ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली घटना : अपरिचित व्यक्तिको छिनालियो घाँटी, यस्तो छ हत्याको टाइमलाइन

शनिबार २५, असोज २०८२ ११:१८

धनगढी । कैलालीको जरै गाउँ घोडाघोडी नगरपालिकाको अन्तिम बस्ती हो । वडा नम्बर ८ मा रहेको उक्त गाउँपछि मोहन्याल गाउँपालिकाको सीमाना सुरु हुन्छ । जरै गाउँमा बाक्लो बस्ती छैन, थोरै परिवारको मात्रै बसोबास छ । 

साेही गाउँमा शुक्रबार राति २८ वर्षीय युवक केशरबहादुर बुढाको बीभत्स हत्यो भयो । १९ वर्षीय बलबहादुर बिक र १९ वषकै गंगा बुढा क्षेत्रीले बुढाको घाँटी रेटेर हत्या गर्दै प्रहरी चौकीमा टाउको लगेर गएका थिए ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार गाउँकै खाजा पसलमा शुक्रबार राति सोही वडाका बिक र क्षेत्री मदिरा सेवन गरिरहेका थिए । ‘सोही पसलमा सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवन घर भई हाल घोडाघोडी– ८ मै बस्दै आएका २८ वर्षीय बुढा पनि मदिरा सेवनका लागि आए,’ डीएसपी अवस्थीले भने, ‘बिक र क्षेत्रीबीच चिनजान थियो भने उनीहरु बुढासंग परिचित थिएनन् । मदिरा सेवनकै क्रममा केही बोलचान भएको भने खुल्न आएको छ ।’

मदिरा सेवनकै क्रममा रातिको १० बजिसकेको थियो । ‘पसलेले रातिको १० बजिसकेको र आफू पसल बन्द गर्ने भनेपछि बिक, क्षेत्री र बुढा पसलबाट निस्केका रहेछन्,’ डीएसपी अवस्थीले भने, ‘पसल बन्द गरेपछि बिक, क्षेत्री र बुढाबीच वादविवाद भएको रहेछ । हत्या आरोपी बिक र क्षेत्रीले बुढाले धेरै मदिरा सेवन गरिसकेको भन्दै घर पुगाइदिने बताएका रहेछन् । सोही क्रममा बुढाले गालीगलौज गरेको बयान आरोपीहरुले प्रहरी समक्ष दिएका छन् ।’

प्रहरीका अनुसार गालीगलौज गरेको भन्दै बुढालाई सुरुमा बिक र क्षेत्रीले नालीमा फालेका थिए । ‘सोही क्रममा विवाद बढ्दै गएपछि हतियार ल्याएर बुढाको घाँटी छिनालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी अवस्थीले भने, ‘हत्यापछि टाउको लगेर आरोपितहरु घटनास्थल नजिकै रहेको बिकको दिदीको घरमा पुगेका थिए । दिदीले घरमा बस्न नदिएपछि गस्तीमा गएको प्रहरी टोलीले साढे ११ बजे राति उनीहरुलाई भेटेको हो ।’

प्रहरीले सोधपुछ गरेपछि बिक र क्षेत्रीले आफूहरु हत्या गरेर आएको बताउँदै छिनालिएको टाउको देखाएका थिए । डीएसपी अवस्थीका अनुसार आरोपित बिक यसअघि पनि अपराधमा संलग्न व्यक्ति रहेको खुलेको छ । भारतको महाराष्ट्रमा एक व्यक्तिमाथि खुकरी प्रहार गरेपछि बिकलाई दुई वर्ष जेल सजाय भएको थियो । उनी केही महिनाअघि मात्रै भारतबाट नेपाल आएका थिए । प्रहरीले घटनास्थल सील गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

प्रतिक्रिया