बझाङ । बिहीबार साँझ पाँच बजेसम्म बझाङमा ४१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ । विवरण आउने क्रम जारी रहेकाले मतदानको प्रतिशत केही बढ्न सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी बसन्तबहादुर धानुकका अनुसार जिल्लाभरिमा ५२ हजार ११६ मत खसेको जानकारी प्राप्त भैसकेको छ । केही ठाउँमा सम्पर्क हुन नसकेका कारण विवरण अद्यावधी हुन नसकेको उनले बताए । बझाङमा २०८२ सालको निर्वाचनका लागि १ लाख २६ हजार ९०३ मतदाता थिए ।
१३७ वटा मतदानस्थल र १९१ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतले जनाएको छ । निर्वाचन सम्पन्न भएलगत्तै जिल्लाको विकट साइपाल गाउँपालिकाका मत पेटिकाहरु नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको छ भने अन्य मतदान केन्द्रबाट स्थलमार्ग हुँदै बिहिबार रातिसम्म सबै मतपेटिका सदरमुकाम ल्याइने बताइएको छ ।
प्रतिक्रिया