ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

उहिलेको पन्द्रै रात र अहिलेको ‘पुसे पन्द्र’

मङ्गलबार १५, पुष २०८२ १२:१३

नेपाली भाषा र सङ्स्कृतीको मुल र प्राचिन थलो मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षभरी नै विभिन्न चाडपर्वहरु मनाइन्छन् । यी चाडपर्वहरुमा आफ्नै मौलिकता भेटिन्छ, आफ्नै विशिस्ठ पहिचान पनि । कर्णाली तथा सुदूरपश्चिमको लोकसङ्स्कृतिको परिचय दिने तमामौँ चाडपर्वमध्ये ‘पुसे पन्द्र’ एक मौलिक चाड हो । पुस महिनाको १५ गते मनाइने हुँदा यो पर्वलाइ ‘पुसे पन्द्र’ भनिएको हो । यो पर्व प्राचीन समयदेखि नै मनाइँदै आएको पाइन्छ ।

कसरी रहन गयो होला पुसे पन्द्र ?
अङ्ग्रेजी पात्रोअनुसार डिसेम्बर २१ तारिखलाई वर्षकै सबैभन्दा लामो÷ठूलो रात र सबैभन्दा छोटो दिन भएको समयको रुपमा लिइन्छ । प्राचीन समयमा नेपालमा शिक्षा र प्रबिधिको बिकास भएको थिएन । गाउँघरमा पत्रीका, रेडियो, फोन जस्ता सञ्चारका आधुनिक साधनहरु थिएनन् । तथापी मानिसहरु मौसम र हावापानीको फेरबदलको आधारमा समय निर्धारण गर्न जान्दथे । सुर्यको उपस्थितिको आधारमा समय र मौसमको पुर्वानुमान लगाउन सक्थे । यहि आधारमा पुस १५ गते (डिसेम्बर २१ तारिखको नजिक) नेपाल लगायत उत्तरी गोलार्धमा दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो भएको ठहरिन्छ । यस दिनबाट सुर्य दक्षिण तर्फ सर्ने (दक्षिणायण) अवस्थाको अन्त्य भै उत्तर तर्फ सर्दै जाने प्रक्रिया सुरु हुन्छ । अर्थात् दक्षिणायणको अन्त्य भै उत्तरायण सुरु हुने मान्यता राखिन्छ । यसै समयबाट दिन बढ्दै जाने र रात घट्दै÷छोट्टिदै जाने मान्यता पनि रहिआएको छ ।

प्राचीन कालको समय कृषि पेशामा निर्भर हुन्थ्यो । पुसको महिना चिसो हुन्छ । मानिसहरु सँग प्रशस्त लुगाकपडा हुन्थेनन् । जाडोबाट बच्न आगो ताप्नुपथ्र्यो । वर्सकै लामो रात काट्नु चानचुने कुरो पनि थिएन । दिउँसो त घाम लाग्थ्यो, न्यानो भैहाल्थ्यो । घरायसी र कृषि कार्यमा ब्यस्त हुन्थे । लामो रात अनि चिसो । यहि भएर पुस पन्द्र गतेको रातलाइ विशेष पर्वको रुपमा मनाउन थाले । जसलाई पन्द्रै रात भनेर चिनिन्छ । पन्द्रै रातमा जाडोको समय कटाउन गाउँभरीका मानिसहरु एक ठाउँमा जम्मा भएर आगो ताप्थे । तरुल, सखरखण्ड, पिँडालु इत्यादि खान्थे । बातै (गाउँ खाने कथा र दन्त्य कथा) हाल्दथे । युवादेखि बृद्ध सम्म, बच्चादेखी किशोरसम्म एक ठाउँमा जम्मा भएर रमाइला गफहरु गर्दथे । डेउडा खेल्दथे । मिठा मिठा लोकपरिकारहरु पकाएर खान्थे । यसैको आधारमा पुस पन्द्र गतेलाइ विशेष पर्वकै रुपमा मनाउन थालिएको होला भनेर अनुमान लगाउन सकिन्छ ।

