धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले सुदूरपश्चिममा निरीक्षण भ्रमण गरेका छन् । उनले कैलालीको धनगढीस्थित सुदूरपश्चिम पृतना निरीक्षण गरेका हुन् ।
सो क्रममा प्रधानसेनापति सिग्देलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका थिए ।
साथै प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पादन गर्न उनले निर्देशन पनि दिएका थिए । सो क्रममा प्रधानसेनापतिले प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरूसँग भेटघाट एवं अन्तरक्रियासमेत गरेका थिए ।
चुनावमा यसरी परिचालन हुँदैछ सेना
विगतका निर्वाचनमा पनि नेपाली सेना सुरक्षार्थ खटिने गरेको थियो । तर, तेस्रो घेरामा खटिने सेना मतदान केन्द्रमा प्रवेश गरेको उदाहरण विरलै पाइन्छ । २१ फागुनको निर्वाचनमा भने सुरक्षा प्रवन्धको नेतृत्व नै नेपाली सेनाले गर्दै छ । जसका कारण सेनाको अधिकार क्षेत्र पनि बढाइएको छ ।
बाहिरी सुरक्षा घेरामा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी टोली हरेक निर्वाचन क्षेत्रमा अस्थायी बेस खडा गरी बसिसकेका छन् । सेनालाई सोही बेसमार्फत लामो दूरी, मध्यम दूरी र छोटो दूरी गरी तीन भागमा पैदल गस्ती, स्ट्राइकिङ फोर्स, मोबाइल गस्तीलगायत भूमिकामा तैनाथ गरिएको छ । कतै निर्वाचनविरोधी गतिविधि भए २० देखि ३० मिनेटभित्र सेना आइपुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।
मतदान भइसकेपछि मतपेटिका मतगणनास्थल लग्ने जिम्मा पहिलोपटक सेनालाई दिइएको छ । मतदानपछि मतपेटिका लुटिने, तोडफोड हुनेजस्ता जोखिम रहेकाले उचित सुरक्षा प्रबन्धका लागि सेनालाई उक्त जिम्मेवारी दिइएको बताइएको छ । यस्तै, सेनाले मतदानस्थल र गणनाका बेला पनि बाहिरी सुरक्षा घेराको जिम्मा लिएको छ । आवश्यक परे चार वटै सुरक्षा निकायबाट खटिएका जनशक्तिको संयुक्त कमान्ड लिने अधिकारसमेत सेनाले पाएको छ ।
प्रतिक्रिया