ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नीति बनाउँछौं , थिति बसाल्छौं र कैलाली-५ को मुहार फेर्छौं : चन्द

बुधबार ०६, फागुन २०८२ ०५:१९

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कैलाली- ५ का उम्मेदवार आनन्दबहादुर चन्दले आफ्नो क्षेत्रको मुहार फेर्ने बताएका छन् । धनगढीमा आयोजित परिवर्तन उद्घोष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

`देश समृद्ध बनाउने नीति बनाउँछौं, सेवा लिँदा सास्ती नहुने थिति बसाल्छौं र कैलाली-५ को मुहार परिवर्तन गर्छौं,´ उनले भने ।

यस्तो छ चन्दको सम्बोधन
आदरणीय सभापति रवि लामिछानेज्यू,
वरिष्ठ नेता बालेन शाहज्यू,
पार्टीका सम्पूर्ण साथीहरू,
र उपस्थित महान जनसमुदायलाई मेरो हार्दिक नमस्कार ! जय घन्टी !
बाँकावीरले सुदूरपश्चिमबाटै न्यायको बिगुल फुके,
भीमदत्त पन्तले यहीँबाट समानताको सङ्खघोष गरे,
दशरथ चन्दले यही भूमिबाट राणा शासनको आसन हल्लाए,
र परिवर्तनका लागि यही भूमिका गौरव जोशीहरूले आफ्नो रगत बगाए।
त्यसैले आज हामीले पनि यही ऐतिहासिक भूमिबाट परिवर्तनको उद्घोष थालेका छौँ।
 

धनगढीबाटै यो उद्घोष सभाको आयोजना यसकारण गरिएको हो,
किनकि यो चेतनाको भूमि हो, जागरणको भूमि हो।
जब–जब धनगढी जागेको छ,
तब–तब अन्याय, अत्याचार र भ्रष्टाचारको जरो-किलो हल्लाएको छ।
आज धनगढी वेथितिको जरो उखेल्न तयार छ।
जनता परिवर्तनको घण्टी बजाउन आतुर छन्, र जनताको त्यही अठोटको सारथी बन्न म यस क्षेत्रबाट उम्मेदवार बनेको छु।
म तपाईंहरूलाई आग्रह गर्छु—
 

तपाईं परिवर्तनको सारथी बन्नुहोस्, म विकासको नेतृत्व गर्न तयार छु।
किनकि विकासका लागि हामीसँग स्पष्ट भिजन, योजना र इच्छाशक्ति छ।
 

कैलाली–५ सुदूरपश्चिम प्रदेशको प्रशासनिक राजधानी मात्र होइन, आर्थिक केन्द्र पनि हो।
यहाँ लिइने निर्णयले सिंगो प्रदेश प्रभावित पार्छ, 
त्यसैले अब सामान्य सोच होइन— ठूलो दृष्टिकोण चाहिन्छ।
दृष्टकोणको कुरा किन गरिरहेको छु  भने तपाईंहरूले एकातिर गेटामा वर्षौँदेखि अलपत्र भवनहरू देख्नुभएको छ।
अर्कोतिर सेती अस्पतालमा आइसियुदेखि बेडसम्मको अभाव पनि देख्नुभएको छ।
 

एकातिर संरचना खाली, अर्कोतिर बिरामी छटपटाउने— यस्तो अवस्थाको अन्त्य हामी मात्रै गर्न सक्छौं । गेटामा मेडिकल शिक्षा सञ्चालन गरेर र सेती अस्पताललाई सुदृढ बनाउँदै जनशक्ति र उपचार दुवै समस्या समाधान गर्ने हाम्रो स्पष्ट योजना छ। जुन हाम्रो वाचापत्रमा प्रस्ट लेखेका छौं ।
आदरणीय जनसमुदाय
आज मेरो क्षेत्रका धेरै दाजुभाइ दिदिबहिनी महंगो उपचार खर्चले रोग पालेर बस्न बाध्य छन्। उपचारको खर्च तिर्नका लागि घरखेत बेच्नुपर्ने अवस्था छ।
 

त्यसका लागि स्वास्थ्यबीमा प्रभावकारी बनाउनैपर्छ । कसरी प्रभावकारी बनाउने त्यो निति र विधि हामी बनाउँछौं । वाचा गर्छु- बनाएरै छाड्छौं ।
 

मेरो क्षेत्रमा सिकलसेल ठूलो समस्या हो। गाउँस्तरमै नियमित सिकलसेल स्क्रिनिङ तथा चेतना अभियान सञ्चालन गर्नैपर्छ । उपचारका लागि अहिलेको सरकारले दिँदै आएको १ लाख रुपैयाँले पुग्दैन । बढाउनुपर्छ। मेरो पहल रहनेछ। 
 

हाम्रो शिक्षाको कुरा गर्दा  प्राथमिक तहमा  भर्ना भएकामध्ये ३० प्रतिशत भन्दा कम बिद्यार्थीले प्लस टू पास गर्छन्। यसको अर्थ— हाम्रो युवा पुस्ता सीप बिहिन छ । उनीहरुलाई सीप सिकाएर दक्ष बनाउनुपर्नेछ ।
 

