ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशमा ढुवानी भइसक्यो मतपत्रसहित निर्वाचन सामग्री

शनिबार ०९, फागुन २०८२ ०७:४८

निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्रसहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ ।

अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ ।

आयोगले गत २९ माघदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो । त्यसपछि आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र ढुवानी गरेको थियो ।

यस्तै, बागमतीसहित र अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी गरिरहेको छ । आयोगले अन्य प्रदेशमा ढुवानीकार्य जारी रहेको जानकारी दिँदै राजधानी काठमाडौंभित्रका मतदान केन्द्रमा पनि केही दिनमा पुर्‍याइने जनाएको छ ।

आयोगले मतपत्रबाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको उल्लेख गरेको छ । निर्वाचनका लागि विभिन्न ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेन्डरअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत २२ पुसबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । आयोगले १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेको थियो ।

यस्तै, गत २६ पुसबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी गत १३ माघसम्म सम्पन्न गरेको छ ।

समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरेको थियो । रासस

प्रतिक्रिया