धनगढी । २४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर अझै फरार रहेका कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गर्दै उनीहरूको खोजी र नियन्त्रणका लागि देशभरका सबै सरकारी निकायरूलाई सक्रिय हुन निर्देशन जारी गरेको छ ।
आन्दोलनका क्रममा सुदूरपश्चिमका छ कारागार र एक बाल सुधारगृहबाट एक हजार चार सय ५८ बन्दी फरार भएका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सुदूरपश्चिम प्रदेशबाट भागेका एक हजार चार सय ५८ जना कैदीबन्दीमध्ये एक हजार २६ जना मात्रै कारागार फर्किएको जानकारी दिए । उनका अनुसार अझै चार सय ३२ जना कैदीबन्दी फरार छन् । फरारमध्ये १९ जना कैदीबन्दी भारतीय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि असोज १० गते गृह मन्त्रालयले सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र अन्य प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको थियो ।
अब जिल्ला प्रशासन कार्यालय र सोअन्तर्गत रहेका कार्यदलले आफ्नो जिल्लाभित्रका सार्वजनिक सेवा प्रवाह गर्ने सबै तहका निकाय तथा कार्यालयमा फरार कैदीबन्दीको विवरण पठाई उनीहरुलाई कुनै पनि सेवा प्राप्त गर्न आएको खण्डमा सोको सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालय, कार्यदल र सुरक्षा निकायमा खबर गरी पक्राउ गर्न सहयोग गर्ने व्यवस्था मिलाइनेछ ।
प्रतिक्रिया