ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा सरकारी खर्चमा पालिका अध्यक्षको घरमा एसी, घर जलाइएपछि भयो खुलासा

शुक्रबार २४, असोज २०८२ १०:५२

धनगढी । कैलालीका एक गाउँपालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी जडान गरेको विषय बाहिरिएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नो निजी निवासमा तीन वटा एयर कन्डिसनर (एसी) लगाएको खुलेको हो । 

पालिका अध्यक्ष चौधरीले पहिले नै आफ्नो घरमा एसी जडान गरेको भए पनि अहिले आएर मात्रै उक्त विषय सार्वजनिक भएको हो । जेनजी आन्दोलनकारीले अध्यक्ष चौधरीको घरमा आगजनी गरेपछि तीन वटै एसी जलेर नष्ट भएपछि सो कुरा बाहिर आएको हो । 

गाउँपालिकाको कार्यालयले पालिकामा भएको क्षतिको विवरण तयार पार्दा अध्यक्ष चौधरीको घरमा रहेको एसीलाई पनि समेटेको छ । यस्तै,सरकारी खर्चमै चौधरीको निवासमा दुई थान ब्याट्री (भोल्टा दुई सय एएच), चार थान सिलिङ पंखा र इन्भर्टर (३२० भिए) एक थान लगाइएको थियो । यी सबै सामग्री जलेर नष्ट भएका छन् । 

अध्यक्ष चौधरीले कैलारी गाउँपालिका–४, भितरियास्थित घरमा पालिकाको खर्चमा एक टनका दुई थान र डेढ टनका एक थान गरी तीन वटा एसी लगाएका थिए । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले पालिका अध्यक्ष चौधरीको घरमा सरकारी खर्चमै एसी जडान गरेको विषय सत्य भएको बताए । ‘गाउँपालिकाले खरिद गरेर पदमा बस्दासम्मका लागि पालिका अध्यक्षलाई एसी दिएको हो,’ जोशीले भने ।

प्रतिक्रिया