धनगढी । कान्द्रा नदीको कटानले बस्ती जोखिममा पर्नुका साथै खेतबारी बगाएर लैजान थालेपछि कैलालीको भजनी नगरपालिका–४, झलझलियाका स्थानीयबासिन्दा श्रमदानबाट जैविक तटबन्ध निर्माणमा जुटेका छन् । स्थानीयले बाँस, डोरी, झारपात र बोराको प्रयोग गरेर जैविक तटबन्ध बनाइरहेका छन् ।
स्थानीयबा भरतप्रसाद चौलागाइले नदीले बस्तीनै बगाएर लैजाने अवस्था आएकाले आफूहरु जैविक तटबन्ध निर्माणमा जुटेको बताए । छ दिनअघि काम सुरु गरिएकोमा सोमबारसम्म करिब पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिसकिएको जानकारी उनले दिए ।
तटबन्ध निर्माण गरेर बस्ती जोगाइदिन स्थानीय र प्रदेश सरकारसँग गुहार गरे पनि सुनुवाइ नभएपछि आफै जैविक तटबन्ध निर्माण गरेर कटान नियन्त्रणको प्रयास थालिएको स्थानीयले बताएका छन् । गाउँका भल्मन्सासमेत रहेका चौलागाइका अनुसार गाउँमा रहेका करिब चार सय घरधुरीले तटबन्ध निर्माणको श्रमदानमा भाग लिइरहेका छन् ।
‘कटानले गाउँमा धेरैका खेत बगिसके । तटबन्धन बनाएन भने एक÷दुई वर्षमै बस्तीसमेत नदीले लैजाने अवस्था छ,’ उनले भने, ‘तटबन्ध बनाइ दिन यहाँका जनप्रतिनिधि, स्थानीय र प्रदेश सरकारलाई गुहा¥यौँ । कसैले पनि सुनुवाइ नगरेपछि नदी नियन्त्रणको प्रयासमा आफै जुटेका हौँ ।’
स्थानीयले बाँसको बार बनाएर त्यसको छेउतिर झार राख्ने तथा बोरामा बालुवा भनेर जैविक तटबन्ध बनाइरहेका छन् । बास किन्न, बोरा ढुवानी गर्न तथा श्रमदानका बेला खाजा र पानीको व्यवस्थापनका लागि टोल विकास समिति परिचालन गरेर प्रतिघर एक सय रुपैयाँ उठाइएको छ । आर्थिक संकलन र श्रमदानका लागि जनपरिचालनमा गाउँमा रहेका पाँचवटा टोल विकास संस्थाले काम गरिरहेका छन् ।
स्थानीय कालिका टोल विकास संस्थाका अध्यक्ष निर्मलादेवी देउवाले बिहान सात बजेदेखि १०–११ बजेसम्म र दिउँसो डेढ÷दुई बजेदेखि बेलुकीसम्म श्रमदान सञ्चालन भइरहेको बताइन् । ‘गाउँका सबैजसो घरबाट एक÷एक जना काम गर्न आइरहेका छन्’ उनले भनिन् । बर्खायाममा बर्षेनि तीव्ररुपमा भइरहेको नदी कटानले घरै नरहला भन्ने चिन्ता देउवाले जनाइन् ।
अर्का स्थानीय टेकबहादुर रावलले केही वर्षयता कटान तीव्र भएर कान्द्रा नदी बस्ती नजिकै पुग्न थालेको बताए । कटान नियन्त्रण नगर्ने हो भने अबको दुई÷तीन वर्षमा बस्तीनै नरहने चिन्तामा आफूहरु रहेको उनले बताए । ‘कटान केही रोकिएला भनेर जैविक तटबन्ध बनाउन लागेका हौँ’ रावलले भने, ‘ठूलो बाढी आए त यसले थेग्दैन ।’
