धनगढी । कैलाली उद्योग वाणिज्य संघले आफ्नो ५१औं साधारणसभा सम्पन्न गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ । यसपटकको नेतृत्व चयनले संस्थाभित्रको प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यासलाई झल्काएको मात्र होइन, भावी दिशाबोधका नयाँ संकेतहरू पनि दिएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिलाई अब संघको गौरव, विश्वसनीयता र प्रभावकारितालाई पुनर्स्थापित गर्दै अघि बढ्ने जिम्मेवारी छ ।
कैलाली उद्योग वाणिज्य संघको इतिहास जिल्लाको आर्थिक, सामाजिक र व्यवसायिक विकाससँग जोडिएको छ । सुदूरपश्चिमका उद्योगी–व्यवसायीहरूले साझा मञ्चको आवश्यकता महसुस गर्दै स्थापना गरेको यो संस्था सुरुवातमा सीमित स्रोतसाधनसहित जन्मिएको थियो । तर, दशकौंको यात्रामा यसले आफ्नो भूमिका विस्तार गर्दै उद्योग, व्यापार, लगानी, रोजगारी र स्थानीय नीति निर्माणमा समेत प्रभाव पार्ने तहमा पुगेको छ ।
५० वर्षको लामो इतिहासमा संघले थुप्रै चुनौती र अवसर देखेको छ— कहिले कर नीतिको असमानता, कहिले बजार व्यवस्थापनको असन्तुलन त कहिले सरकारी निकायसँगको समन्वय अभाव । यी सबैबीच पनि संघले सधैं उद्योगी–व्यवसायीका अधिकारका सवालमा आवाज उठाउँदै आएको छ ।
कैलालीको मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र, विशेषगरी धनगढीलाई व्यवसायिक केन्द्रका रूपमा विकास गर्न संघले खेलेको भूमिका अस्वीकृत गर्न सकिँदैन । स्थानीय मेला–महोत्सव, उद्योग प्रदर्शनी, व्यवसायिक गोष्ठी, तालिम र सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिहरूले संघलाई जिल्लाको प्रमुख गैर–सरकारी आर्थिक संस्थाको रूपमा स्थापित गराएको छ ।
विगतका अभ्यास स् उपलब्धि र कमजोरी दुवैको मिश्रण
संघको विगतका कार्यकालमा थुप्रै सकारात्मक अभ्यासहरू देखिए जसअन्तर्गत सुदूरपश्चिमलाई समृद्धिको आवाजसहित सुन्दर सुदूरपश्चिमका रुपमा पहिचान, निजी क्षेत्रको योगदान, युवा उद्यमशीलतालाई प्रोत्साहन, स्थानीय सरकारसँग साझेदारी र निजी क्षेत्रका समस्यामा नीतिगत वकालत लगायतका उल्लेख्य काम भएका छन् ।
तर, हरेक सकारात्मक अभ्याससँगै केही कमजोरीहरू पनि नदेखिएका होइनन् । मेला–महोत्सवका आर्थिक हिसाबकिताबमा पारदर्शिताको प्रश्न उठिनु, सदस्यबीच सूचनाको अभाव, निर्णय प्रक्रियामा केही व्यक्तिको प्रभाव बढ्नु जस्ता विषयले संघको गरिमालाई लिएर समयसमयमा चुनौती भोग्नुपर्यो ।
अब संघको अस्तित्व केवल औपचारिक गतिविधिभन्दा माथि उठ्न जरुरी छ । स्थानीय अर्थतन्त्रमा प्रभाव पार्ने संस्थाको रूपमा संघले नीति, दृष्टिकोण र कार्यशैलीमा आधुनिक सोच भित्र्याउन सकेन भने यसले आफ्नो मौलिक भूमिका गुमाउने जोखिम रहन्छ ।
नयाँ नेतृत्व : अवसर र चुनौती दुबै
अब संघले नयाँ अध्यक्ष पुष्करराज ओझाको नेतृत्वमा नयाँ अध्याय सुरु गरेको छ । ओझाको नेतृत्वलाई धेरैले अनुभव, सहकार्य र शालीन शैलीको प्रतिनिधि मान्छन् । उनले विगतमा वरिष्ठ उपाध्यक्षका रूपमा संस्थागत निरन्तरता, संयम र सहकार्यको भाव देखाइसकेका छन् । त्यसैले नेतृत्वको जिम्मेवारी उनकै काँधमा आइपुग्नु स्वाभाविक पनि हो, अपेक्षायुक्त पनि ।
तर, नेतृत्वले अब सामना गर्नुपर्ने चुनौतीहरू सजिला छैनन् । पहिलो, संघले आन्तरिक एकता र विश्वास पुनःस्थापना गर्नुपर्छ । निर्वाचनका बेला देखिएको प्रतिस्पर्धा अब सहकार्यमा परिणत हुनुपर्छ ।
दोस्रो, संघको वित्तीय पारदर्शिता र उत्तरदायित्व प्रणाली सुधार्न जरुरी छ । मेला–महोत्सव वा अन्य स्रोतहरूबाट आउने आम्दानी र खर्चको स्पष्ट विवरण सदस्यहरूमा खुला गर्न सके संघप्रतिको विश्वसनीयता स्वतः बढ्नेछ ।
