ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा निर्वाचनका लागि सुरक्षा जनशक्ति परिचालन, मतदान केन्द्रमा सिसी क्यामेरा

शनिबार ०९, फागुन २०८२ १०:१७

धनगढी । सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई लक्षित गरेर निर्वाचन क्षेत्रहरूमा सुरक्षा जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र सेना परिचालन गर्न लागिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशका नौवटै जिल्लामा सात हजार बढी प्रहरी र नेपाल प्रहरीमातहत १३ हजार ६६९ जना निर्वाचन प्रहरी परिचालन गर्न थालिएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रमा परिचालन हुने जनशक्ति तोकिएको छ । एक निर्वाचनस्थल भएका सामान्य मतदान केन्द्रमा तीनजना प्रहरी र पाँचजना निर्वाचन प्रहरी, संवेदनशील केन्द्रमा तीन प्रहरी र ६ निर्वाचन प्रहरी तथा अतिसंवेदनशील केन्द्रमा तीन प्रहरी र १० जना निर्वाचन प्रहरी खटिँदै छन् । थप मतदानस्थलमा प्रतिमतदान केन्द्र दुई–दुईजनाका दरले जनशक्ति खटिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा एक हजार १७६ वटा मतदान स्थल र दुई हजार १९९ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये चार सय ८१ स्थललाई सुरक्षाका दृष्टिले अतिसंवेदनशीलको सूचीमा राखिएको प्रवक्ता विष्टले बताए । त्यस्तै, सात सय ५७ वटा स्थललाई संवेदनशील र नौ सय ८६ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखेर सुरक्षा प्रबन्ध गरिएको छ ।

यस्तै अतिसंवेदनशीलसहित चार सय ४५ मतदानस्थलमा नेपाल प्रहरीले सिसी क्यामेराबाट निगरानी गर्ने जनाइएको छ ।निर्वाचनका बेला गाउँपालिका र नगरपालिकामा दुई–दुई तथा उपमहानगरमा तीनवटा ‘मोबाइल’ गस्ती टोली पनि परिचालन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको छुट्टै दुईवटा मोबाइल टोली परिचालन हुनेछन् । आकस्मिक अवस्थाका लागि हेलिकोप्टरसमेत तयारी अवस्थामा राख्ने गरी केन्द्रमा कुरा भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया