तेहरान । इरानमा भएका पछिल्ला आक्रमणहरूमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित करिब ४० जना उच्च पदस्थ इरानी अधिकारीहरू मारिएको बीबीसीको सञ्चार साझेदार संस्था 'सिबिएस न्युज' ले दाबी गरेको छ ।
गुप्तचर र सैन्य स्रोतहरूलाई उद्धृत गर्दै सिबिएसले जनाए अनुसार मारिनेहरूमा इरानको शक्तिशाली सैन्य संगठन 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स'का कमाण्डर र देशका रक्षा मन्त्री समेत रहेका छन्।
ती अधिकारीहरू एउटै स्थानमा रहेका बेला मारिएका हुन् वा विभिन्न स्थानमा भएका अलग-अलग आक्रमणमा परेका हुन् भन्ने कुरा भने अझै स्पष्ट हुन सकेको छैन।
विश्वभर इरानी सर्वोच्च नेता खामेनीको मृत्युका समाचारहरू व्यापक रूपमा फैलिरहेका भए पनि इरान सरकारले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी नै छ।
इरानी सरकारी सञ्चारमाध्यम र अधिकारीहरूले यसअघि यस्ता समाचारहरूलाई 'शत्रुको मनोवैज्ञानिक प्रचार' भन्दै खण्डन गर्दै आएका छन् । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने आफ्ना स्रोतका आधारमा खामेनीको मृत्यु भइसकेको दाबी गरिरहेका छन्।
प्रतिक्रिया