धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका १६ मध्ये सबैभन्दा सुरक्षित ठानेको सीट हो, कैलाली– ४ । जहाँबाट चुनाव लड्दै छन्, एमालेका उपमहासचिव लेखराज भट्ट । तर, यो क्षेत्रमा विगतका निर्वाचनमा एमालेको प्रदर्शन भने निकै निराशाजनक छ । ०६४ सालदेखिका निर्वाचनमा उक्त निर्वाचनमा क्षेत्रमा एमाले उम्मेदवार जित्न सकेका छैनन् । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाहेक अन्य निर्वाचनमा मुख्य प्रतिद्धन्द्धीसमेत बन्न सकेका छैनन् एमाले उम्मेदवार ।
कैलाली–४ कांग्रेस र तत्कालीन माओवादीले पालैपालो निर्वाचन जित्दै आएको क्षेत्र हो । विगतदेखि सोही क्षेत्रबाट चुनाव लड्दै आएका भट्ट एक चुनाव बिराएर जित निकाल्न सफल हुन्छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका भट्ट २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनी २०७९ सालमा प्रतिनिधिसभाकै निर्वाचन हारेका थिए । २०७० सालमा भट्टलाई कांग्रेसका दीर्घराज भाट र २०७९ सालको निर्वाचनमा कांग्रेसका बीरबहादुर बलायरले पराजित गरेका थिए । ०६४ साल र ०७४ सालमा भट्ट निर्वाचन जित्दा माओवादीबाट उम्मेदवार थिए । एमालेबाट पहिलोपटक ०७९ सालको निर्वाचन लडेका भट्ट बलायरसंग साढे तीन हजार बढी मतले पराजित भएका थिए ।
यसपटक कांग्रेसका बलायरले फिल्ड छोड्दा प्रदेशभरका १६ सीटमध्ये एमालेलाई जित्न सबैभन्दा सहज कैलाली– ४ मै रहेको बताउँछन् एमाले नेताहरु । एमालेको गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंह कैलाली– ४ मा लेखराजकोसहज जित हुने दाबी गर्छन् । ‘हाम्रो प्रतिस्पर्धा कांग्रेससंगै हो,’ उनी भन्छन्, ‘तर, कांग्रेसले ०७९ सालमा पनि डोटीबाट ल्याएर उम्मेदवार बनायो र अहिले पनि बाहिरबाट नै आएकालाई उम्मेदवार बनाएको छ । त्यसकारण कैलाली– ४ मा हामी सहजै जित्छौं ।’ लेखराज भट्टले पदमा हुँदा थुप्रै विकासका काम गरेको दाबी सिंहको छ । ‘उहाँको काम कैलाली– ४ का मतदाताले रुचाएका छन्,’ उनी भन्छन्, ‘कामकै आधारमा उहाँको सहज जित हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ भट्ट धनगढी–दीपायल द्रूत मार्ग र गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आफ्नै पहलमा बनेको भन्दै भोट मागिरहेका छन् । दुबै आयोजनालाई पूर्णता दिन संसदमा आफ्नो आवश्यकता पर्ने तर्क गर्दै आएको छन्, भट्ट ।
नेपाली कांग्रेसले भने गोरखबहादुर बिष्ट (आनन्द)लाई कैलाली– ४ मा उम्मेदवार बनाएको छ । हुन् त नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर यो क्षेत्रबाट चुनाव लड्न इच्छुक थिए । शेरबहादुर देउवाकै हस्ताक्षरमा टिकट लिएर चुनाव उठ्न चाहन्थे बलायर । उनकै चाहनाअनुसार क्षेत्र, जिल्ला र प्रदेश समितिले केन्द्रमा नाम सिफारिस पनि गरेको थियो । तर, विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भयो । निर्वाचन आयोगले पनि गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दियो । जसले देउवाको सभापति पद पनि खोसियो । थापाले विशेष महाधिवेसनको विपक्षमा उभिएका बलायरलाई कैलाली– ४ को टिकट दिए । तर, बलायरले अन्तिम समयमा चुनाव नलड्ने घोषणा गरे । बलायर चुनाव नलड्ने भएपछि थापाले अमेरिकास्थित कांग्रेसको