कसरी मनाइन्थ्यो पुसे पन्द्र ?
बसाइँसराइ, बिज्ञानप्रविधिको विकास, भुमण्डलिकरणको प्रभाव, पेशा व्यवसाय, मानिसको व्यस्त दैनिकी इत्यादिको कारण नेपाली चाडपर्वहरुको मौलिक स्वरुप बिस्तारै परिवर्तन हुँदै गैरहेको पाइन्छ । पहाडबाट तराईमा बसाइँसराइ भएपश्चात पुसे पन्द्र मनाउने तरिका र समयमा पनि फेरबदल आएको देखिन्छ । प्राचिन समयमा जसरी पुसे पन्द्र मनाइन्थ्यो आजकाल धेरै भिन्नता पाउछौँ । त्यो बखत गाउँले परिवेश हुन्थ्यो । मानिसको मुख्य पेशाव्यवसाय कृषि थियो । पुसको महिना कृषि कार्यबाट अलिकती फुर्सद पाइन्थ्यो । हिउँदका दिनहरु तुलनात्मक रुपमा फुर्सदिला हुन्थे । प्रकृति र मानिस एक आपसमा अत्यन्त अन्तरसम्बन्धीत  थिए ।

पुस पन्द्र गतेको रात वर्षकै सबैभन्दा लामो हुन्थ्यो । त्यो बेलाका मानिसहरुले लामो रात कटाउने जुक्ती निकाले । गाउँलेहरु एक ठाउँमा जम्मा हुने । आगो तापेर जाडो भगाउने । तरुल, सखरखण्ड, पिँडालु  इत्यादि खाएर शरीर तताउने । रातभर जाग्राम बस्ने । बातै (गाउँ खाने कथा, उखानटुक्का र दन्त्य लोक कथा) सुन्ने र सुनाउने ।

पहाडमा सबैको घरमा गोरस हुन्थ्यो । घि, मह प्रशस्त हुन्थ्यो । अन्नको अभाव हुन्थेन । सागतरकारी आफ्नै बारीमा हुन्थ्यो । जङ्गलमा बनैया फलफुल पाइन्थे । अधिकाँशको पेशा कृषि हुन्थ्यो । व्यवस्थित दैनिकी थियो । परिवारका सदस्य सामान्यतया घरमै हुन्थे । चाडपर्वको आफ्नै महत्व हुन्थ्यो । सामान्य अवस्थामा पैसाको जरुरत पर्दैनथ्यो । चाडपर्वमा मौलिक परिकार पाक्थे । मन लागेको परिकार पकाउन बजार जानू पर्दैनथ्यो । पकवानका सबै सामग्री घरमै उपलब्ध हुन्थे । त्यसैले त चाडपर्व विशेष हुन्थे, मौलिक हुन्थे । स्वास्थ्यका दृष्टिकोणले बैज्ञानिक लाग्थे ।

पुसे पन्द्रमा पनि प्रत्येकका घरमा निसौसे पाक्थे, माणा पाक्थे । बाबर र लाउन पाक्थे, हलुवा र खिर पाक्थ्यो । डुब्का र बटुक पाक्थे । दाउराको अभाव थिएन । अगेनामा रातभरी आगो बल्थ्यो । रातभरी जाग्राम बस्न प्रयास गर्थे । मिठो भोजन सङ्गै रमाइला बात हुन्थे । गाउँ खाने कथा सुन्थे र सुनाउँथे । लोक कथाहरु सुन्थे र सुनाउँथे । लोक कथा र दन्त्य कथाका पात्रहरु राक्षस, भुत, देवता, प्रेत र राजारानी हुन्थे । प्रेम र युद्धका कथाहरु हुन्थे । नैतिक शिक्षा सिकाउने कथाहरु हुन्थे ।

समाजका अग्रज पुस्ताका ब्यक्तिहरु यस्ता कथाहरु सुनाउँथे भने तन्नेरी र बालबच्चाहरु ध्यान दिएर यस्ता कथाहरु सुन्थे । एकै बातैले (कथा) रात कट्थ्यो । गाउँखाने बातै (कथा) हालिन्थे । सहि जवाफ दिन सकिएन भने कुनै गाउँको नाम बताउनुपथ्र्यो । गाउँखाने बातै सोध्ने ब्यक्तिले जवाफ दिने ब्यक्तीलाइ पुरै गाउँको नकारात्मक पक्ष खानु भनेर भन्थे । अनिमात्र सहि जवाफ भन्थे । यसरी पुस पन्द्र गतेको लामो रात कट्थ्यो ।