जो पढेका छन्, उनीहरु पनि बेरोजगार छन्। त्यसैले अब सर्टिफिकेट दिने शिक्षा होइन, रोजगारी दिने शिक्षा आवश्यक छ।
विश्व बदलिइसकेको छ। एआई, मेसिन लर्निङ, सफ्टवेयर, फिनटेक, डेटा र साइबर सेक्युरिटी क्षेत्रमा माग बढिरहेको छ। त्यस्ता विषय यही धनगढीमा पढ्ने अवस्था सृजना गर्नुपर्छ ।
युवाको कुरा गर्दा खेलकुद पनि जोडिन्छ।
 

सुदूरपश्चिमका लागि क्रिकेट एउटा खेल मात्रै होइन,  गौरव, भावना र पहिचान हो । तर फाप्ला स्टेडियम वर्षौँदेखि सपना मात्रै छ।
फाप्लालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बहुउद्देश्यीय स्टेडियमका रूपमा निर्माण गरी खेल पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्छ।
 

यसलाई सिंगो सुदूरपश्चिमको साझा गौरव परियोजनाका रूपमा अघि बढाउनुपर्नेछ। यहाँ उपस्थित सुदूरपश्चिमका सवै क्षेत्रका उम्मेदवारसँग फाप्ला बनाउने कुरामा एकमत हुन आग्रह गर्दछु र भावी प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेज्यूको विशेष ध्यान आकृष्ट गराउन चाहन्छु ।
 

अब युवाले रोजगारी खोज्दै विदेशिने होइन, रोजगारी यहीँ सिर्जना हुने वातावरण बनाउनुपर्छ।यस क्षेत्रलाई सुदूरपश्चिमको औद्योगिक केन्द्रका रूपमा विकास गर्ने हामीले योजना बनाएका छौं ।
 

बेरोजगारीकै कारण हाम्रा युवाहरु कुलततर्फ धकेलिँदै छन्। लागु औषध अहिले हाम्रो क्षेत्रको पनि समस्याको विषय बनेको छ । त्यसका लागि हामीले विशेष कार्यक्रम ल्याउने योजना अघि सारेका छौं ।
पर्यटन विकासका लागि हामीसँग अमूल्य सम्पदा छन्। यहाँ पनि शिवपुरी धाम, बेहडाबाबा लगायत छन्।  चिनसम्म जोड्ने सडक सञ्जाल विस्तार गरेर पर्यटनबाट लाभ लिने योजना पनि हामीले अघि सारेका छौं ।
 

कैलाली–५ मा रहेको थारु समुदायको संस्कृति, परम्परा, खानपान र जीवनशैली आफैंमा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षण बन्ने हामीले देखेका छौं।
 

र हाम्रो अर्थतन्त्रको मेरुदण्ड— कृषि हो।  कृर्षिलाई आधुनिकीकरण गर्नुपर्नेछ। तर हामी मलबिउमा अल्झिएका छौं । हामीले दुख गरेर लगाएको बालीको उचित मूल्य पाएका छैनौं । अब हामी यो अवस्था  बदल्छौं । समयमै मलबिउ दिन्छौं, किसानलाई विचौलियाबाट ठगिन नदिन राज्यले पहिल्यै मूल्य तोक्ने व्यवस्था गर्छौं ।
 

हामी धनगढीलाई आर्थिक विकासबाट धनको गढ बनाउन चाहन्छौं । भौतिक विकासबाट धनगढी उपमहानगरलाई नमूना सहर बनाउँछौं । कैलाली-५ हरेक दृष्टिबाट देशकै नमूना निर्वाचन क्षेत्र बनाउछौं ।
आदरणीय दाजुभाइ दिदिबहिनीहरु,
हामी अवस्था बदल्ने संकल्प लिएर आएका छौँ।
देश/विदेशबाट प्राप्त ज्ञान, अनुभव र सिकाइको प्रयोगबाट
देश समृद्ध बनाउने नीति बनाउँछौं
सेवा लिँदा सास्ती नहुने थिति बसाल्छौं
र कैलाली-५ को मुहार परिवर्तन गर्छौं ।
 

परिवर्तनको उद्घोष सभाको सूरुवा धनगढीबाट गरिदिन गरिएको आग्रह स्वीकार्नुभएकोमा आदरणीय नेताहरुप्रति आभार प्रकट गर्न चाहन्छु । रास्वपाले सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको संकेत  पनि हो यो । भावी प्रधानमन्त्रीले सुदूर अब दूर नाइ भन्नुभएको छ । सायद बजेट र योजनाका लागि यसअघिका शासकले जस्तै दूर नराख्ने भन्नुभएको होला । त्यसका  लागि हामी सुदूरपश्चिमबासीको तर्फबाट दुवै आदरणीय नेतारुलाई झिक्कै झिक्कै माया तम्लाइ भन्दै बिदा हुन चाहन्छू । धन्यवाद । जयघन्टी ।

प्रतिक्रिया