ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
धनगढी सार्ने योजना अलपत्र

डीडीसी अत्तरियामा डेढ महिनादेखि तालाबन्दी, दुग्ध किसानको सात करोड भुक्तानी बाँकी

मङ्गलबार १७, असार २०८२ ०५:१७

धनगढी । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को धनगढी दुग्ध वितरण आयोजनाको कार्यालयमा भएको तालाबन्दीका कारण आर्थिक र प्रशासनिक काम प्रभावित भएका छन् । आयोजना कार्यालय धनगढी सार्न लागिएको भन्दै विरोधमा स्थानीयले ८ जेठमा कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीको डेढ महिना पुग्न थालेकाे छ ।

डीडिसी अत्तरियाका प्रमुख निरन्जन भट्टराइले एक महिनायता किसानलाई दुधको भुक्तानी दिन नसकेको बताए । आर्थिक कारोबार ठप्प रहेको र प्रशासनिक कामहरु बन्द हुँदा उत्पादनमा समेत असर पर्ने अवस्था आउन थालेको उनले जानकारी दिए । ‘भुक्तानी रोकिएकाले किसानले दिनकै फोन गरिरहेका हुन्छन्, दुग्ध संकलन केन्द्रबाट पनि भुक्तानी दिनु प¥यो भनेर दबाब आइरहेको छ,’ भट्टराइले भने, ‘किसानलाई यो बीचमा सवा करोडभन्दा बढी रकम भुक्तानी भइसक्नु पर्ने थियो । तर लेखा शाखामा तालाबन्दी भएकाले भुक्तानी गर्न सकेका छैनौँ ।’

संस्थाले अत्तरियाको आयोजना कार्यालय धनगढी सार्ने तयारी गरेपछि त्यसको विरोधमा अत्तरियाका स्थानीय आन्दोलनमा उत्रिएका थिए । उनीहरु संस्थानको अत्तरियास्थित कार्यालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गर्नुका साथै कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा समेत केही दिन रोक लगाएका थिए । 

अहिले कार्यालयमा तालाबन्दी भएकाले कर्मचारीहरु कारखानामा बस्ने गरेका छन् । कारखाना भने सञ्चालनमै छ । दुध संकलन तथा दुध र दुग्धजन्य पदार्थको बिक्री वितरण भने रोकिएको छैन ।

व्यवसायमा भइरहेको बढोत्तरीसँगै अत्तरियास्थित कृषि हाटबजारभित्र रहेको कार्यालय र कारखानाका लागि ठाउँ साँघुरो हुन थालेको भन्दै डीडीसीले धनगढी उपमहानगरपालिका–१५, कनरीमा कारखानासहित कार्यालय सार्ने तयारी गरेको थियो । त्यसका लागि उपमहानगरले भवनसहित करिब डेढ विघा जग्गा २५ वर्षका लागि संस्थानलाई लिजमा दिने सम्झौता गरेको छ । 

धनगढी सार्नुअघि अत्तरिया आसपासमा लामो समयसम्म जग्गाको  खोजी गर्दा पनि नपाएपछि केन्द्रले नै धनगढी सार्ने निर्णय गरेको कार्यालय प्रमुख भट्टराइले बताए । स्थानीय बासिन्दा संघर्ष समितिनै गठन गरेर विरोध उत्रिएकाले अत्तरियाबाट संस्थान धनगढी सार्ने काम अहिले रोकिएको छ । दुग्ध संकलन र स्थानीय रोजगारीमा असर पर्ने भएकाले संस्थान सार्न नहुने माग आफूहरु गरेको स्थानीय लोकराज पाण्डेले बताए । संघर्ष समिति संयोजकसमेत रहेका उनले संस्थान नसार्ने प्रतिवद्धता आए तालाबन्दी खोलिदिने बताए ।

स्थानीयले आन्दोलन गरेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले दुग्ध विकास संस्थानका अध्यक्षसँग फोनमा कुरा गरेका थिए । त्यसपछि छलफलका लागि संस्थानका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी अत्तीरया पुगेर संस्थान सार्न गोदावरी नगरपालिकाभित्रै तीन ठाउँमा जग्गा हेरेर फर्किएका छन् । नगरपालिकाले नै उनलाई जग्गा देखाएको हो ।

अत्तरियामा २०६७ सालमा स्थापना भएको कार्यालय अहिले ठाउँको अभाव हुन थालेपछि सार्नु पर्ने अवस्था रहेको संस्थानले जनाएको छ । कृषि थोक बजारको संरचनामा रहेको संस्थानले अहिले मासिक ३८ हजार छ सय रुपैयाँ भाडा तिर्छ ।

भुक्तानीको दायित्व सात करोड
अत्तरियामा रहेको संस्थानले कैलाली, कञ्चनपुर र डडेल्धुराका किसानबाट दुध खरिद गर्दै आएको छ । ती किसानबाट दुध खरिद गरेबापत सात करोड बढी रुपैयाँ भुक्तानी दिन बाँकी रहेको डीडीसी अत्तरियाका प्रमुख भट्टराईले बताए । 

‘पुसदेखिकै भुक्तानी बाँकी छ,’ उनले भने, ‘त्यसमध्ये अहिले एक करोड रुपैयाँ दिनसक्ने अवस्था थियो । तर, तालाबन्दीका कारण रोकिएको छ ।’

डीडीसी अत्तरियाले कैलाली, कञ्चनपुर र डडेल्धुराको आलिताल क्षेत्रबाट सुख्खायाममा दैनिक करिब साढे तीनदेखि चार हजार लिटर र अन्य समय दैनिक करिब सात हजार लिटर दुध संकलन गर्दै आएको छ । 

अहिले यहाँ दैनिक करिब तीन हजार तीन सय लिटर दुध खपत भइरहेको भट्टराइले जानकारी दिए । बिक्री नभएको दुध कार्यालयले हेटौडा र पोखरास्थित दुग्ध विकास आयोजना कार्यालयमा पठाउने गरेको छ । कैलाली, डडेल्धुरा, डोटी, बाजुराका विभिन्न ठाउँमा कार्यालयले दुध, दही, आइसक्र्रिम, मोही, घ्यू, लस्सीलगायत दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको छ । 

प्रतिक्रिया