आजकाल कसरी मनाइन्छ ?
समय फेरियो, बिज्ञान प्रबिधीले सम्पुर्ण ब्रह्माण्ड कब्जा गर्यो । बसाइँसराइको कारण चाडपर्वहरु अब कसैका निजि रहेनन् । बिश्व भुमण्डलिकरणको बाछिटा चाडपर्व मनाउने परम्परा र चालचलनमा नपर्ने कुरै भएन । मानिसको जीवनशैली फेरियो, पेशाव्यवसाय फेरियो । प्रकृति फेरियो, प्राकृतिक स्रोत साधनको उपलब्धता घट्दै गयो । समयक्रम सङ्गै मानिसको दैनिकी फेरियो, रुचि र चाहना फेरियो । आवश्यकता फेरिए, प्राथमिकता फेरिए । पुस्तान्तरणको कारण परम्परागत मुल्य मान्यता, चालचलन र रितिरिवाजमा परिवर्तन आयो । सामाजिक सन्जालले मानिसलाइ बेफुर्सदिलो बनाइदियो । प्रकृतीसँग टाढिदै गयो सम्बन्ध ।

पहाडमा जसरी र जुन शैलीमा हाम्रा चाडपर्वहरु मनाइन्थे, ठ्याक्कै त्यसरी नै तराईमा मनाउन सकिँदैन । जुन किसिमको प्राकृतिक स्रोत साधनको सहज उपलब्धता पहाडमा हुन्छ, त्यो तराईमा हुँदैन । त्यसकारण चाडपर्व उही भए पनि पहाड र तराईमा मनाउने शैली अलि फरक हुन सक्छ । पहाडमा पाक्ने परिकार र तराईमा पाक्ने परिकार फरक हुनसक्छन् । पहाडमा जुन किसिमको मौलिकता र स्वाद पाइन्छ त्यो तराईमा नपाइन सक्छ ।

धेरैजसो हाम्रा चाडपर्वहरु पहाडी जिवनबाट सुरु भएका छन् । त्यसकारण ती चाडपर्वहरुको मौलिक स्वरुप खोज्न पनि पहाड नै पुग्नुपर्छ । गाउँ नै छिर्नुपर्छ ।

बाँजको दाउराबाट बनेको कोइलाको जत्तीको राप र ताप तराईका दाउराले दिन नसक्ला । घट्टमा पिसेको चामलको पिठोबाट बनेको निसौसे जति स्वादिष्ट हुन्छ, त्यति आधुनिक मिलमा पिसेको पिठोमा नहोला । काठको कठेमा जमाइएको दहिको स्वादलाइ डेरीको दहिले कसरी पो जित्ला र ? जङ्गलमा गइ आफैले कोरेर ल्याएका तौड (तरुल) को स्वाद जति मीठो हुन्छ, तराईमा बेच्न राखिएका बासी तरुलको स्वाद त्यति मीठो नहोला ।

समयक्रमसँगै चाडपर्वको नाम उही रहेतापनी मनाउने तरिका फेरियो, पाक्ने परिकार फेरिए । तरपनी महत्व कत्ती पनि घट्दैन । पहाड÷गाउँमा आगोको तापमा तावामा पाक्ने निसौसे अहिले सहरमा बिधुतिय प्यानमा पाक्दैछन् । अगेनामा रातभरी बल्ने आगो ड्रमको सिमित घेरामा बल्छ सहरमा ।

पुसे पन्द्र त गाउँमा नि मनाउछन्, सहरमा पनि । तर मौलिकता फरक फरक छ । रातभरी अनिदो बसेर सुनिने र सुनाइने गाउँ खाने बातै (कथा) र लोककथाहरु फेसबुक, टिकटक र युट्युबमा पोस्टिदै छन् सहरमा । तरपनी खुशीको कुरो परम्परादेखि चल्दै आएको चलन बसाइँसराइ भएतापनी नयाँ पुस्ताले अनुसरण गर्दैछ ।

पुसे पन्द्रको महत्व 
पुसे पन्द्रको साङ्स्कृतीक र सामाजिक  महत्व त छँदै छ । यो सँग जोडिएका गाउँ खाने बातै (कथा) र लोक कथा तथा दन्त्य कथा भन्ने र सुन्ने जुन अभ्यास छ, त्यसले ब्यक्तिको बौद्धिक बिकासमा अत्यन्त महत्वपूर्ण भुमिका खेल्छ ।

