाको सम्झना अक्षय कोष स्थापना गरिएका छन् । ती अक्षय कोषको ब्याज रकमबाट एसईईमा उत्कृष्ट हुने छात्र छात्रा, आन्तरिक परीक्षामा प्रथम हुने छात्रछात्रालगायतलाई पुरस्कार प्रदान गर्ने गरिएको कार्कीले बताए ।
गत वर्ष यस विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले नारदप्रसाद भट्टको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च र शिवराज जोशीको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च सल्लाहकार समिति पनि गठन गरेका छन् । ‘दुर्गालक्ष्मीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको तथ्यांक संकलन गर्ने, आजीवन सदस्यता प्रदान गर्ने, विद्यालयका लागि आवश्यक सरसहयोग जुटाउने उद्देश्यले मञ्च गठन गरेका हौं,’ पूर्व विद्यार्थी मञ्चका अध्यक्ष नारदप्रशाद भट्ट भन्छन् ‘गत वर्ष विद्यालयमा म्याराथुन प्रतियोगिता पनि ग¥र्यौ । मञ्चमा जोडिने क्रम बढिरहेको छ । हालसम्म सामाजिक सञ्जालमार्फत अढाई सय बढि सम्पर्कमा आएका छन् ।’ मञ्चलाई बैधानिकता दिन दर्तालगायतका प्रकृया पुरा गरिसकेको उनले बताए ।
आगामी योजना
माथिल्लो कक्षामा राम्रो सुधार भएपनि आधारभूत तहमा बालबच्चालाई भर्ना गर्ने अभिभावकको संख्या वर्षेनी घट्दै गएको छ । बोडिङ स्कूलमा भर्ना गर्ने लहरले सरकारीतर्फ आधारभूत तहमा भर्ना गर्नेहरुको संख्या घट्दै गएको विद्यालयको बुझाई छ । त्यसैले आधारभूत तहमा आकर्षण बढाउन भौतिक पूर्वाधार सुदृढ गर्ने, एसीसहितको कक्षा कोठा, मन्टेश्वरी माध्यमबाट अध्यापन गराउने, विद्यालय सेवा क्षेत्र रहेका वस्तीहरुमा विद्यालय बस सञ्चालन गर्ने, अग्रेजी माध्ययम बनाउने, सरसफाईमा उत्कृष्ठता प्रदान गर्ने योजना रहेको विब्यस अध्यक्ष हरि भट्टराई बताउँछन् ।
‘सेवा क्षेत्रको घरधुरी सर्भेक्षण गरेर अघि बढाउने समितिको योजना छ । काम नै सुरु गरिसक्यौं,’ उनले भने ‘बालविकासमा त संख्या बढेर यो वर्ष ५२ जना पुगेको छ । श्रीपञ्चमीको दिन अभिभावक भेला गरेर विशेष अभियान सञ्चालन गर्ने योजना बनाएका छौं ।’ आधारभूत तहमा त अर्को वर्ष विद्यार्थी संख्या दोब्बर बनाउने लक्ष्य रहेको उनले बताए ।
साथै, विद्यालयले सुदूरपश्चिमको सांस्कृतिक संग्राहलय निर्माणको तयारी पनि गरेको छ । ‘हाम्रा सांस्कृति सामग्रीहरु कतिपय लोप भइसके, कतिपय लोप हुने अवस्थामा छन् । नवपुस्तालाई हाम्रो संस्कृतिक र परम्पराबारे जानकारी हुन पर्दछ भन्ने हो,’ विब्यस अध्यक्ष भट्टराइले भने ।
प्रतिक्रिया