धनगढी । कैलालीको चौकीडाँडा–ओलानी–फल्टुँडे सडकको काम फेरि अलपत्र पारिएको छ । उक्त सडक पछिल्लो सम्झौता बमोजिम एड्भेन्चर, थेगिम, सनलाइट जेभी र तेडी निर्माण सेवा प्रालिले गत पुस मसान्तमै हस्तान्तरण गरिसक्नुपर्ने थियो । तर, फागुन आधा हुँदासम्म उक्त सडकको ठेक्का अलपत्र छ ।
प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा उक्त सडकमा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय कैलालीले लगाएको दुबै ठेक्कामा काम बन्द भएको छ । डेढ वर्षमै निर्माण सम्पन्न गर्ने सर्तमा थेगिमले पूर्वाधार विकास कार्यालय कैलालीबाट २०७७ साउन २४ गते सो सडकको चौकीडाँडाको कृष्णमन्दिरदेखि वडा नं. १० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको थियो । पछिल्लो समयमा बेससम्म हालेर काम थेगिमले बन्द गरेको छ ।
यसैगरी, पूर्वाधार विकास कार्यालयले सोही सडकमा थप तीन किलोमिटर (१० नम्बर वडा कार्यालयदेखि बांगेसालसम्म) सडक कालोपत्रे गर्नका लागि २०७९ चैत १७ गते अर्को ठेक्का अढाई वर्षमा सम्पन्न गर्ने गरी छ करोड ६१ लाख ४१ हजार २०६ रुपैयाँमा तेडीले लिएको थियो । तेडीले पछिल्लो समयमा १२ सय मिटर बेसको काम गरेको र १४ सय मिटर सब बेस गर्न बाँकी रहेको पूर्वाधार कार्यालयका इञ्जिनियर नरेशराम भूलले बताए ।
निर्माण कम्पनीहरुले ठेक्काको काम अलपत्र पारेपछि स्थानीय सरकारको नेतृत्वमा आन्दोलन गरेपछि २०८२ भदौ २३ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र आन्दोलनरत पक्षको रोहबरमा कार्यालय र निर्माण कम्पनीका सञ्चालकहरुबीच पुस मसान्तसम्म ठेक्का सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता बमोजिम समेत निर्माण कम्पनीहरुले काम नगरेका हुन् ।
थेगिमको ठेक्कामा बेस हालीसकेको हुँदा कालोपत्रे मात्रै गर्न बाँकी रहेको इञ्जिनियर भूलले बताए । अहिले चुनाव नजिकिएको हुँदा कर्मचारीहरु पनि निर्वाचनमा खटिनु पर्ने भएकोले काम गराउन नसकिएको बताउँदै उनले ठेकदारहरुलाई काम गर्न पत्रचार भइरहेको बताए । दिनहुँ काम गरेमा दुई महिनामा दुबै ठेक्का सम्पन्न हुने उनले बताए । ‘चैतदेखि हामी काम गराउँछौं,’ उनले भने, ‘बजेट पनि छ । अपुग रकम रकमान्तर गरेर भएपनि यस आर्थिक वर्षभित्रै काम गराउँछौं ।’
निर्माण व्यवसायी सुनिल थापाको नाममा रहेको थेगिम निर्माण सेवा प्रालिलाई हेभीइक्वीपमेन्ट कार्यालय गोदावरीका प्रमुख हरिहर पन्तले सञ्चालन गरिरहेका छन् । कैलालीमा थेगिमले लिएको थुप्रै ठेक्काहरु अलपत्र छ ।निर्माण व्यवसायी दिलबहादुर ओलीले सञ्चालन गरेको तेडी निर्माण सेवाले पनि कैलालीमा ५/६ वटा ठेक्का अलपत्र पारेको छ ।
