धनगढी । कञ्चनपुरमा एक प्रहरीमाथि कुटपिट भएको छ । ब्रम्हदेब प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्रबहादुर चन्दमाथि कुटपिट भएको हो । बिहीबार साँझ भीमदत्त नगरपालिका– ९ ब्रम्हदेब महाकाली कोरिडोर मार्ग क्षेत्रमा सई चन्दमाथि कुटपिट भएको हो ।
निर्माणाधिन महाकाली कोरिडोर क्षेत्रबाट बोलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जोगबुढा गइरहेका यात्रु र चालकले सई चन्दमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यात्रु र चालकको कुटाइबाट घाइते भएका सई चन्द महाकाली अस्पतालमा उपचारपछि राति नै डिस्चार्ज भएका छन् ।
सई चन्दमाथि यसअघि पनि व्यवसायी तस्कर समूहबाट पैसा असुलेको आरोप लाग्दै आएको छ । ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रश्न गरेपछि उनीहरु आफुमाथि खनिएर कुटपिट गरेको बताए ।
सई चन्दमाथि कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, चालकलाई भने अहिलेसम्म नियन्त्रणमा लिएको छैन । तेज बहादुर बोहरा र भरत जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया