ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम : रास्वपाको उभारमा पनि पराजय बेहोरेका यी `चर्चित अनुहार´

आइतबार ०१, चैत २०८२ ०७:५०

धनगढी । सुदूरपश्चिम प्रदेशका मतदाता सितिमिति मत बदल्न नखोज्नेमा पर्छन् । उनीहरूले पछिल्ला निर्वाचनमा वैकल्पिक राजनीति गर्ने भन्दै चुनावमा होमिएका उम्मेदवारलाई रुचाएका थिएनन् । तर, २१ फागुनको निर्वाचनमा सुदूरपश्चिमका मतदाताले मन र मत दुवै फेरिदिए । १६ निर्वाचन क्षेत्र रहेको प्रदेशमा १० सिट (राष्ट्रिय स्वतन्त्र पार्टी) रास्वपालाई जिताइदिए, यहाँका मतदाताले । बाँकी तीनमा कांग्रेस र तीनमा एमाले उम्मेदवार विजयी भए । ९ जिल्ला रहेको सुदूरपश्चिममा चार जिल्लामा रास्वपाले क्लिन स्वीप गर्‍यो ।

कैलाली– १ मा कोमल ज्ञवाली, २ मा केपी खनाल, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र ५ मा आनन्दबहादुर चन्द, कञ्चनपुर– १ मा जनकसिंह धामी, २ मा दीपक बोहरा, ३ मा ज्ञानेन्द्र महता, डडेल्धुरामा डा. ताराप्रसाद जोशी र बैतडीमा हरिमोहन भण्डारी रास्वपाबाट जित्ने उम्मेदवार हुन् ।

विजयीमध्ये कतिपय नामै नसुनेका पनि छन् । कैलाली– ५ मै जित निकालेका आनन्द चन्द मतदातामाझ मात्रै होइन, रास्वपाको नगर, जिल्ला र प्रदेश कमिटीका अधिकांश पदाधिकारी र सदस्यका लागि नयाँ थिए । ‘हाम्रो सिफारिसमा पनि उहाँको नाम थिएन,’ रास्वपा धनगढीका एक संस्थापक सदस्यले भने, ‘तर, पार्टीले उहाँलाई उम्मेदवार बनाइदियो । हामी बाध्य भएर चुनाव प्रचारमा लाग्यौँ । बालेन शाह र रास्वपाको लहरले उहाँलाई मतदाताले फराकिलो अन्तरले जिताइदिए ।’

नामै नसुनेकाको जित हुँदा रास्वपाको लहरमा पनि कतिपय चर्चामा रहने उम्मेदवार भने पराजित भएका छन् । पूर्वाधार र सामाजिक विकासको दृष्टिकोणले देशमै पछाडि रहेको बाजुरा जिल्लाबाट रास्वपा उम्मेदवार थिए, हेमराज थापा । उनी झण्डै एक दशकदेखि बाजुराको अधिकार राजधानीका सडकबाट मागिरहेका छन् । तर, थापा निर्वाचनमा तेस्रो भए । उनले ६ हजार ३५ मत पाउँदा कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मतसहित विजयी भए । दोस्रो भएका एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए ।
‘मबाट ६ हजार ३५ भएका छौँ,’ निर्वाचनमा पराजय भोगेपछि थापाले भने, ‘तपाईं सबै १ लाख ५० हजार बजुरेली मेरो आफ्नै परिवार हुनुहुन्छ । तपाईंको सुखदुःखमा म सधैँ तपाईंहरूसँगै रहनेछु । मलाई तपाईंहरूसँग जोड्न भूमिका खेल्ने सबैलाई मेरो सतसत नमन र हार्दिक धन्यवाद ।’

थापाले बालेन शाह र रवि लामिछानेलाई सम्बोधन गर्दै ‘बाजुराले अब हिजोको जस्तो विभेद भोग्न नपरोस्’ भन्ने शुभकामना दिएका छन् । ‘बजुरेलीका दु:ख बोकेर आउने नै छु,’ उनले भनेका छन्, ‘बाजुराले फेरि पनि विभेद भोगेको थाहा पाए, हिजोका शासकहरूका विरुद्ध लडेको जस्तो लडाइँ माइतीघर मण्डलाबाट लड्ने नै छु ।’

रास्वपाको लहरमा परायज भोग्ने अर्का उम्मेदवार हुन्, भूपदेव शाह । उनी रास्वपाबाट अछाम– २ का उम्मेदवार थिए । विवेकशील साँझाबाट वैकल्पिक राजनीति सुरु गरेका शाह, बालेन शाह काठमाडौं महानगरको मेयर हुँदा उनका स्वकीय थिए । बालेनसँगकै निकटताका कारण भूपदेवको उम्मेदवारी पनि चर्चामा थियो । तर, अछाम– २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी हुँदा ४ हजार ५६२ मत पाएका शाह चौथो भएका छन् । उनलाई जिताउन रास्वपाका वरिष्ठ नेता बालेन शाह अछामस्थित भूपदेवको घरमै पुगेका थिए ।

‘यहाँहरू सबैले देखाउनुभएको माया नै मेरो जित हो,’ शाह भन्छन्, ‘मतमा जित हुन नसके पनि मन हामीले जितिसकेका छौँ ।’ संसदमा नभए पनि अछामको पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवाको भविष्यलगायतका समग्र मुद्दामा सधैँ अग्रपङ्क्तिमा रहेर काम गर्ने उनको भनाइ छ ।


यस्तै, सुदूरपश्चिममा रास्वपाका अन्य चार जना उम्मेदवारले पनि पराजय व्यहोरे । डोटीका नरेन्द्रबहादुर खड्का, बझाङका शैलेन्द्रकुमार सिंह, दार्चुलाका राजेशसिंह सामान्त र अछाम– १ का ओमप्रकाश रावल पराजित भएका छन् । रावलको त जमानत नै जफत भएको छ भने अन्य उम्मेदवार तेस्रो र चौथो भएका छन् ।

१६ मध्ये १० सिटमा रास्वपालाई जिताएका सुदूरपश्चिमवासी भने सचेत नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना खेपिरहेका छन् । रास्वपा पराजित भएको क्षेत्रका बासिन्दा सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेका छन् । तर, पराजित भएका रास्वपाका उम्मेदवारले भने सुदूरपश्चिमका जनता सचेत रहेको भन्दै आलोचना नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया