ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आन्तरिक पर्यटकले भरिभराउ छन् कैलालीका ‘पिकनिक स्पट’

आइतबार २३, कार्तिक २०८२ १०:५०

धनगढी । हिउँद लागेसंगै पिकनिक खान जाने लहर चलेको छ । हरेक वर्ष जस्तै यसवर्ष पनि कैलालीका पर्यटकीय क्षेत्र तथा पिकनिक स्पटहरु आन्तरिक पर्यटकले भरिभराउ हुन थालेका छन् ।

गर्मी सकिएर सामान्य मौसम भएको र धेरै चिसो पनि नभएको बेला हरेक वर्ष कैलालीमा पिकनिक खान जानेको लर्को हुन्छ । विशेष गरेर बिदाको दिन पारेर कैलालीको गोदावरी धाम, जाखोर ताल, चन्द्रमुखी ताल, घोडाघोडी, हाटखोली, कोइलही ताल, भल्का, टीकापुर पार्क, चिसापानी लगायतका ताल तलैया तथा नदीको तट तथा झोलुंगे पुल भएको ठाउँहरु पिननिक खाने र घुम्न जानेहरुले भरिभराउ हुन्छ ।

ती पर्यटकीय क्षेत्रहरुमा शनिबार मात्रै दर्जनौ समूहहरु पिकनिक खान पुगेका हुन्छन् भने पिकनिक खान नभए पनि घुम्न मात्रै जानेहरुको उत्तिकै संख्यामा उपस्थिति हुन्छ । पछिल्लो समयमा कैलालीको टीकापुर पार्क, घोडाघोडी ताल, चिसापानी लगायतका क्षेत्रमा छिमेकी जिल्लाहरुबाट समेत घुम्न र पिकनिक खान आउनेहरु बढेका छन् । उनीहरुले प्राकृतिक विविधता भएको घोडाघोडी र ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिएको टीकापुर पार्क हेर्नका लागि समय निकालेर आउने गरेको छन् ।

घोडाघोडी तालको वरिपरी ट्रेल बनाउनका साथै पिकनिक स्पट पनि बनाइएको छ भने टीकापुर पार्कमा समेत पिकनिक स्पट छुट्टै बनाइएको छ । तिहारमा देउसी भैलोको खेलेर जम्मा भएको पैसाले पिकनिक खान जानेहरुको कैलालीबाट जिल्लाकै पर्यटकीय क्षेत्रमा जानुका साथै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने ठाकुरद्वारासम्म जाने गरेका छन् । ‘बिदाको अवसर पारेर साथीहरुसंग रमाइलो गर्न र पिकनिक खान आएका छौं,’ घोडाघोडीमा पिकनिक खान धनगढीबाट पुगेका राजेन्द्र चौधरीले भने, ‘घोडाघोडी साँच्चै घुम्न रमाइलो हुने ठाउँ भएको छ ।’ उनले तिहारमा साथीहरुसंग देउसी खेलेको रकम जोगाएर पिकनिक आएको बताए । 

पिकनिक र घुम्नका लागि धनगढीको जोखर ताल हाललाई बन्द गरिएको भए पनि नजिकै रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिन थालेको छ । धनगढी उपमहानगरपालिका–७ को मनहेरा सामुदायिक वनमा रहेको सो तालमा पर्यटन पूर्वाधारहरु निर्माण गरिएपनि दैनिक जसो घुम्न र टीकटक बनाउन आउनेहरुको भिडभाड हुने गरेको स्थानीय रामनारायण रानाले बताए ।
 

प्रतिक्रिया