धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति माग गर्दै तीन दिनदेखि शव बुझ्न मानेका छैनन् ।
मृतकका आफन्तले चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै छानबिन र क्षतिपूर्तिको माग गरेर शव बुझ्न नमान्दा तीन दिनदेखि शव उठ्न सकेको छैन। मृत्यु भएको तीन दिन बितिसक्दा पनि पीडित पक्ष र अस्पतालबिच सहमति नजुटेपछि मृतकको शव उठ्न सकेको छैन । गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षीया राधिका नेपालीले शल्यक्रियाबाट गत बुधबार साँझ ५ बजे शिशुको जन्म दिएपछि उपचारका क्रममा भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार अस्पताल प्रशासन र पीडित परिवारबिच पटक–पटक छलफल भए पनि निकास निस्किएको छैन। मृतकको शव अस्पतालकै शव गृहमा राखिएको छ।
सुत्केरी भए लगत्तै उनको स्वास्थ्यमा जटिलता देखिएको र सोही साँझ उनको मृत्यु भएको बताइएको छ। आमाको मृत्यु भए पनि नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।
प्रतिक्रिया