ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नौ वर्षदखि अलपत्र बैतडीको गोइडाखोला पुल

बिहिबार २८, फागुन २०८२ ०१:५९

बैतडी । नौ वर्षदेखि अलपत्र पाटन–पञ्चेश्वर सडक खण्ड जोड्ने गोइडाखोलाको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

पञ्चेश्वर, शिवनाथ र मेलौली गरी स्वराड क्षेत्रका तीन स्थानीय तह जोड्ने पाटन–पञ्चेश्वर सडकको सुरुवात खण्डमै पर्ने उक्त पुल निर्माणका लागि २०७३ मा ठेक्का सम्झौता भएको थियो । 

खोलामा पुल नहाुदा बर्खाका बेला यातायातका साधन चल्न कठिनाइ हुने गरेको थियो । हिउादमा खोलामा पानी थोरै हुने भएकाले सहज भए पनि बर्खामा खोला बढेका बेला यातायात प्रभावित हुने गरेको थियो ।  

काठमाडौंको रफिना कन्स्ट्रक्सनले २०७४ पुस ११ मा पुल निर्माण सम्पन्न गर्ने गरी २०७३ पुस १२ मा सम्झौता गरेको थियो ।

१५ मिटर लम्बाई भएको दुई लेनको यो पुलको २ करोड ७० लाख ३४ हजार १३१ रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर कपिलप्रसाद पन्तले जानकारी दिए । आउँदो असारसम्म निर्माण सम्पन्न हुने गरी काम भइरहेको इन्जिनियर पन्तले बताए ।

जग्गा मुआब्जा विवादको मुद्दाका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको तर्फबाट जिम्मा लिएका स्थानीय निर्माण व्यवसायी मदनमोहन विष्टले बताए । अहिले मुद्दा गर्नेहरुले फिर्ता लिइसकेकाले निर्माणको काम अपघ बढाएको उनले बताए । 

यो सडक खण्डमा दैनिक एक सय बढी सानाठूला यातायातका साधन ओहोरदोहर गर्ने गर्छन् । खोला बढेका बेला जिप वारपार गराउन नसकेर वारिपारि नै रोकिनुपर्ने अवस्था रहेको यो खण्डका जिप चालक पारस मंगोलाले बताए । 

हाल पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय अन्तर्गत राखिएको छ । यो पुल निर्माणको काम सडक डिभिजन कार्यालयबाट पूर्वाधारमा हस्तान्तरण गर्न अगाडिदेखि निर्माण भइरहेकाले सडक डिभिजन कार्यालयको जिम्मेवारीमा रहेको निमित्त डिभिजन प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।

‘पुल निर्माण गरी कालोपत्र गर्नेदेखि पुलको छेउतिरको रेलिङसम्मको काम गरिने छ,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्र सबै काम सकेर यातायात सहजरुपमा संचालन हुने छ ।’ मुद्दाकै कारण पटक–पटक निर्माणको म्याद थप गरी चालु आर्थिक वर्षको अन्तिमसम्म निर्माण सम्पन्न गर्ने गरी अन्तिम म्याद थप गरिएको डिभिजन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया