धनगढी । कैलालीको धनगढीमा लागुऔषधसहित एक प्रहरी पक्राउ परेका छन् । लागुऔषध ब्यूरो शाखा धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले नेपाल प्रहरीका एक जवानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत २७ वर्षीय प्रहरी जवान चिरञ्जीवी बिसी पक्राउ परेका हुन् ।
उनलाई धनगढी उपमहानगरपालिका- २ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी नजिकै ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको डीएसपी सिंहले बताए । बिसीको घर गोदावरी नगरपालिका- ९ हो ।
केही दिनअघि धनगढीकै त्रिनगर प्रहरी चौकीका एक जवानलाई पनि लागुऔषध सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट लागुऔषध बरामद नभएपछि उनीमाथि भने मुद्दा चलाइएको छैन ।
प्रतिक्रिया