ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आज प्रजातन्त्र दिवस, मुख्यमन्त्री शाहद्वारा सहिदस्मारकमा माल्यार्पण

बिहिबार ०७, फागुन २०८२ १०:४४

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को सुखद् अवसरमा चार महान सहीदहरुको स्मारकमा माल्यार्पण गरेका छन् ।

मुख्यमन्त्री शाहले विहिबार धनगढीको सहिद गेट स्थित राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा नागरिक अधिकारको संरक्षणका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने चार महान सहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठप्रति श्रद्धापूर्वक माल्यार्पण गरेका हुन् । माल्यापर्ण कार्यक्रममा सभामुख, मन्त्री, सांसद,  राष्ट्र सेवक कर्मचारी,  नेपाल प्रहरी,  सशस्त्र प्रहरी,  नेपाल आर्मी लगायतको उपस्थिति थियो । 

फागुन ०५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षातामा बसेको विभागीय मन्त्री, राज्यमन्त्री, विभागीय सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेशस्थित चारै सुरक्षा प्रमुखको सहितको बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ भव्यताका साथ मनाउने निर्णय गरेको थियो । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति, २०८२ गठन गरिएको थियो । 

यसअघि राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को सुखद् अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमा २००७ सालको सफल क्रान्तिबाट १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्ष र बलिदानीमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुे सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली गरे । साथै आन्दोलनका क्रममा घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्दै उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

शुभकामना सन्देशमा लोकतन्त्रमा जनता मालिक हुन, लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र नै रहेको उल्लेख गर्दै जेन्जी युवाहरूले उठाएको सुशासन कायम र भ्रष्टाचार अन्त्यको मागसहित भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको उल्लेख गरिएको छ। सन्देशमा भनिएको छ, ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वका लागि निर्वाचन बाहेक अर्को बिकल्प नभएकोले निर्वाचनलाई शान्तिपूर्ण, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु, गराउनु हामी सबैको दायित्व हो ।’

प्रतिक्रिया