धनगढी । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आज भएको मतदानमा मतदाता सहभागी नभएपछि दार्चुलाका दुई मतदान केन्द्रमा मतदान हुन सकेन ।
स्थानीय मतदाताले मतदान नगरेपछि मतदानका लागिखटिएका कर्मचारी रित्तो मतपेटिका बोकेर फर्किएका छन् । नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे ।
गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनले बताए । यो मतदान केन्द्रमा ६०२ जना मतदाता थिए ।
अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । समानुपातिकतर्फको मात्रै मत लिएर सदरमुकाम फर्किएको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए ।
नागुबासीले एक महिनादेखि नागुमा सडक लगायतका विकास निर्माणको माग राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । नागुबासीलाई फकाउन राजनीतिक दलले सार्वजनिक अपिल, भर्चुअल संवादसमेत गरेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि स्थानीयसँग छलफल गरेका थिए ।
यहाँका स्थानीयलाई बुधबारमात्रै पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले नागु पुगेर छलफल गरेका थिए । तर स्थानीय आफ्नो अडानबाट टसमस भएनन् ।
माघ १ गतेबाटै संघर्ष समिति बनाएर नो भोटका पक्षमा उभिएका नागुबासीले योपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेको कारण मतपेटिका रित्तो फर्काइ दिएको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए । ‘यो नेता र सरकारप्रतीको आक्रोश पोखिएको हो,’ उनले भने ।
यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेबाट नो भोट अभियान चलाएका थिए । ०७४ सालमा भएको वडा विभाजनले वडा नम्बर ३ का अधिकांश वस्तीलाई अपायक ठाउँमा वडा कार्यालय रहेको भन्दै वडा विभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरेका कारण स्थानीय मतदानमा सहभागि नभएको स्थानीय कमलसिह रोकायाले जानकारी दिए ।
यहाँका झुस्कु, चौड, छविस, भट्टार गाउँका मतदाताले भोट नहालेका हुन् । ‘हरेक पाँच वर्षमा हुने पर्व मनाउने तीब्र इच्छा हुँदाहुँदै पनि दैनिकजसो सेवा लिनुपर्ने मुकाम एक बास बस्नुपर्ने पीडाले मत हाल्न मानेन्,’ स्थानीय नरहरि ठेकरले भने ।
प्रतिक्रिया