ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विवेक र जिम्मेवारी : स्थिर नेपालको आधार

बुधबार २६, कार्तिक २०८२ ११:२०

नेपालको इतिहास सामाजिक संघर्ष, सडक आन्दोलन, संवाद, सहकार्य र समन्वयबाट सधैं समृद्ध रहँदै आएको छ। हाम्रा विगतका आन्दोलनहरूले मात्र सत्ता परिवर्तन गरेनन्, तिनीहरूले नेपाली जनतालाई बोल्ने अधिकार, स्वतन्त्रता, समानता, स्वाभिमान, न्याय र विकासका मञ्चमा उभ्याए । हिजोका आन्दोलनहरूले नेपाली जनतालाई बहस, विचार–विमर्श र आफ्ना अधिकारको संरक्षणका लागि आवाज उठाउन सिकाए । आज हामीले प्राप्त गरेका नागरिक अधिकार, स्वतन्त्रता र सामाजिक उपलब्धिहरू हिजोका संघर्षको प्रतिफल हुन् ।

तर, यी उपलब्धिहरूलाई सुरक्षित राख्नु मात्र पर्याप्त छैन । आजको युगमा हाम्रा अधिकार र स्वतन्त्रतालाई देशको विकास र समृद्धिमा रूपान्तरण गर्नु हाम्रो साझा जिम्मेवारी हो । केवल आफ्नो स्वार्थ र समुदायको चाहनामा सीमित रहेर अघि बढ्दा देश अस्थिरता र विभाजनको बाटोमा उन्मुख हुन्छ। हामीले अब विवेक, जिम्मेवारी, सहकार्य र दूरदर्शिता अपनाएर मात्र नेपाललाई स्थिरता, समृद्धि र न्यायपूर्ण विकासको बाटोमा अगाडि बढाउन सक्छौं ।

हिजोका क्रान्ति र आन्दोलनहरूले सिर्जना गरेको बहसको मञ्च हाम्रो सबैभन्दा ठूलो सामाजिक सम्पत्ति हो । आजको आन्दोलनले हिजोका उपलब्धिहरूलाई संकटमा पार्ने हो कि भन्ने प्रश्न हामीले आत्मविश्लेषणबाट उठाउनैपर्छ। आन्दोलनले सिर्जना गरेको बहसको मञ्चलाई खण्डन गर्नुको सट्टा, त्यसबाट अन्तरक्रिया गर्न, बहस गर्न र साझा समाधान खोज्नुपर्छ। यस मञ्चमार्फत देश विकासका विविध विषयमा मन्थन, योजनाबद्ध बहस र सहभागी निर्णय प्रक्रियालाई अघि बढाउन सकिन्छ ।

हामीले अराजक, भ्रष्ट र निषेधकारी प्रवृत्तिहरूको विरोध गर्दै आएका छौं । तर, विरोधको प्रवृत्ति केवल विरोध जन्माउने मात्र नहोला भन्ने सोच राख्नु अत्यावश्यक छ । ‘नेपालमा केही भएको थिएन’ भन्ने नकारात्मक दृष्टिकोणलाई आधार मानेर अघि बढ्दा विकास होइन, विनाशको बाटो खुल्छ । विकासका पूर्वाधार, समावेशी समाज, सेवासुविधाहरू, मानव विकास सूचकाङ्क, आर्थिक प्रगति, यी सबै क्षेत्रमा केही उपलब्धि छ । तर, हाम्रा अपेक्षाअनुसार अझ धेरै हुनुपर्ने थियो । यसलाई अस्वीकार गरेर मात्र अघि बढ्दा समाजमा निराशा, अस्थिरता र असन्तोषको वातावरण फैलिन्छ ।

म एक दृष्टिसम्बन्धी अपाङ्गता भएको व्यक्ति हुँ । समावेशिताको क्षेत्रमा मेरो चाहना र मेरो समुदायको चाहना पूर्ण रूपमा प्राप्त भएको छैन । तर मैले केवल आफ्नो दृष्टिकोणमा सीमित रहेर देशमा अराजकता र विनाशको प्रवृत्ति बढाउन सक्दिनँ। नकारात्मक भाष्य निर्माण गरेर अरूको मनोबल घटाउने वा चलखेलको आधार बनाउने वातावरण सिर्जना गर्नु देशको हितमा हुँदैन । हरेक नागरिकले आफ्नो जिम्मेवारी र कर्तव्यको दृष्टिले सोच्नुपर्छ। व्यक्तिगत अधिकार र समुदायको आवश्यकताबाहेक देशको भविष्यलाई प्राथमिकता दिनुपर्छ ।

‘अस्थिर नेपाली’ भन्ने उखान हाम्रो मानसिकता र सामाजिक व्यवहारको वास्तविक प्रतिबिम्ब हो । अस्थिर विचार, अस्थिर सिद्धान्त र अस्थिर धैर्यताले अस्थिर नेताहरू जन्माएका छन् र अझै जन्माइरहेका छन् । स्थिर सरकार चाहन्छौं भने हामी स्थिर विचारमा अडिक हुनुपर्छ।  भ्रष्टाचारविहीन नेता चाहन्छौं भने हामीमा नै भ्रष्टाचारविहीन संस्कार विकसित हुनुपर्छ। चेतना, विद्या, बुद्धि र विवेकले चलेको नेतृत्व चाहिन्छ भने जनता पनि त्यस अनुरूप विकसित हुनुपर्छ। 

