ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार घटना: छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?

बुधबार ०४, भदौ २०८२ ०९:२६

धनगढी । २३ साउनमा कैलाली कारागारमा भएको हिंसात्मक झडप घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । २४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकोमा उक्त समितिले मंगलबार बेलुका प्रतिवेदन बुझाएको हो । 

छानबिन समितिकी संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी जोशीले १० दिनको अवधि पाएको समितिले मंगलबार साँझ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई प्रतिवेदन बुझाएको जानकारी दिइन् । उनका अनुसार घटनाको सत्यतथ्य बाहिर ल्याउन अझै उच्चस्तरीय छानबिनको आवश्यकता देखिएको छ ।

‘सिसी क्यामेराको फुटेज पनि स्पष्ट छैन, कभरेज कम छ,’ छानबिन समिति संयोजक जोशीले भनिन्, ‘घाइते कैदीबन्दी र कारागारमा रहेका कैदीबन्दीसंगको कुराकानीले मात्रै पुष्टि हुने आधार देखिएको छैन । एउटाले अर्कोलाई आरोप लगाउने भइरहेको छ । त्यसका लागि विशेषज्ञसहितको छानबिन आवश्यक छ । यो विषय हामीले छानबिन प्रतिवेदनमा समेटेका छौं ।’

छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य थिए । 

२३ साउनमा कैदीबन्दीबीच झडप हुँदा ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइते ३९ जनाको उपचार भएर अस्पतालले डिस्चार्ज गरेको छ । तर, उनीहरुलाई अहिले पनि सेती प्रादेशिक अस्पतालमै राखिएको छ । 

यता कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कैलाली कारागार घटनामा घाइते भएर अस्पतालमा रहेका कैदीबन्दीको व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको बताएका छन् । हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी लम्सालले डिस्चार्ज भएका कैदीबन्दीको उचित व्यवस्थापन गरिने बताए । प्रमुख जिल्ला अधिकारी लम्सालले विधि, प्रणाली तथा कारागार विभागको नीतिभित्र रहेर डिस्चार्ज भएका कैदीबन्दीबारे उपयुक्त निर्णय गरिने बताए ।

प्रतिक्रिया