ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा सुरक्षा समितिको बैठक, निर्वाचनका लागि एकीकृत सुरक्षा रणनीति तयार गरिने

आइतबार ०२, कार्तिक २०८२ ०५:२६

धनगढी । फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा एकीकृत सुरक्षा रणनीति तयार गरिने भएको छ । आइतबार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको विशेष उपस्थिति र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले निर्वाचनका लागि एकीकृत सुरक्षा रणनीति तयार गरी आम नागरिकमा सुरक्षाको प्रत्याभुति हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्तै सुदूरपश्चिमवाट भारत जाने मुख्य नाकाहरुमा दिपावली र छठका समयमा हुनसक्ने लुटपाटका घटनाहरु तथा भारत जाने र आउने नागरिकहरुको आवागमनलाई सहज बनाउन एवं नाकामा हुने अन्य अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले एकीकृत जाँचको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

लागुऔषध बिक्री एवं ओसारप्रसारका गतिविधिहरुलाई नियन्त्रण र नियमन गर्न सरोकारवाला निकायहरूले संयुक्त रणनीति तयार गरी त्यसको कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने, दिपावली र छठपर्वको समयमा बजारमा हुन सक्ने अस्वभाविक गतिविधिहरु नियमन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिने, सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र जनआकांक्षा अनुरूप बनाउनका साथै सुशासन कायम गर्नका लागि सबै सार्वजनिक निकायहरूले सेवाको सरलीकरण र सबलीकरण एवं संस्थागत सुदृढीकरण गर्न निर्देशन दिने निर्णय भएको छ ।

बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर राना, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय डिआईजी प्रदीपकुमार पाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया