धनगढी । पहिचानको नाराले पहिलो निर्वाचनमै क्षेत्रीय शक्तिको रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दोस्रो चुनावसम्म पुग्दा तितरबितर भयो । नाउपा थरुहट आन्दोलन र टीकापुर घटनालाई मुद्दा बनाएर पुस २०७८ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । टीकापुर घटनामा दोषी ठहर भएर आममाफी पाएका रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा सो पार्टी दर्ता गराएका थिए ।
पार्टी दर्ताको चार महिनापछि वैशाख २०७९ मा भएको थियो, स्थानीय तह निर्वाचन । उक्त निर्वाचनमा नाउपा कैलालीकै पहिलो दल बन्यो । उसले जिल्लाका १३ स्थानीय तहमध्ये दुई नगरपालिका र दुई गाउँपालिकामा जित निकालेको थियो । त्यसको छ महिनापछि भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि नाउपाले स्थानीय तहको सफलतालाई निरन्तरता दियो । प्रदेशतर्फमा पाँच र प्रतिनिधिसभामा तीन सिट जित्दै कैलालीमा दुवैतर्फ पहिलो दल बनेको थियो । समानुपातिकतर्फ दुई सिट थपिएपछि प्रदेशसभामा चौथो ठूलो दल बन्दै नाउपाको क्षेत्रीय शक्तिका रूपमा उदय भयो । तर, २१ फागुनको निर्वाचन सम्मुखमा पुग्दा नाउपा छिन्नभिन्न अवस्थामा छ ।
अध्यक्ष रञ्जिताले नाउपालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा विलय गराइसकेकी छन् । उनका श्रीमान् रेशमले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामको छुट्टै दल दर्ता गराइसकेका छन् । तर, श्रीमान्श्रीमतीको निर्णयमा असहमति हुँदै नाउपाका नेताहरू भने आधा दर्जन बढी दलमा विभाजित भएका छन् ।
नाउपा नेपालका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि उनले कैलाली–१ मा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीलाई समर्थन गरेका छन् । तत्कालीन नाउपाका नेताहरू रामलाल डगौरा नेपाली कम्युनिस्ट पार्टी, कोमल ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदीप चौधरी उज्यालो नेपालबाट उम्मेदवार छन् । नाउपाकै एक टुक्रा श्रम संस्कृति पार्टीमा गएको छ । श्रम संस्कृति पार्टीबाट सरस्वती चौधरी उम्मेदवार बनेकी छन् । अर्की नेता रूपा चौधरी आम जनता पार्टीबाट उम्मेदवार बनेकी छन् ।
नाउपाका नेता विभाजित हुँदा यसपटकको निर्वाचनमा थारू आन्दोलनका एजेन्डा पनि जनतामाझ उम्मेदवारहरूले दिन सकेका छैनन् । थारू नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरी भन्छन्, ‘पहिलेको मुद्दा थारूवानको थियो, अहिले त्यसको चर्चा छैन ।’ अघिल्लो चुनावका मुद्दामा मत जाहेर गरेका टीकापुरका मतदाता यसपटक छिन्नभिन्न भएको दिलबहादुरले सुनाए । ‘नाउपा विभिन्न भागमा विभाजित भइहाल्यो । त्यसकारण मतदाता पनि तितरबितर भएका छन् र नेताहरू त झनै छन् । कोही बिजुली चिह्नमा गए, कोही चकियामा छन्, कोही ढिकीको पनि कुरा ल्याइराखेका छन् र कोही माटोतिर पनि लागेका छन्,’ उनले भने ।
नाउपा नेपालका संरक्षक रहेका रेशमको यस पटक चकिया चुनाव चिह्न छ । तर उनलाई पहिलेको जस्तो भोट माग्न सहज अवस्था छैन । कैलाली–१ मा पर्छ टीकापुर । यहाँ उनले उम्मेदवारी दिएका थिए । सर्वोच्च अदालतबाट फौजदारी अभियोगमा सजाय पाएकाले उनको उम्मेदवारी रद्द भयो । उनले यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीलाई समर्थन गरेका छन् । निर्वाचनको मतपरिणामले अब रेशमको प्रभाव आकलन हुने अगुवा दिलबहादुर बताउँछन् ।
टीकापुरमा सक्रिय नागरिक समाजका अगुवा फिरुलाल चौधरी नाउपाको नेतृत्व पार्टी उद्देश्यबाट विमुख भएपछि थारू पहिचानका लागि भएको आन्दोलन नै ओझेलमा परेको बताउँछन् । उनका अनुसार अहिले थारूहरू चार राजनीतिक दलतिर बाँडिएका छन् ।
रेशमको भरोसाले भोट हालेको तर मतदाताले आस गरेजस्तो काम नभएको नयाँ लाइफपुर सुकुम्बासी बस्तीकी सोमी चौधरीले बताइन् । कैलाली–१ को कृषि क्याम्पसछेउको सुकुम्बासी शिविरकी उनले भनिन्, ‘रेशमदाइको भरोसाले हामीले भोट हालेका थियौं । तर, तिनको पार्टी र सत्ता नै गयो ।’
प्रतिक्रिया