धनगढी । कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडा कार्यालयहरुले चौकीडाँडा–ओलानी सडकबाट सेवा दिन थालेका छन् ।
गोदावरीको ३, १०, ११ र १२ नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता सम्बन्धी बाहेकका सेवा सडकबाट दिन थालेका हुन् । वडा नम्बर १२ का वडाध्यक्ष भीमबहादुर खड्काले सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने अन्तिम महिना भएकोले सो सम्बन्धी काम वडा कार्यालयमै कम्प्युटर अप्रेटरमार्फत गरिरहेको बताए । उनले त्यसबाहेकका सेवाहरु लिन वडावासीले आन्दोलन भइरहेको ठाउँमा आएर लिनसक्ने बताए ।
चौकीडाँडा–ओलानी–बान्द्रेखाल–कोल्मुडा–फल्टुडे सडकको चौकीडाँडा–ओलानी खण्डमा थेगिम कन्स्ट्रक्सन र तेडी निर्माण सेवाले छ वर्षदेखि कालोपत्रे गर्ने योजना अलपत्र पारेको विरोधमा ती वडा कार्यालयहरुल वडा नम्बर १० मा पर्ने चाक्लेखोला पुलमा वडा कार्यालय स्थापना गरेका छन् ।
आफूहरुले आन्दोलन सुरु गरेपछि प्रमुख जिल्ला अधिकारीले गोदावरीका नगरप्रमुखसंग कुरा गरेको खड्काले बताए । ठेक्का लगाउने पूर्वाधार विकास कार्यालय र ठेकेदारका कोही पनि आन्दोलन स्थलमा नआएको बताउँदै उनले आफूहरुसंग वार्ता गर्न वडा कार्यालय स्थापना गरिएकै सडकमा आउनुपर्ने बताए ।
सडकमा परेको खाल्डाखुल्डीले गर्दा आवतजावतमा मात्रै नभई एम्बुलेन्स, ढुवानीका साधन आउन, वडावासीहरुलाई रोजगारमा जान समेत कठिन भएको भन्दै वडा कार्यालयहरुले आन्दोलन सुरु गरेका हुन् । सो सडक खण्डमा पर्ने कृष्ण मन्दिरदेखि वडा नं. १० को कार्यालयसम्म २.५ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का हात पार्न थेगिमले एड्भेन्चर कन्स्ट्रक्सन र सनलाईट कन्स्ट्रसनसंग जेभी गरी पूर्वाधार विकास कार्यालय कैलालीले २०७७ साउन २४ गते ठेक्का लिएको थियो ।
थेगिमको ठेक्का सकिने स्थानदेखि बांगेसालसम्मको ३.१ किलोमिटर सडक कालोपत्रेका लागि तेडीले पूर्वाधार विकास कार्यालयबाट २०७९ चैत १७ गते ठेक्का लिएकोे थियो । पूर्वाधार विकास कार्यालय कैलालीले दुबै ठेक्कामा भौतिक प्रगति करिब ५०/५० प्रतिशत भएको जनाएको छ ।
प्रतिक्रिया