ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली प्रशासनले चाडपर्व मनाउँदा यी गतिविधि नगर्न गर्‍यो अनुरोध

शनिबार ११, असोज २०८२ ०९:०७

धनगढी । कैलालीमा चाडपर्व मनाउँदा अपनाउनुपर्ने सावधानीका विषयमा स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ । चाडपर्व मनाउने क्रममा हुनसक्ने अवाञ्छित कार्यहरु नियन्त्रण गरी सभ्य, सुरक्षित, मर्यादित तथा शान्तिपूर्वक चाडपर्व मनाउने कार्यमा सहयोग पुर्‍याउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरिएको हो । 

जिल्लामा बसेको समन्वयात्मक बैठकले विभिन्न निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लावासी निर्देशानुसार अनुरोध जारी गरेको छ । मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्ने तथा नगराउन प्रशासनले अनुरोध गरेको छ । यस्तै, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनाधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुहरूको ढुवानी, बिक्री वितरण तथा प्रयोग गर्ने वा गराउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । 

सवारी साधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा असुल उपर नगर्ने, तथा प्रचलित कानून अनुसारका ट्राफिक नियमहरूको पालना गर्ने, यात्रुलाई कुनै सहयोगको आवश्यक परे वा गुनासो भएमा नजिकैको यात्रु सहायता कक्ष वा १०० मा सम्पर्क गर्न पनि प्रशासनले आग्रह गरेको छ । 

‘कोही कसैले उपरोक्त विपरीतका कार्य गरे वा गराएमा नजिकैको सुरक्षा निकाय वा प्रहरी इकाईमा जानकारी गराउनु हुन अनुरोध छ,’ प्रशासनका प्रशासकीय अधिकृत शिवराज जोशीले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘माथि उल्लिखित गर्न नहुने क्रियाकलापहरु भए गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत निर्देशानुसार सूचित गरिन्छ ।’
 

प्रतिक्रिया