डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४५ करोड ६६ लाख २० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बोगटान फुड्सिल गाउँपालिकाको १९ औँ गाउँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष बिष्ना देउवा बमले बजेट प्रस्तुत गरेकी हुन्।
कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा लगानी गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, रोजगारीका अवसर सृजना गर्न सिप विकास गर्ने लगायत कार्यलाई बजेटमा प्राथमिकता दिइएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आय ४३ लाख ७१ हजार हुने अनुमान गरेको छ ।
त्यस्तै सङ्घीय सरकारबाट समानिकरण अनुदानतर्फ नौ करोड ३० लाख, राजश्व बाँडफाडतर्फ १० करोड ५७ लाख, शर्शत अनुदानतर्फ २१ करोड ३० लाख रुपैयाँ प्राप्त हुने आँकलन गरिएको छ । सङ्घीय सरकारको समपूरक अनुदानबाट ८८ लाख, प्रदेश सरकारको समानिकरण अनुदानबाट ७६ लाख ७१ हजार प्राप्त हुने अनुमान रहेको उपाध्यक्ष बमले बताइन्।
पालिकामा रहेका राष्ट्रिय खेलाडीलाई सम्मान
गाउँपालिकाले पालिकाभित्रका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । गाउँपालिकाबाट विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका खेलाडी सम्मान गर्ने कार्यक्रम अन्तर्गत गाउँभाको अवसर पारेर सम्मान गरिएको हो ।
बोगटान फुड्सिल गाउँपालिका–१, सिमचौर निवासी राष्ट्रिय भलिबल खेलाडी रमेश बम, कवड्डीका राष्ट्रिय खेलाडी वडा नम्बर ३ निवासी खेम बमलाई गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला, उपाध्यक्ष बिष्ना देउवा बम र प्रमुख प्रशासकीय अधिकृत हेम बोगटीले सम्मान गरेका हुन्।
भलिबलका राष्ट्रिय खेलाडी बमलाई एक लाख ११ हजार १११ रुपैयाँ र कवडीका राष्ट्रिय खेलाडी बमलाई २५ हजार १११ रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र, दोसल्ला र नेपाली टोपीसहित सम्मान गरिएको हो । यसअघि क्रिकेटका राष्ट्रिय खेलाडी लोकेश बमलाई समेत पालिकाले सम्मान गरेको थियो ।
प्रतिक्रिया