सडकमै वडा कार्यालय सञ्चालन गरी गरिएको आन्दोलनका कारण प्रमुख जिल्ला अधिकारीको रोहबरमा गरिएको सम्झौतानुसार यि दुबै निर्माण कम्पनीले काम नगरेका हुन् । गोदावरी नगरपालिका वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरु पूर्वाधार विकास कार्यालयले सम्झौताको अवधि सकिएपनि काम नगराएको गुनासो गरेका छन् । वडा नं. १२ का वडाध्यक्ष भीमबहादुर खड्काले आन्दोलनपछि गरिएको सम्झौता अनुसार काम नभएको बताए । उनले आन्दोलनपछि निर्माण कम्पनीहरुले सामान्य बाटो सुधार गर्ने काम मात्रै गरेको बताए । ‘हामीले तेत्रो आन्दोलन गर्यौं, सम्झौता पनि भयो,’ उनले भने, ‘तर, काम भएन । अझै फेरि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’
तेडीले असोज ३० सम्म सबबेस, कात्तिक ३० सम्म बेस, मंसिर १५ सम्म पहिलो कोट र मंसिर ३० सम्म दोस्रो कोट गरी पुस ३० सम्म हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । तर, विभिन्न ठाउँमा ठेक्का अलपत्र पार्दै आएको उक्त निर्माण सेवाले सबबेसमाथि बेस नै हाल्न बाँकी छ ।
उक्त सम्झौतामा थेगिमले असोज ३० भित्र सबबेसको काम सक्ने, कात्तिक ३० भित्र बेसको काम सक्ने, मंसिर १५ भित्र पहिलो कोट कालोपत्रे हाल्ने, फागुन १५ भित्र दोस्रो लेयरको कालोपत्रे सक्ने र चैत ३० भित्र रोड फर्निचरको काम पनि सक्याएर हस्तान्तरण गर्ने उल्लेख छ । तर थेगिमले हालसम्म सात सय मिटर मात्रै पहिलो कोट गरेको ईञ्जिनियर भूलले बताए । उनले थेगिमको अढाई किलोमिटर ठेक्का मध्ये १८ सय मिटरमा पहिलो कोट नै गर्न बाँकी रहेको बताए । सम्झौतामा थेगिमको तर्फबाट अनिता पन्त र नारायण कडेलले हस्ताक्षर गरेका थिए ।
तेडीको तर्फबाट दिलबहादुर ओलीले हस्ताक्षर गरेका छन् । रोहबरमा पूर्वाधार विकास कार्यालयका ईञ्जिनियर जनक रोकाया, जितेन्द्रसिंह धामी, गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट तथा चार वटै वडाका वडाध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
चौकीडाँडादेखि बान्द्रे खालसम्मको सडकको लम्बाई १६ किलोमिटर छ भने यो सडकलाई फल्टुडेसम्म विस्तार गरी महाकाली हाइवेसंग जोड्ने योजना छ । प्रदेश सरकारले बांगेसालसम्मको सडक ठेक्का लगाए छ भने बांगेसालदेखि ओलानी, बान्द्रेखाल हुँदै कोलमुडासम्म सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का लगाएको छ । संघीय ठेक्काबाट भइरहेको कामबाट प्रगति भएपनि प्रदेशको ठेक्का अलपत्र परेको वडाध्यक्ष खड्काले बताए ।
उनले बांगेसालदेखि ओलानीसम्म कालो पत्रे भइसकेको बताउँदै छिट्टै कोल्मुडासम्म सडक कालोपत्रे हुने बताए । यो सडकको बान्द्रै खालबाट कोलमुडा हुँदै फल्टुडेसम्म ट्रयाक पहिले नै खोलिसकिएको छ । सो सडकका लागि पूर्वाधार विकास तथा यातायात मन्त्रालयले चालुवर्ष ११ करोड रुपैयाँ विनियोजन गरेपनि जेनजी आन्दोलनपछि बनेको सरकारले तत्कालका लागि सो बजेट कार्यान्वयन नगर्न परिपत्र गरी रोक्का गरेको छ ।
प्रतिक्रिया