तेस्रो, संघले अब नीतिगत र बौद्धिक नेतृत्वको भूमिका खेल्नुपर्छ । केवल कार्यक्रमप्रधान संस्था होइन, नीति–निर्माण र सुझावप्रधान मञ्च बन्न सके संघको सान र प्रभाव दुबै बढ्नेछ ।
संघका विगतका कार्यकालले सिकाएको पाठ स्पष्ट छ— पारदर्शिता, उत्तरदायित्व र सामूहिक नेतृत्वबिना कुनै संस्था बलियो बन्न सक्दैन । हिजोका राम्रा अभ्यासहरू युवा सहभागिता, उद्योगीको आवाज सशक्त बनाउने प्रयास र स्थानीय तहसँग सहकार्य— यी सबैलाई निरन्तरता दिनु जरुरी छ ।
तर त्यही बेला विगतका कमिकमजोरीहरू सुधार्न नेतृत्वले आँट देखाउनुपर्छ । आर्थिक निर्णय प्रक्रियामा स्पष्ट मापदण्ड बनाउने, आन्तरिक व्यवस्थापनमा प्रविधि भित्र्याउने र सदस्यबीच सजीव संवाद कायम राख्ने कार्य नयाँ नेतृत्वको प्राथमिकतामा पर्नुपर्छ ।
कैलाली उद्योग वाणिज्य संघ केवल व्यवसायीहरूको संगठन होइन, यो स्थानीय अर्थतन्त्र, नीति र प्रशासनबीचको पुल हो । यसको गरिमा केवल भवन वा पदमा होइन, आचरण र विश्वासमा रहन्छ ।
संघको गरिमा जोगाउने भनेको असल अभ्यासलाई संस्थागत बनाउने र गलत अभ्यासलाई खुलेर समीक्षा गर्ने हो । पारदर्शिता र निष्ठाको संस्कार संस्थागत बनाउने हो । यसका लागि नेतृत्वसँगै सदस्यहरूको पनि समान जिम्मेवारी रहन्छ ।
संघको मूल मर्म निजी क्षेत्रको सम्मान, नीति वकालत र सदस्य–हितमा केन्द्रित सेवा हो। यस उद्देश्यलाई पूरा गर्न संघले राजनीतिक प्रभावभन्दा माथि उठी व्यावसायिक मूल्यमा आधारित कार्यपद्धति अंगाल्नुपर्छ ।
अर्थतन्त्र र उद्यमशीलता : संघको भावी दिशानिर्देशन
आज नेपाल र सुदूरपश्चिमको अर्थतन्त्र गम्भीर रूपले परिवर्तनको चरणमा छ । वैदेशिक रोजगारले स्थानीय उद्योगलाई कमजोर बनाइरहेको छ, लगानी वातावरणमा अस्थिरता छ र युवा पुस्ता उद्यमतर्फभन्दा रोजगारीका लागि विदेशिनुमा आकर्षित छ ।
यस्तो अवस्थामा संघले उद्यमशीलता प्रोत्साहनका ठोस पहल गर्नुपर्छ— उद्यमी तालिम, स्थानीय उत्पादन बजार विस्तार, बैंक–वित्त संस्थासँग सहजीकरण, र प्रविधिमैत्री व्यापार नीति ।
संघले आफ्नो प्रभाव प्रयोग गरी स्थानीय निकायसँग साझेदारीमा उद्योग–मैत्री नीति बनाउन सक्नेछ। यसले न केवल सदस्यहरूलाई फाइदा पुर्याउनेछ, बरु स्थानीय रोजगारी सृजना र आर्थिक प्रवाहमा सशक्त योगदान पुर्याउनेछ ।
नयाँ पुस्ता र महिलाको सहभागिताको प्राथमिकता
संघले अब समावेशीता र प्रतिनिधित्वमा पनि नयाँ अध्याय खोल्नुपर्छ । महिला उद्यमी, युवा व्यवसायी र नव–उद्यमशील पुस्तालाई नेतृत्व र निर्णय प्रक्रियामा स्थान दिनु नै संस्थाको दिगो भविष्य हो ।
जेनजी पुस्ताको आन्दोलनले देखाइदिएको छ— कुनै पनि संस्था केवल अनुभवमा होइन, नवीन सोचमा पनि निर्भर हुन्छ । त्यसैले नयाँ नेतृत्वले अनुभवीहरू र युवा पुस्ताबीच सन्तुलन मिलाउने जिम्मेवारी पाएको छ ।
संघका अध्यक्ष पुष्करराज ओझा र नया कार्यसमितिसँग अब आशा गरिएको कुरा भनेको उनीहरूले पद होइन, दृष्टिकोण देखाउनेछन् । संघको विश्वास पुनःस्थापित गर्नेछन् ।
संघको गरिमा जोगाउनु भनेको विगतको सन्देशलाई आत्मसात् गर्दै नयाँ सोचसहित अघि बढ्नु हो । अबको समय भनेको संघलाई पदमा होइन, उद्देश्यमा एकता गर्ने ।
५१औं साधारणसभा केवल निर्वाचनको औपचारिकता होइन, नयाँ सोच र नयाँ दिशाको सुरुवात हो । यदि नेतृत्वले हिजोका राम्रा अभ्यासलाई आत्मसात् गर्दै विगतका कमजोरी सुधार्ने आँट गर्यो भने कैलाली उद्योग वाणिज्य संघ केवल जिल्लाको होइन, सुदूरपश्चिमकै आर्थिक पहिचानको केन्द्र बन्न सक्छ ।
प्रतिक्रिया