धनगढी । जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुदूरपश्चिमका छ कारागार र एक बाल सुधारगृहबाट एक हजार चार सय ५८ बन्दी फरार भए । फरार कैदीबन्दीलाई पक्राउ गर्न प्रहरीले टोली परिचालन गर्यो भने आफै सम्पर्कमा आउन सार्वजनिक सूचना पनि जारी गरियो । तर, सुदूरपश्चिमका कारागारबाट भागेको एक महिनासम्म पनि साढे चार सय कैदीबन्दी भने फरार सूचीमै छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले चार सय ५३ जना कैदीबन्दी हालसम्म नफिर्कएका जानकारी दिएको छ । आन्दोलनका बेला कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ र बैतडी कारागार तथा बाल सुधारगृह डोटीबाट गरी एक हजार ४५८ जना बन्दी फरार भएका थिए ।
फरारपछि प्रहरीले नियन्त्रणमा लिएको र आफै सम्पर्कमा आएका कैदीबन्दीको संख्या एक हजार पाँच रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । गत २४ भदौमा आन्दोलनकारी कारागारहरु पुगेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए ।
कैलाली कारागारबाट प्रदेशभरमै सबैभन्दा बढी २३ महिलासहित दुई सय ९७ जना कैदीबन्दी फरार छन् । कैलाली कारागारबाट फरार भएका १९ जना भारतीय नागरिक पनि नफर्किएको कैलाली कारागार प्रमुख चिरञ्जिवी सापकोटाले बताए । आन्दोलनकारीले कैलाली कारागार नियन्त्रणमा लिएपछि त्यहाँ रहेका छ सय ६७ जना कैदीबन्दीमध्ये छ सय ६६ जना निस्किएका थिए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुर कारगारबाट एक सय १०, डडेल्धुरामा पाँच, दार्चुलामा सात, बझाङमा १२, बैतडीमा दुई जना कैदीबन्दी फरार छन् । त्यस्तै बालसुधार गृह डोटीबाट १५ जना फरार छन् । सरकारले फरार भएका कैदीबन्दीलाई पछिल्लो समय २० असोजसम्म कारागार फर्किसक्न भनेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर बिकले फरार कैदीबन्दी पक्राउ गर्नका लागि जिल्लाजिल्लामा टोली परिचालन गरिएको बताए । ‘कोही आफै सम्पर्कमा पनि आइरहेका छन् भने केहीलाई प्रहरी टोलीले पक्राउ गरेर ल्याइरहेको छ,’ डिआईजी बिकले भने ।
खुला सीमानाका कारण फरार भएका कतिपय कैदीबन्दी भारत गएको हुनसक्ने सुरक्षा अधिकारीहरुको आकलन छ । फरार भएका कैदीबन्दीबाट सुरक्षा चुनौती बढेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतमले फरार भएका कैदीबन्दीबाट हुनसक्ने आपराधिक घटना र सुरक्षा चुनौतीको आकलन गरेर सुरक्षा सतर्कता अपनाइएको बताए ।
फरार कैदीबन्दी पक्राउ गर्न जिल्लाबिच समन्वय गर्ने, नाकामा निगरानी गर्नेजस्ता काम भइरहेको उनले बताए । कतिपय ठाउँमा फरार कैदीबन्दी अपराधमा संलग्न देखिएपछि सुदूरपश्चिममा अहिलेसम्म फरार कैदीबन्दीबाट आपराधिक घटना भएको नपाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
‘फरार कैदीविरुद्ध कारबाहीको चरण सुरु भएको छैन, अहिलेसम्म कारागार फर्किन नै भनिएको छ,’ प्रहरी उपरीक्षक गौतमले भने, ‘अहिले फरार भए पनि कुनै न कुनै दिन कैद सजाय भुक्तान गर्नैपर्छ । सरकारले दिएको समयमा कारागार नफर्किए कैदीबन्दीले थप सजाय भोग्नुपर्ने हुन्छ ।’
प्रतिक्रिया