धनगढी । अघिल्लो शुक्रबार राति कैलालीको घोडाघोडी नगरपालिका– ८ जरैका २८ वर्षीय युवक केशरबहादु्र बुढाको वीभत्स हत्यो भयो । १९ वर्षीय बलबहादुर विक र १९ वर्षकै गंगा बुढा क्षेत्रीले बुढाको घाँटी रेटेर हत्या गरी प्रहरी चौकीमा टाउको लगेर गएका थिए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार गाउँकै खाजा पसलमा शुक्रबार राति सोही वडाका विक र क्षेत्री मदिरा सेवन गरिरहेका थिए । ‘सोही पसलमा सुर्खेतको चौकुने गाउँपालिका– ३ मोरीवन घर भई हाल घोडाघोडी– ८ मै बस्दै आएका २८ वर्षीय बुढा पनि मदिरा सेवनका लागि आए,’ डीएसपी अवस्थीले भने, ‘विक र क्षेत्रीबीच चिनजान थियो भने उनीहरू बुढासँग परिचित थिएनन् । मदिरा सेवनकै क्रममा केही बोलचान भएको भने खुल्न आएको छ ।’
मदिरा सेवनकै क्रममा रातिको १० बजिसकेको थियो । ‘पसलेले रातिको १० बजिसकेको र आफू पसल बन्द गर्ने भनेपछि विक, क्षेत्री र बुढा पसलबाट निस्केका रहेछन्,’ डीएसपी अवस्थीले भने, ‘पसल बन्द गरेपछि विक, क्षेत्री र बुढाबीच वादविवाद भएको रहेछ । हत्या आरोपी विक र क्षेत्रीले बुढाले धेरै मदिरा सेवन गरिसकेको भन्दै घर पुगाइदिने बताएका रहेछन् । सोही क्रममा बुढाले गालीगलौज गरेको बयान आरोपीहरुले प्रहरीसमक्ष दिएका छन् ।’
प्रहरीका अनुसार गालीगलौज गरेको भन्दै बुढालाई सुरुमा विक र क्षेत्रीले नालीमा फालेका थिए । ‘सोही क्रममा विवाद बढ्दै गएपछि हतियार ल्याएर बुढाको घाँटी छिनालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी अवस्थीले भने, ‘हत्यापछि टाउको लगेर आरोपितहरू घटनास्थलनजिकै रहेको विकको दिदीको घरमा पुगेका थिए । दिदीले घरमा बस्न नदिएपछि गस्तीमा गएको प्रहरी टोलीले ११ बजे राति उनीहरूलाई भेटेको हो ।’
प्रहरीले सोधपुछ गरेपछि विक र क्षेत्रीले आफूहरू हत्या गरेर आएको बताउँदै छिनालिएको टाउको देखाएका थिए । डीएसपी अवस्थीका अनुसार आरोपित विक यसअघि पनि अपराधमा संलग्न व्यक्ति रहेको खुलेको छ । भारतको महाराष्ट्रमा एक व्यक्तिमाथि खुकरी प्रहार गरेपछि विकलाई दुई वर्ष जेल सजाय भएको थियो । उनी केही महिनाअघि मात्रै भारतबाट नेपाल आएका थिए ।
000
२६ गते मध्यराति कैलालीको गोदावरी नगरपालिकास्थित शुभम होटलमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका युवक गौरव ऐरमाथि आक्रमण भयो । धारिलो हतियार प्रहारबाट ऐरको हातको औँला काटिएको छ भने टाउको र घाँटीमा चोट लागेको छ । उनको अहिले भारतको रुद्रपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
चक्कु प्रहार गरेको आरोपमा कोब्रा सरकार नामको समूह चलाइरहेका १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– २ का २९ वर्षीय सन्नी भन्ने भीम नेपाली, १८ वर्षीय अनुपम सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ का २३ वर्षीय किरण महरा, धनगढी– २ बस्ने १८ वर्षीय मुस्कान सिंह र २० वर्षीय बबिन सिंह रहेका छन् ।
यस्तै, कृष्णपुर नगरपालिका– ९ बस्ने २६ वर्षीय गोविन्द बलायर, धनगढी– २ का २६ वर्षीय गोपाल भट्ट, धनगढी– ३ का १८ वर्षीय विशाल बोहरा, धनगढी– २ का १८ वर्षीय प्रिन्स सिंह, कञ्चनपुरको पुर्नवास– १० का ३२ वर्षीय दिनेश विक र ३२ वर्षीय अनिल विक रहेका छन् । उनीहरूलाई धनगढी उपमहानगरपालिका– ३ नेपाल–भारतको सीमा नाका रहेको त्रिनगर भन्सारबाट पक्राउ गरिएको डीएसपी सिंहले बताए । यस्तै घटनामै संलग्न भएको आरोपमा धनगढीकै तेजु रोकाया पनि पक्राउ परेका छन् ।
000
गोदावरी नगरपालिका–१०, खमैरामा भएको अर्को घटनाले नागरिक आफ्नै घरमा समेत सुरक्षित नरहेको देखाएको छ । असोज २३ गते मध्यरातमा छिमेकी लोकेन्द्र मल्ल र उनका भाइ विकास मल्लले घरको ढोका तोड्दै मार्ने धम्की दिएपछि ज्यान जोगाउन भागेका शेरबहादुर चौधरी भोलिपल्ट नजिकैको खोलामा मृत फेला परेका हुन् ।
यो घटना व्यक्तिगत रिसइबीको परिणाम भए पनि मध्यरातमा घरमा पसेर आक्रमण गर्ने प्रवृत्तिले स्थानीयमा त्रास फैलाएको छ ।
‘शृंखलाबद्ध रुपमा भइरहेका अपराधिक घटनाले अहिले जिल्लावासी त्रासमा छन् । ‘हत्या र आक्रमण जस्ता घटना रोकिन नथालेपछि आपराधिक समूहहरूको मनोबल पनि बढेको देखिन्छ,’ गोदावरीका स्थानीय टेकराज जोशीले भने । कैलालीमा छरिएका अपराधमात्र होइन, संगठित गिरोहकै आतङ्क बढेको छ । प्रहरीले भने हाल जिल्लामा सुरक्षा निगरानी कडा पारेको दाबी गरेको छ । डीएसपी सिंहका अनुसार जिल्लामा भएका अपराधका घटनामा मदिरा र लागुऔषध सेवन प्रमुख कारणका रूपमा देखिएको छ ।
भदौमा भएको आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका अढाई सय बढी कैदीबन्दी अझै फरार छन् । फरार कैदीबन्दीले पनि सुरक्षा चुनौती बढाइदिएको छ ।
प्रतिक्रिया