ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा लगभग सकियो रोपाइँ, धान उत्पादन बढ्ने अनुमान

मङ्गलबार ३१, असार २०८२ ०८:४६

धनगढी । सुदूरपश्चिम प्रदेशमा यसवर्षको धान रोपाइँ सकिनै लागेको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर धान खेती हुने जमीनको ९३.१० प्रतिशत रोपाइँ भइसकेको छ ।

हरेक आइतबार रोपाइँको रिपोर्ट तयार गर्दै आएको निर्देशनालयले असार २९ गतेसम्म एक लाख ६३ हजार ९९३ हेक्टर जमीनमा रोपाइँ भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा तीन लाख ५९ हजार ९११ हेक्टर जमीनमा खेती हुँदै आएकोमा एक लाख ७६ हजार १५१ हेक्टर जमीनमा धान खेती हुन्छ । गतवर्ष असारको २९ गतेसम्म धान खेती हुने क्षेत्रको ९३.६७ प्रतिशत जमीनमा रोपाइँ भएको थियो ।

निर्देशनालयका अधिकृत केशवराज पाण्डेयले गतवर्ष र यसवर्षको रोपाइँको अनुपात समान रहेको बताए । गतवर्ष समेत पानी निरन्तर परेको हुँदा साउनको दोस्रो सातामा रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष पनि साउनको दोस्रो सातामा रोपाइँ सकिने अनुमान गरिएको उनले बताए ।

सबैभन्दा बढी जमीनमा खेती र धान खेती हुँदै आएको कैलालीमा ९८ प्रतिशत (६६ हजार ८७ हेक्टर) जमीनमा रोपाइँ भइसकेको छ । कैलालीमा ८५ हजार ८९९ हेक्टरमा खेती हुँदै आएकोमा ६७ हजार ४३६ हेक्टरमा धान खेती हुन्छ ।


दोस्रो ठूलो धानखेती हुने क्षेत्र रहेको कञ्चनपुरमा ९३ प्रतिशत (४५ हजार १०१ हेक्टर) जमीनमा रोपाइँ भइसकेको छ । कञ्चनपुरमा ५९ हजार ६०२ हेक्टरमा खेती हुँदै आएकोमा ४८ हजार ४९६ हेक्टरमा धान खेती हुन्छ । 

तेस्रो ठूलो धान खेती हुने क्षेत्र रहेको अछाममा ८३ प्रतिशत (१३ हजार ७७० हेक्टर) जमीनमा रोपाइँ भएको छ । ५६ हजार ३४७ हेक्टर खेती योग्य जमीन रहेको अछाममा १६ हजार ५९० हेक्टरमा धान खेती हुन्छ ।

यसैगरी, सबै भन्दा डोटी जिल्लामा ७५.०१ प्रतिशत (चार हजार १२५ हेक्टर) जमीनमा रोपाइँ भएको छ । डडेल्धुरामा ९५ प्रतिशत (पाँच हजार ८१४ हेक्टर), दार्चुलामा ९२ प्रतिशत (चार हजार १२५ हेक्टर), बझाङमा ९४ प्रतिशत (नौ हजार ६८२ हेक्टर), बैतडीमा ९४ प्रतिशत (आठ हजार ४६० हेक्टर) र बाजुरामा ८३.९९ प्रतिशत (छ हजार १३४ हेक्टर) जमीनमा रोपाइँ भएको छ ।

निर्देशनालयका अनुसार डडेल्धुरामा छ हजार १२०, दार्चुलामा चार हजार ४८०, डेटीमा छ हजार ८२०, बझाङमा १० हजार तीन सय, बैतडीमा नौ हजार र बाजुरामा सात हजार ३०३ हेक्टरमा बर्खे धान खेती हुँदै आइएको छ । यि जिल्लाहरुमा क्रमशः ११ हजार ६१६, २९ हजार ५४४, २२ हजार २७६, ३४ हजार ६०७, ३१ हजार ८८५ र २८ हजार १३५ हेक्टर जमीन खेती योग्य छ ।

गतवर्ष सुदूरपश्चिममा समयमा रोपाइँ सकिएको र वर्षात् समेत नियमित भएकोले उत्पादन वृद्धि भई एक लाख ५३ हजार चार सय हेक्टर जमीनमा भएको धान खेतीबाट छ लाख ४० हजार ९२० टन बर्खे धान उत्पादन भएको थियो भने अघिल्लो वर्ष एक लाख ५६ हजार २९० हेक्टरमा चैते र बर्खे धान गरी पाँच लाख ९९ हजार १२० टन धान उत्पादन भएको थियो । यसवर्ष समेत धान उत्पादन बढ्ने अनुमान गरिएको निर्देशनालयका अधिकृत पाण्डेयले बताए ।

 

प्रतिक्रिया