टीकापुर । टीकापुरको सत्तीमा प्रहरीबाट एक महिला कुटिएकी छन् । सत्ती प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक यज्ञराज पन्तले शुक्रबार अपरान्ह महिलालाई कुटपिट गरेका हुन् ।
पन्तले टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । प्रहरीद्वारा महिलामाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले यसबारे छानविन गर्न समिति गठन गरेको छ । त्यस्तै पन्तसहित त्यहाँ कार्यरत दुई जनालाई जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।
स्कुटीको कागजात जाँच गर्ने क्रममा विवाद भएपछि महिलाले तँ भनेको भन्दै प्रहरीले कुटपिट गरेको हो । घटनाक्रम अनुसार महिला स्कुटी चलाएर धनगढीबाट हुलाकी मार्ग हुँदै टीकापुर आइरहेकी थिइन । उनी टीकापुर नगरपालिका–७, स्थित प्रहरी बिट नजिकै रोकिइन । उनीसँग १७ वर्षका प्रेमजंग शाहसमेत थिए ।
महिलाका अनुसार उनी पानी किन्न गइन । नजिकै रहेका प्रहरी हवल्दार सुरेन्द्र बोहराले स्कुटी नजिकै रहेका शाहसँग लाइसेन्स र ब्लुबुक मागे । ती महिलाले लाइसेन्स र ब्लुबुक आफूसँग रहेको बताइन । यही क्रममा प्रहरी हवल्दार बोहरा र ती महिलाबीच भनाभन भयो । महिलाले प्रहरी हवल्दारलाई ‘तँ’ भनेर सम्बोधन गरिन ।
उनीहरुबीच विवाद भएपछि नजिकै रहेका प्रहरी नायब निरीक्षक पन्त आए । उनी प्रहरीको ड्रेसमा थिएनन् ।
महिलाका अनुसार पन्तले आउने बित्तिकै हातपात गरे । आफूमाथि हातपात भएपछि महिलाले उनको परिचय मागिन । उनले आफू प्रहरी भएको बताए । महिलाले डे«समा नभएका कारण प्रहरी नहुन पनि सक्छ भनिन् । पन्तले महिलालाई जबरजस्ती प्रहरी बिट भित्र थुन्न खोजे । यो क्रममा उनीहरुबीच भनाभनसमेत भयो । प्रहरीले महिलालाई कुटपिट गर्दै नियन्त्रणमा राख्यो ।
घटनाका बारेमा इलाका प्रहरी कार्यालय टीकापुरमा जानकारी पुग्यो । उनीहरु दुवै पक्षले राति १२ बजेसम्म छलफल गरे । प्रहरीले हातपात गर्नु गल्ती भएको स्विकारे पनि महिलाले कारवाही हुनुपर्ने माग राखेकी छन् । सत्ती प्रहरीले भने ती महिलाले गालीबेइज्जती गरेकाले घटना भएको जनाएको छ ।
पाँच सदस्यीय छानविन समिति गठन
घटनापछि जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । त्यस्तै प्रहरी नायब निरीक्षक पन्त र हवल्दार बोहरालाई जिल्ला तानिएको छ ।
प्रहरी नायब उपरीक्षक सिंहले कुटपिट गर्नु प्रहरीको गल्ती भएको बताए । ‘स्कुटि बच्चाले चलाएको रहेछ, कागजात चेकजाँच गर्ने क्रममा बच्चाले चलाउनु हुँदैन भनेर सम्झाउन खोज्दा विवाद भएको रहेछ । विवादका क्रममा प्रहरी हवल्दारको मोबाइल पनि खोसेको देखिन्छ’ उनले भने, ‘जे भए पनि कुटपिट हुनु गलत हो ।’
प्रतिक्रिया