नेपाली जनसम्पर्क समितिका सभापति बिष्टलाई टिकट दिए । थापाले अहिले ‘टुरिस्ट’ उम्मेदवारको आरोप खेपिरहेका छन् । अर्कोतर्फ सोही क्षेत्रबाट अघिल्लो चुनाव जितेका प्रदेश सभापति बलायर पनि खुलेर चुनावी अभियानमा देखिएका छैनन् । जसका कारण कांग्रेसलाई आफ्नैबाट घातको डर छ । ‘नेपाली कांग्रेसले घात नगरे बिष्टको जित सुनिश्चित छ,’ कांग्रेस कैलालीका एक नेता भन्छन्, ‘तर, कांग्रेसबाटै घात भएपछि दोस्रो हुन पनि मुस्किल पर्छ होला ।’ कैलाली– ४ को भौगोलिक विकटता, बेरोजगारी, गरिबी, पूर्वाधार अभाव, शिक्षा र स्वास्थ्य क्षेत्रका चुनौतीलाई सम्बोधन गर्ने आफूसंग स्पष्ट कार्ययोजना रहेको भन्दै बिष्ट भोट मागिरहेका छन् । पूर्वाधार विकासतर्फ सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी तथा सरसफाइ विस्तार र विद्युत् सेवा सुदृढीकरण गर्ने योजना बिष्टले अगाडि सारेका छन् । उनले प्रत्येक वडामा निःशुल्क वाइफाइ जोन, इ–लाइब्रेरी तथा डिजिटल सीप तालिम सञ्चालन गरिने बताएका छन् ।
कैलाली– ४ बाट नेपाली कम्युनिस्ट पार्टीले भने हरिराम चौधरीलाई चुनावी मैदानमा उतारेको छ । एमालेका उम्मेदवार लेखराज र नेकपा उम्मेदवार हरिराम पूर्वसहकर्मी हुन् । दुबै उम्मेदवार माओवादी पृष्ठभूमिका हुन् । लेखराज माओवादीबाट एमाले जाँदा चौधरी भने माओवादीमै रहेका थिए । माओवादी सुदूरपश्चिमका अध्यक्ष भइसकेका चौधरीसंग राष्ट्रियसभा सदस्य भएर काम गरिसकेको अनुभव छ ।
चौधरीको उम्मेदवारीले बलायरले फिल्ड छोड्दा जित निकाल्न सहज हुने भन्दै हौसिएका एमाले उपमहासचिव भट्टलाई अहिले आफ्नै पूर्वसहकर्मीबाट चुनौती थपिएको छ । नेकपा उम्मेदवार चौधरी अहिलेका युवाहरुका माग आफ्नो पार्टीले विगतमै उठाएको भन्दै ती माग पूरा गर्नका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । ‘देशमा कार्यकारी प्रमुखको एजेण्डा हामीले विगतमै उठाएका थियौं,’ उनी भन्छन्, ‘तर हाम्रो कुरा कसैले सुनेनन् । अहिलेका युवाहरुले भने सुनेका छन् । त्यो एजेण्डा पूरा गर्न र भ्रष्टाचारमुक्त देश बनाउने अभियानअन्तर्गत हामी उम्मेदवार बनेका हौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने देशभर आफ्नो पक्षमा लहर देखिएको भन्दै सोही लहरलाई कैलाली– ४ मा पनि जितमा बदल्ने दाबी गरिरहेको छ । रास्वपाले सुरुवातमा कैलाली–४ को टिकट हरि रेग्मीलाई दिएको थियो । उनले उम्मेदवारी पनि दर्ता गराइसकेका थिए । रेग्मीको टिकट खोस्दै सोही दिन खेमराज कोइरालाले पनि अर्को टिकट ल्याएर उम्मेदवारी दर्ता गरे । कोइरालले उम्मेदवारी कायम भएको केन्द्रको पत्र ल्याएपछि रेग्मीको मनोनयन हटाएको थियो, कैलाली– ४ को निर्वाचन अधिकृतको कार्यलयले । अहिले कोइराला नै रास्वपाबाट चुनावी मैदानमा छन् । टिकट वितरणमा भएको असन्तुष्टिले रास्वपा कैलाली– ४ मा कमजोर रहेको अन्य दलहरुको बुझाइ थियो । तर, रास्वपा नेताहरु भने कैलाली– ४ मा आफ्नो जित सुनिश्चित भइसकेको दाब िगर्छन् । ‘कैलाली– ४ मा हाम्रो पोजिसन निकै राम्रो छ,’ टिकटबाट बञ्चित गराइएका रास्वपा नेता रेग्मी भन्छन्, ‘विगतमा गरेका काम र पुराना दलप्रतिको वितृष्णाले रास्वपाप्रति मतदाता निकै सकारात्मक छन् । हामी सहज जित निकाल्छौं ।’
प्रतिक्रिया