सरकार विरोध दुई महिना अगाडि, अर्को सरकार विरोध दुई महिना पछि—के हामी प्रत्येक घटना र परिणामलाई विश्लेषण गर्न, समीक्षा गर्न र अनुभूतिपूर्वक बुझ्न तयार छौंरु देश चलाउन चेतना, विवेक र संयम आवश्यक छ भन्ने कुरा निरन्तर स्मरण गर्नुपर्छ। केवल उत्तेजना, विरोध र नकारात्मक भावना मात्रमा आधारित निर्णयले देशलाई स्थिरता र समृद्धिमा पुर्‍याउँदैन । देशको विकास विवेकशील निर्णय, जिम्मेवार बहस र समन्वयमा आधारित हुनु आवश्यक छ ।

विवेक चाहिन्छ भन्ने आवेगले हामीलाई सहकार्य र समन्वयको महत्व सिकाउँछ। यसैगरी निषेध र विरोध प्रवृत्तिलाई सचेत रूपमा नियन्त्रण गर्नु अत्यावश्यक छ। सत्य यो हो कि देश केवल प्रशंसाले बन्दैन, आलोचना र विरोधले मात्र पनि बन्दैन। देश बनाउन खबरदार गर्नेहरूले सजग र सचेत हुनैपर्छ भने जो माथि खबरदारी गरिँदैछ, उनीहरू पनि सचेत हुनुपर्छ ।

जसले खबरदारी गर्दैछ, उसले आफ्नो खबरदारीको जिम्मेवारी बहन गर्न सक्ने सामर्थ्य राख्नुपर्छ। नेताले नेतृत्व गरेबापत जिम्मेवारी लिने सामर्थ्य राख्नुपर्छ। प्रश्न गर्नेहरूले आफ्नो प्रश्नप्रति जवाफदेहिता बुझ्नुपर्छ, र जवाफ दिनेहरूले पनि आफ्नो जवाफप्रति जवाफदेहिता र जिम्मेवारी बोध गर्नुपर्छ। देश निर्माणको प्रक्रिया केवल प्रश्न र उत्तरमा सीमित हुने होइन, त्यसको उत्तरदायित्व र जिम्मेवारीमा आधारित हुनुपर्छ। जब प्रश्न गर्नेहरू आफ्ना प्रश्नप्रति जिम्मेवार हुन्छन् र जवाफ दिनेहरू आफ्ना निर्णयप्रति उत्तरदायी हुन्छन्, तब मात्र राष्ट्र सशक्त र विश्वसनीय बन्न सक्छ।

नेपालीहरूले नयाँपनको आवाज उठाउँदा आफ्ना सभ्यता र संस्कृतिको संरक्षणमा पनि ध्यान दिनु अत्यावश्यक छ। हामीले उठाएका आवाजहरूले हाम्रो अन्तरआत्मामा हराइरहेको सांस्कृतिक मूल्यलाई नजरअन्दाज गर्न सकिँदैन। यदि त्यसो गरियो भने देश विकासको बाटो होइन, विनाशतर्फ उन्मुख हुनेछ।

देश निर्माणमा समानुभूति, सहकार्य र दायित्वको बोध हुनु आवश्यक छ। प्रत्येक नागरिकले आफ्नो व्यक्तिगत लाभ, समुदायको अधिकार र देशको भविष्यबीच सन्तुलन कायम गर्न सक्नुपर्छ। देश केवल विरोध, उत्तेजना वा आलोचनामा आधारित भएर अघि बढ्दैन। विवेक, जिम्मेवारी र चेतनामा आधारित निर्णयले मात्र समृद्ध नेपाल निर्माण गर्न सक्छ।

हामीले उठाउने आवाजले, गर्ने बहसले, र पालन गर्ने जिम्मेवारीले मात्र नेपाललाई स्थिरता, समृद्धि र न्यायसम्म पुर्‍याउन सक्छ। नेतृत्व र जनता दुवैले आफ्नो कर्तव्य बोध गर्दा मात्र देशको विकास वास्तविक अर्थमा सम्पन्न हुनेछ।

अब हाम्रो चुनौती छ—आफ्नो व्यक्तिगत अधिकार र स्वार्थ मात्र लाई केन्द्रित नराखी, देशको समग्र भलाइका लागि विवेकपूर्ण निर्णय, समन्वय र जिम्मेवार नेतृत्व।सुनिश्चित गर्नु।

सत्य, विवेक, जिम्मेवारी र चेतनाको मार्ग अपनाएर मात्र हामी अराजकता र विनाशको सञ्जाल रोक्न सक्छौं। नेतृत्व र जनता दुवैले आफ्नो जिम्मेवारी बोध गरेर मात्र नेपाल स्थिर, समृद्ध र न्यायपूर्ण बन्न सक्छ। अब समय आएको छ—देशको निर्माणका लागि व्यक्तिगत स्वार्थ र उत्तेजनाको सट्टा, विवेक, सहकार्य र जिम्मेवारीमा आधारित योगदान दिनको। यही हाम्रो साझा लक्ष्य, यही हाम्रो साझा दायित्व हो ।

हाम्रो देशको भविष्य विवेक, चेतना, जिम्मेवारी र सहकार्यको माध्यमबाट मात्र सुरक्षित रहन सक्छ। केवल आलोचना, असन्तोष वा उत्तेजनामा आधारित निर्णयले देशलाई स्थायित्व दिन सक्दैन। हामीले सिर्जना गरेको बहसको मञ्च, अधिकार र स्वतन्त्रताका उपलब्धिहरूको संरक्षण र सही उपयोग गरेर मात्र नेपाल समृद्ध, स्थिर र न्यायपूर्ण बन्न सक्छ । यही हाम्रो साझा कर्तव्य हो, यही हाम्रो साझा चुनौती हो, र यही हाम्रो साझा सपना हो । 

प्रतिक्रिया