ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा उद्योगलाई ३१ करोड बढी अनुदान, के भयो उपलब्धि ?

बिहिबार २४, पुष २०८२ १०:३६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ सम्म प्रदेशमा रहेका उद्योगहरुलाई सवा ३१ करोडभन्दा बढी रकम अनुदान वितरण गरेको छ । प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरुले प्रदेशका ६३४ वटा उद्योगहरुलाई ३१ करोड २९ लाख ५५ हजार ८२७ रुपैयाँ अनुदान वितरण गरेका हुन् । 

निर्देशनालयका अनुसार उक्त अनुदान आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म अनुदान वितरण गरिएको थियो । यो चार वर्षको अवधिमा प्रविधि हस्तान्तरण, महिलाद्वारा सञ्चालित उद्योगलाई प्रविधि सहयोग, एक जिल्ला एक उद्योग प्रबद्र्धन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रबद्र्धन लगायतका लोकप्रिय कार्यक्रमहरुमार्फत् सो अनुदान वितरण गरिएको निर्देशनालयकी सूचना अधिकारी यशोदा बोहराले बताइन् । उनले निर्देशनालयमा उद्योगहरुलाई अनुदानका धेरै कार्यक्रमहरु आएको भएपनि अधिकांश कार्यान्वयन हुन नसकेको बताइन् । 

यसवर्ष उद्योगलाई सहयोग गर्ने कार्यक्रम कार्यान्वयनमा गइसकेको छैन । निर्देशनालय र मातहतका घरेलु तथा साना उद्योग कार्यालयहरुले प्रविधि र नगदै अनुदान वितरण गर्दै आएका छन् ।

करोडौं रकम निजी उद्योगहरुलाई हस्तान्तरण भए पनि ती अनुदान वितरणबाट औद्योगिक क्षेत्रमा के कति उपलब्धि भयो भन्ने विषयमा अध्ययन वा अनुगमन दुबै भएको छैन । प्रदेश सरकारले प्रकाशन गर्ने कुनै पनि प्रतिवेदनहरुमा उद्योगलाई दिएको अनुदानहरुको उपलब्धिको विषयमा उल्लेख गरिएका छैनन् । 

निर्देशनालयका निर्देशक हेमन्त सिंहका अनुसार अनुदान लिएका उद्योगहरुलाई खासै अनुगमन गरिएको छैन । यद्यपी, संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गरिरहेको उनले बताए । बजार अनुगमन र वितरित अनुदानको अनुगमन छुट्टा–छुट्टै विषय भएको हुँदा बजार अनुगनको समयमा अनुदान वितरणको सवालमा अनुगमन नहुने उनले बताए ।
 

प्रतिक्रिया