धनगढी । प्रतिनिधिसभा निर्वाचनका पाँच दिन मात्रै बाकी छन् । १८ गतेको मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले दलहरु मतदान रिझाउन व्यस्त छन् । कञ्चनपुरको क्षेत्र नंं १ मा पनि चुनावी माहोल गर्माएको छ । उक्त क्षेत्रमा अहिले प्रमुख चार पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
नेकपाबाट बिना मगर, एमालेबाट अघिल्लोपटक कांग्रेस-माओवादीबीच गठबन्धन हुँदा पनि जित निकाल्न सफल भएका तारा लामा तामाङ उम्मेदवार छन् । कांग्रेसबाट विशेष महाधिवेशनपक्षधर गोपी उपाध्याय उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक धामी उम्मेदवार बनेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मगर गत चुनावमा भोगेको पराजयको बदला लिने गरी प्रचारप्रसारमा लागेकी छन् । उनको उम्मेदवारीलाई लिएर विभिन्न टिकाटिप्पणी पनि हुने गरेका छन् ।
नेकपाको संयोजक पुष्पकमल दाहाल प्रचण्डको बुहारी भएका कारण नै सधैँ अवसर पाउने गरेको आरोप उनलाई लाग्ने गर्छ । तर, मगरले प्रचण्डको बुहारी भएर मात्र टिकट नपाएको नेकपा कञ्चनपुरका नेता बताउँछन् । उनलाई माओवादीले पहिलोपटक २०७० सालमा कञ्चनपुर १ मा टिकट दिएको थियो । उनी पहिलोपटकको चुनावमा पराजित भइन् । २०७४ सालमा एमाले माओवादीको गठबन्धनमा उनी विजयी भइन् । उनले ३८ हजार ४६७ मत पाएर विजयी भइन् । त्यसपछि खानेपानीमन्त्री बनिन् ।२०७९ सालको चुनावमा उनी कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् । तर, पराजित भइन् ।
पूर्वमाओवादीका चार जना चुनावी मैदानमा थिए । तर, प्रलोपाले नेकपालाई समर्थन गरेपछि नेकपा माओवादीका पुरान राना र स्वतन्त्र यादव सिंह भने चुनावी मैदानमा छन् । रास्वपा उम्मेदवार धामी स्थानीय तहको चुनावसम्म नेपाली कांग्रेसमा थिए । धामी कांग्रेसको जिल्ला समिति सदस्य, महाधिवेशन प्रतिनिधि पनि थिए । स्थानीय तहको चुनावमा बेलडाँडी गाउँपालिकाबाट टिकटको दाबेदार थिए । तर, टिकट नपाएपछि रास्वपामा गएका हुन् ।
तामाङले कांग्रेस–माओवादीको गठबन्धनमा बिना मगरलाई हराएका थिए । तर, योपटक एमालेले पहिला केन्द्रीय सदस्य कमला बोहरालाई टिकट दिएको थियो । त्यसपछि उनीबाट टिकट खोसेर तामाङलाई दिएको हो । त्यसको असर एमालेमा बाह्य रूपमा नदेखिए पनि आन्तरिक रूपमा पर्नेछ ।
कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवापक्ष र विशेष महाधिवेशनपक्षधरबीच आन्तरिक कलह छ । त्यसको असर कञ्चनपुर १ मा पनि देखिन्छ । देउवापक्षका कैयौँ नेता कार्यकर्ता अहिले पनि खुल्ला रूपमा चुनावी अभियानमा नखटेको चर्चा हुने गरेको छ । कांग्रेस–एमालेभित्रको आन्तरिक विवादको फाइदा लिने दाउमा बिना छन् । रास्वपाको संगठन बलियो नभएको र कांग्रेस–एमाले असन्तुष्टहरूको केन्द्र बनेकाले त्यसको फाइदा आफ्नो पार्टीलाई हुने नेकपाका नेताहरू बताउँछन् ।
प्रतिक्रिया