धनगढी । धनगढी–१, कैलाली पुलकी निधि बर्माले आज जेनजी मार्गमा लागेको शनीबारीय मेलामा आफैले उत्पादन गरेको सजावटका सामाग्री, झोला, पापड, अचार लगायतका विक्री गरिरहेकी थिइन् । आफूले उत्पादन गरेको सामाग्री विक्री गर्न पाएकोमा उनी निकै खुशी थिइन् ।
धनगढी–७, बुद्धचोककी बिनु चौधरीले पनि हरेक शनिबार आफ्नै हातले बुनेको ऊनको स्वीटर विक्री गर्न आउँछिन् । उनले मेलामा २÷३ वटा स्वीटर विक्री हुने गरेको बताइन् ।
धनगढी उपमहानगरपालिकाले हरेक शनिबार आयोजना गर्दै आएको शनिबारीय मेलामा महिलाहरुले धनगढीका महिला उद्यमीहरुले हस्तकलाबाट उत्पादित सामाग्री विक्रीमा सहयोगी बनेको छ । उनीहरुले घरमै बसेर उत्पादन गरेको सामाग्रीहरु उक्त मेलामा स्टल राखेर विक्री गर्ने गरेका छन् । मेलामा आफूहरुले उत्पादन गरेको सामाग्री विक्री हुँदा आफ्नो आयआर्जन बढेको महिलाहरु बताउँछन् ।
महिलाहरूलाई उद्यमी बनाएर आयआर्जनसँग जोड्ने उद्देश्य राखी धनगढी उपमहानगरपालिकाले २०८२ मंसिर ३ गतेदेखि शनिबारीय मेला आयोजना गर्न थालेको छ । धनगढीको पार्क मोडदेखि कभर्डहलसम्म जेनजी मार्गमा शनिबारीय मेलाका लागि उपमहमानगरपालिकाले स्टल बनाई महिलाहरुलाई निःशुल्क उपलब्ध गराउने गरेको छ । उपमहानगरका अनुसार ७८ वटा स्टल राखिदै आएको छ ।
उक्त शनिबारी मेलामा बालबालिकाको लागि खेल्ने रमाइलो मेलाका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत राखिदै आएको छ ।
प्रतिक्रिया