नदी खेत कटान गरेर बस्तीतिर आउन थालेको स्थानीयले बताएका छन् । कटान र बाढीको डरले कतिपय स्थानीयले धान रोप्न छोडेर खेत बाँझै छोडेका छन् । गाउँका कतिपय घरबाट नदी डेढ सय मिटर नजिक पुगेको वडाध्यक्ष जन्ताराम चौधरीले बताए । चौधरीका अनुसार सहकर्मी समाज नामक स्थानीय संस्थाको अग्रसरतामा स्थानीयबासिन्दा श्रमदानमा जुटेका हुन् ।
श्रमदानमा समेत खटिदै आएका उनले कटान भइरहेको क्षेत्र धेरै लामो भए पनि बढी कटान भएको ठाउँमा अहिले जैविक तटबन्ध बनाइरहेको बताए । ‘बस्ती जोखिममा परेको छ, पक्की तटबन्ध बनाइ दिनु प¥यो भनेर प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीलाई भेटेरै ज्ञापनपत्र बुझाएका थियौँ’ चौधरीले भने, ‘कान्द्रा नदी तटबन्ध भनेर केही बजेट त परेको रहेछ तर यो ठाउँका लागि भनेर तोकेर आएन ।’
स्थानीयका अनुसार २०६५ सालमा आएको ठूलो बाढीका बेला गाउँमा ३५ घर नदी कटानमा बगेका थिए भने एक जनाको मृत्यु भएको थियो । समयमै तटबन्ध निर्माण नगरे ठूलो विपद आउने वडाध्यक्ष चौधरीले बताए ।
जैविक तटबन्ध निर्माणमा स्थानीयलाई सघाउन भजनी नगरपालिकाले दुईवटा टीप्पर र जेसिबी खटाएको जनाएको छ । बालुवा बोक्ने तथा नदीको बाढी गाउँ पस्न नदिन ‘चेक ड्याम’ बनाउने काम डोजरले गरिरहेको वडाध्यक्ष चौधरीले बताए ।
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले अस्थायी तटबन्ध बनाउन आवश्यक बोरा निशुल्क उपलब्ध गराउनका लागि पनि नगरपालिकाले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीसँग समन्वय गरिदिएको बताए । नगरपालिकाको बजेटले पक्की तटबन्ध निर्माण संभव नभएको उनको भनाइ छ ।
‘नगरपालिकाभित्र कयौँ बस्ती कटानको जोखिममा छन् । हाम्रो स्रोतले तटबन्ध बनाउन भ्याउँदैन’ नगर प्रमुख चौधरीले भने, ‘बढी जोखिम भएका बस्तीमा तटबन्ध बनाइ दिन संघ र प्रदेश सरकारसँग पहल गर्दै आएका छौँ ।’ संघ, प्रदेश सरकार र रानीजमरा कुलरिया सिँचाइ आयोजनाले नगरपालिकाभित्र केही ठाउँमा तटबन्ध पनि बनाएका उनले बताए ।
नगर प्रमुख चौधरीले तटबन्ध बनाउन संघ र प्रदेशबाट चालु वर्षका लागि तीन करोड बजेट आएको जानकारी दिए । ‘ठाउँ तोकिएको छैन तर कान्द्रामा तटबन्ध बनाउन भनेर बजेट आएको छ’ उनले भने, ‘नगरपालिकाभित्र धेरै बस्तीहरु नदी कटानको जोखिममा छन् । यो बजेटले जहाँ बढी समस्या छ, त्यहाँ तटबन्ध बनाउँछौँ ।’
भजनी जिल्लाभरिमै बर्खायाममा कटान, डुवान र बाढीजस्ता विपद्बाट सबैभन्दा बढी प्रभावित हुने पालिका हो । यहाँका कान्द्रा, मोहना, पथरैया र काँडा नदीमा आउने बर्खामा आउने बाढीले कटानसँगै बर्षेनि दर्जनौँ बस्ती डुवानमा पर्ने गर्छन् । नगर प्रमुख चौधरीका अनुसार वडा नम्बर १, २, ३, ४, ५, ७, ९ का धेरैजसो बस्तीहरु कटान, डुवान र बाढीको जोमिमा छन् ।
प्रतिक्रिया