गाउँखाने बातै (कथा) भन्ने जुन सङ्स्कृती छ, त्यो लोकसाहित्यको महत्वपूर्ण अङ्ग हो । यस्ता कथाहरु सरल देखिए पनि ती भित्र गहिरो सोच, तर्क र बुद्धिको प्रयोग आवश्यक पर्छ । सबैभन्दा पहिले गाउँ खाने कथाले सोच्ने बानिको बिकास गराउँछ । कथा सुनेपछी तुरुन्तै जवाफ नआउने हुँदा सुन्ने ब्यक्तीले किन यसो भनिएको होला भन्ने प्रश्न मन्थन गर्छन् । यसले गहिरो सोच्ने र समस्या समाधान गर्ने क्षमता बढाउँछ । दोस्रो, कथामा लुकेको अर्थ बुझ्न कारण परिणामको सम्बन्ध खोज्नुपर्ने हुँदा यसले तर्कशक्ती र बिश्लेषणात्मक क्षमता बिकास गर्छ । पुसे पन्द्र÷पन्द्रै रातमा सोधिने गाउँखाने बातै (कथा) मा एउटै बातैको पनि फरक फरक उत्तर सोच्न सकिन्छ, जसले नयाँ बिचार जन्माउन सक्छ । लामा लामा बातै (लोककथा÷दन्त्य कथा) ध्यान दिएर सुन्न, बुझाउन, सम्झन मानसिक प्रक्रिया चुस्त दुरुस्त हुनुपर्छ । त्यसकारण बातै भन्ने र सुन्ने कार्यमा ब्यक्तिको स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमता बलियो हुन्छ ।

आफुले सुनेका कथाहरुलाइ पुनः अरु कसैलाई सुनाउनु चानचुने कुरो होइन । समग्रमा भन्नुपर्दा प्राचीन कालदेखी मनाउँदै आएको पुसे पन्द्र÷पन्द्रै रातमा जुन गाउँखाने बातै (कथा) र लोककथा भन्ने र सुन्ने परम्परा छ, त्यसले मनोरञ्जन मात्र नभै ब्यक्तिको मानसिक तिक्ष्णता, तर्कशक्ति, भाषा क्षमता र समग्र बौद्धिक बिकासका लागि उपयोगी भुमिका खेल्दछन्  ।

चाडपर्वहरु हाम्रो समाज, सङ्स्कृती र जिवनशैलीसँग गहिरो रुपमा जोडिएका हुन्छन् । ब्यस्त जीवनमा समय निकालेर परिवारसँग बसेर चाडपर्व मनाउँदा आत्मिय सम्बन्ध बढ्छ । आपसी मेलमिलाप बढाउँछ । हाम्रो भाषा, परम्परा, रितिरिवाज र सङ्स्कृतीलाइ जोगाउँछ ।

पुसे पन्द्र लोक साहित्यका गाथा सुन्ने र सुनाउने एक सुनौलो अवसर पनि हो । अग्रज पुस्ताले नयाँ पुस्तालाई सङ्स्कार, परम्परा र जीवनमुल्य सिकाउने अवसर पनि हो । हाम्रो सामाजिक जीवनलाई रङ्गिन, एकताबद्द र सन्तुलित बनाउने महत्वपूर्ण आधार चाडपर्व हुन ।

के आवश्यक छ ?
बसाइँसराइ, आधुनिकता, सहरीकरण र भुमण्डलिकरण आदिले चाडपर्व मनाउने तरिका परिवर्तन हुँदै गएको छ । चाडपर्वहरुको मौलिकता गुम्न थालेको छ । बिदेशी सङ्स्कृतीको प्रभाव हाम्रा रितिरिवाज र चालचलनमा पर्न थालेको छ । जसको कारण चाडपर्व हाम्रा भएतापनी मनाउने शैली र तरिका हाम्रो मौलिक छैन ।

हामी आफ्नो मौलिक शैलीलाइ गुमाउँदै गैरहेका छौँ । मौलिकता गुम्नु भनेको परिचय हराउँदै जानु पनि हो । अतः हाम्रा चाडपर्वहरुको मौलिकता गुम्न नदिन हामिले घर परिवारमै पुराना रितिरिवाज अनुसार चाडपर्व मनाउनुपर्छ । नयाँ पुस्ताका बालबालिका र युवालाई सहभागी गराउनुपर्छ । चाडपर्वको अर्थ, ईतिहास र महत्व नयाँ पुस्तालाइ बुझाउनुपर्छ । समय र परिबेश अनुसार चाडपर्वलाई नयाँ तरिकाले मनाए पनि मुल सङ्स्कार छोड्नुहुन्न ।

सहरमा पनि सम्भव भए सम्म गाउँ÷टोलस्तरमा सामुहिक रुपमा चाडपर्व मनाउने कार्यक्रम आयोजना गर्न सकिन्छ । बिद्यालयका पाठ्यक्रममा पनि पठन सामग्रीको रुपमा हाम्रा स्थानिय मौलिक चाडपर्वहरुलाइ समेट्नुपर्छ ।
 

प्रतिक्रिया