धनगढी । स्वदेश फर्किने क्रममा कैलालीको त्रिनगर नाकामा भेटिए, अछामको मंगलसेन नगरपालिका–१३ का झुमाकान्छा ढुंगाना । भारतमा मजदुरी गर्दै आएका उनी, प्राय दसैँ–तिहारमा मात्रै घर फर्किन्थे । यसपटक घर फर्किनुको कारण भने छुट्टै थियो ।
उनी मताधिकार प्रयोगका लागि अछाम जाने तयारीमा थिए । ‘हाम्रो मतले परिवर्तन हुन्छ भन्ने आश बोकेर २५–३० जनाको समूह बनाएर अछाम गइरहेका छौं,’ ढुंगानाले भने, ‘देशको अवस्था फेरिने आशले आधा महिना ड्युटी छोड्न तयार भएका हौं ।’
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि स्वदेशमै रोजगारीको वातावरण बनोस् भन्ने चाहना उनको छ । पुराना दलप्रति रुष्ट देखिएका ढुंगानाले भने, ‘आफ्नै देशमा काम गर्ने वातावरण बन्नुप¥यो । अरु चाहिदैन ।’
मतदानकै लागि भारतको दिल्लीबाट डोटीस्थित घर फर्किरहेका दिनेश खड्का यसपटकको निर्वाचनपछि देशको अवस्था पनि फेरिने आशमा छन् । ‘पटकपटक व्यवस्था मात्रै फेरियो,’ उनी भन्छन्, ‘यसपटक चुनिने नेताहरुले हाम्रो अवस्था पनि फेर्नेछन् भन्ने आश छ ।’ भारतमा पाइने जत्तिको काम आफ्नै गाउँठाउँमा गर्ने वातावरण बन्नुपर्ने खड्काको तर्क छ । नाकामै भेटिएका कैलालीको गोदावरी नगरपालिका–३ का प्रेम भण्डारीले अब बन्ने सरकारले मुलुकमै रोजगार सृजना गर्नुपर्ने बताए । ‘भोट खसाल्नकै लागि घर फर्किरहेको छु,’ उनले भने, ‘चुनावपछि बन्ने सरकारले रोजगार सृजना गरोस् ।’
२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै गर्दा मताधिकार प्रयोग गर्न भारतमा रहेका नेपालीहरु धमाधम स्वदेश फर्किन लागेका हुन् । उनीहरुमध्ये अधिकांशले रोजीरोटीको जोहो गर्न बाध्यताले भारत जानु परेको भन्दै मुलुकमा अवस्था परिवर्तनको आशा बोकेर फर्किरहेको बताएका छन् ।
चुनावको मुखमा भारत पस्नेहरु भन्छन्– भोटले चुल्हो बल्दैन
त्रिनगर–गौरीफन्टा नाकामा एकातिर स्वदेश फर्किनेको लाइन छ भने अर्कोतर्फ भारत पस्नेहरु पनि कम देखिन्नन् । भारत जानेकै लाइनमा थिए, कैलालीका रविन्द्र चौधरी ।
‘बालबच्चा पाल्न पैसा चाहियो,’ उनले गुनासो गर्दै भने, ‘भोटले चुल्हो बल्दैन ।’ मतदानअघि भारत गइरहेका उनले अब बन्ने सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने माग भने राखे । भारत पस्नेकै भिडमा थिए, बझाङका धनबहादुर बोहरा ।
उनमा नेताहरुले काम नै गर्न नसकेको गुनासो थियो । ‘चुनावले रोजगारी दिन्छ भन्ने भरोसा छैन,’ उनले भने ।
कैलालीको फूलबारीका सचिन चौधरीले चुनावी एजेन्डाअनुसार नेताहरुले कहिल्यै काम नगरेको गुनासो गर्दै आश मरिसकेको बताए । ‘पटकपटक भोट हालेकै हो, विगतका चुनावी वाचा कहिल्यै कार्यान्वन भएनन्,’ उनले भने, ‘भोट मात्रै हालेर केही होला जस्तो नलागेपछि चुनावको मुखमा भारत जान बाध्य भएको हुँ ।’
नाकामै भेटिए, बाजुराका लालबहादुर थापा । उनी विगतमा पनि भारतको कर्नाटकमा सुरक्षा गार्डको काम गर्थे । ‘देशमा चुनाव लागेको त जानकारीमा छ,’ उनले भने, ‘तर, हामीले यहाँ बसेर आधारभुत आवश्यकता पनि पूर्ती गर्नसक्ने अवस्था छैन । बाध्य भएर भारत गइरहेको छु ।’
प्रतिक्रिया