धनगढी । अत्तरियाको सुन्दर सुदूरपश्चिम कृषि सहकारी संस्थाकी व्यवस्थापक उषा विष्टले शिक्षा संकायबाट स्नातक गरेकी छन् । उनीसंग लेखा सम्बन्धी शैक्षिक योग्यता छैन तर छ वर्षदेखि सहकारी व्यवस्थापकको काम कुशलतापूर्वक गरिरहेकी छन् । स्थानीय तह, प्रदेश सरकार र विभिन्न संघसंस्थाले आयोजना गरेको सहकारी व्यवस्थापन तथा लेखा तालिमले उनलाई पोख्त बनाएको छ । ‘मैलै शिक्षामा स्नातक गरेकी हुँ,’ उनले भनिन्, ‘नगरपालिका र प्रदेशले आयोजना गर्ने दुईदेखि सात दिनसम्मको कोपोमिस, लेखा तथा सहकारी व्यवस्थापन तालिममा सहकारी भएकी छु ।’
चौमालाको दीपशिखा कृषि सहकारी संस्थाकी व्यवस्थापक फूलकुमारी रानाले पनि प्राप्त तालिमकै आधारमा सहकारी व्यवस्थापन गर्दै आएकी छन् । सहकारी व्यवस्थापनमा लाग्दा उनीसंग पनि तालिम र लेखा सम्बन्धी शिक्षा थिएन । ‘नगरपालिका, प्रदेश र गैरसरकारी संस्थाले दिएको तालिमबाट लेखा र सहकारी व्यवस्थापन सम्बन्धी ज्ञानसीप प्राप्त भयो,’ उनले भनिन्, ‘शुरुशुरु व्यवस्थापक भने पनि फिल्डमा गएर शेयर सदस्यहरुलाई भेट्ने र बचत संकलन गर्ने गरेको थिए । विस्तारै अनुभव हुँदै गएपछि अफिसमै बसेर लेखा र सहकारी व्यवस्थापन गर्न थाले ।’
सुदूरपश्चिम प्रदेशको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले स्थापना भएदेखि हालसम्म प्रदेशका तीन सय भन्दा बढि सहकारीका व्यवस्थापक तथा सञ्चालकहरुलाई सहकारी व्यवस्थापन, लेखा तथा कोपोमिस सम्बन्धी तालीम दिएको जनाएको छ । ‘२०७७ मा सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय स्थापना भयो,’ सहकारी रजिष्ट्रार गणेशसिंह ऐरीले भने, ‘हालसम्म तीन सय भन्दा बढि सहकारीलाई प्रशिक्षण दिइएको छ । तथ्यांक जति सबै जेनजी आन्दोलनमा जलेको छ । नजलेको भए एकीन तथ्यांक पनि दिन सकिन्थ्यो । हामीले प्रदेशमा दर्ता रहेका सहकारी र स्थानीय तहमा रहेका सहकारीहरुलाई सहकारी व्यवस्थापन, लेखा व्यवस्थापन तथा वित्तीय विश्लेषण तालिम दिएका छौं । सहकारीका सञ्चालकहरुलाई नेतृत्व विकास तथा कोपोमिस सम्बन्धी तालिम दिएका छौं । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सहकारी अनुगमन तथा नियमन तालिम दिएका छौं र केही व्यक्तिहरुलाई सहकारी प्रशिक्षक प्रशिक्षण तालिम पनि दिएका छौं ।’
गोदावरी नगरपालिकाले वार्षिक २÷३ वटा सहकारी सम्बन्धी तालिम दिने गरेको जनाएको छ । सहकारी शाखाका प्रमुख दिव्यराज जोशीले सहकारीले पालिकामा रहेका ४० वटै सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुलाई पुग्ने गरी तालिम सञ्चालन भएको बताए ।
धनगढी उपमहानगरपालिकाले भने गतआर्थिक वर्षमा सहकारी प्रशिक्षणका लागि बजेट विनियोजन भएपनि तालिम सञ्चालन हुन नसकेको जनाएको छ । ‘अघिल्लो वर्ष तालिम चलाइएको थियौं तर गतवर्ष तालिम हुन सकेन,’ रोजगार तथा सहकारी शाखा प्रमुख चन्द्रबहादुर महराले भने, ‘गतवर्ष बजेट र कार्यक्रम पनि थियो । तर जनशक्ति नभएको कारणले तालिम सञ्चालन गर्न सकिएन । यसपाली पनि बजेट र कार्यक्रम छ । यसपाली तालिम चलाइन्छ ।’
प्रतिक्रिया