काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राजदूतावासले जारी गरेको सूचनाअनुसार हाल इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षा सम्बन्धी सबै निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । विशेषगरी इजरायली निकायहरू तथा होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा परामर्श र निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न दूतावासले आग्रह गरेको छ ।
दूतावासले सकेसम्म घरभित्रै बस्न, सधैं सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा आफू बसोबास गरिरहेको क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ। त्यस्तै, सम्बन्धित इजरायली निकायबाट पूर्वअनुमति नलिई अनावश्यक यात्रा नगर्न पनि नेपाली नागरिकलाई सचेत गराइएको छ ।
स्थानीय समाचार, आधिकारिक सूचना तथा आपतकालीन चेतावनीहरू निरन्तर रूपमा अनुगमन गर्न दूतावासले आग्रह गर्दै अद्यावधिक अवस्थाबारे जानकारी राख्न सुझाव दिएको छ। साथै, तेल अभिवस्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्क तथा समन्वय कायम राख्न पनि नागरिकलाई अनुरोध गरिएको छ।
दूतावासले नेपाली नागरिकलाई नजिकै तोकिएका सुरक्षित आश्रयस्थल (सेल्टर) वा सुरक्षित स्थानहरूको आसपासमै रहन विशेष आग्रह गरेको छ । आवश्यकताअनुसार राजदूतावासले नियमित रूपमा थप अद्यावधिक सूचना जारी गर्ने पनि जनाएको छ।
कुनै आपतकालीन अवस्था वा सहयोग आवश्यक परेमा नेपाली नागरिकले तेल अभिवस्थित नेपाली राजदूतावाससँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन् । राजदूतावासको आपतकालीन सम्पर्क नम्बर +972-545582077 रहेको छ भने [email protected] इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतिक्रिया