धनगढी । कैलाली कारागारको पछिल्लो घटना सेलाएको छैन । घाइते भएकाहरुलाई कारागार प्रशासनले उपचारपछि डिस्चार्ज भएर पनि कारागार फर्काउन सकेको छैन । फेरि कुटपिट हुनसक्ने डरले उनीहरुलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ ।
सरसर्ती हेर्दा घटना कारागारभित्रै सीमित देखिए पनि बन्दीगृहभित्रको जालो कारागारबाहिर अझ फराकिलो छ । राजनीतिक शक्तिमा रहेका नेताहरुको संरक्षणमा कैलाली कारागारका बन्दीहरुले बाहिरी नेटवर्क फिजाएका छन् ।
त्यसैले उनीहरुको हात बन्दीगृहभित्र मात्रै होइन, बाहिर पनि अलि परैसम्म फैलिएको छ । कैलाली कारागारका कैदीबन्दीहरुको जालो कारागारबाहिर कति मजबुत छ भन्ने कुरा जान्न केही घटनाक्रमहरु हेरौं ।
०००
कैलाली कारागारमा कुनै एक समूहको रजगज थियो । सोही समूहले त्यहाँको आन्तरिक प्रशासन चलाउथ्यो, चाहेको नियम बनाएको थियो, उनीहरुको स्वीकृति बेगर कुनै पनि कैदीबन्दीले हल्लिन पनि आट गर्दैनथे । कारागारभित्र सञ्चालित पसलहरुमा मनोमानी मूल्य थियो ।
सञ्चार सुविधा हुन्थ्यो, मदिरा र अन्य गैरकानुनी वस्तुहरु कारागारभित्र ओसारपसार गर्न रोकटोक गर्ने कसैको ताकत थिएन । बन्दीहरुलाई घरघरबाट पैसा झिकाउन लगाइन्थ्यो । तर जस्तोसूकै अवस्था भए पनि त्यहाँभित्रका कसैले पनि गुनासो गर्ने आँट गर्दैनथे । सबै कैदीबन्दीहरु एकै स्वरमा ठीकठाक छ भन्थे । बाहिर भएको नेटवर्कलाई सोही समूहले परिचालन गथ्र्यो ।
०००
विगतमा कारागार प्रशासन पनि त्यो सब थाहा नपाए झै गरेर पन्छिनुमा नै आनन्द महसुस गरिरहेको हुन्थ्यो । तर जेठ महिनायता कारागार प्रशासनले केही कैदीबन्दीलाई कैलालीबाट अन्य कारागारमा स्थानान्तरण गर्ने निर्णय गर्दै असार ३ गते त्यो क्रम सुरु गर्यो ।
स्थानान्तरण त्यति सहज भने थिएन । किन कि सार्न खोज्नुको पनि आफ्नै मक्सद र बाध्यता थियो भने सर्न नचाहनुको कारण त प्रष्टै थियो । राजनीतिक कारण र दबावमा कारागार प्रशासनले स्थानान्तरण गर्नुपर्नेहरुको सूची तयार गरेको थियो ।
०००
असार २ गते कारागार प्रशासनले जिल्ला अदालतमा म्याद थपका लागि लिएका बखत चलाखी अपनाएर त्यहीबाट १४ जना कैदीबन्दीलाई सरुवा भएको ठाउँतर्फ लिएको थियो । बाँकी रहेका कैदीबन्दी समूहलाई कारागार प्रशासनको त्यो कदम सह्य हुने कुरै थिएन ।
त्यसको असर असार ३० गते पर्यो । त्यस दिन पुनः सोही समूहका १८ जनालाई सार्ने सूची बनाएको थियो कारागार प्रशासनले । ‘रातिको ९ बजेतिर जब उनीहरुलाई सार्नका लागि दुुई वटा गाडी कारागारको गेटमा पुुगे, तब गेटबाहिर समर्थकहरु २५–३० जना युवाको एकाएक जमघट सुरु भयो । बसहरुमा ढुंगामुढा गरे, बस चालकलाई धम्काउँदै नम्बर टिपे, लग्यौ भने ठीक हुँदैन भने ।
खबरदार भन्दै बाहिरबाट पनि नाराबाजी भयो, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी उपरीक्षक बालनरसिंह राणा र कारागार प्रशासक बसन्त खत्रीविरुद्ध आक्रोशित भएर नाराबाजी गरेका थिए । ‘बन्दीहरुलाई नाम बोलाएर बाहिर निकाल्न खोज्दा निस्कन मानेन्, निकाल्नै सकेनन्, भित्रबाट पनि मुर्दावादका नाराबाजी लागे,’ घटनाबारे जानकार उच्च सुरक्षा स्रोतले भन्यो, ‘त्यस दिन कारागारमा कार्यरत कर्मचारीहरु बाहिरै निस्कन सकेनन् । उनीहरु भयभित अवस्थामा रातभर कार्यालयमै थुनिएका थिए ।’ स्थानान्तरण गर्न खोजिएको कैदीबन्दीको स्थानान्तरण त्यस दिन रोकियो । बसहरु फर्काइयो ।
अवस्था आँकलन गरेका कारागार प्रशासक बसन्त खत्री उक्त घटनाको दोस्रो दिन एकाएक बिरामी विदा लिएर कारागार छाडे । त्यसपछिको कारागार प्रशासन झन् कमजोर भयो । तर सुरक्षा संयन्त्रले भने अन्य केहीको स्थानान्तरण गरिछाड्ने भित्री तयारी गरिरहेकै थियो ।
०००
असार २२ गते पुनः तीन जनालाई सरुवा गरिएको थियो । त्यस दिन पनि बन्दीलाई सरुवा गरिएको ठाउँमा पठाउने क्रममा प्रशासनले जोखिम उठाएको थियो । अदातलबाटै उनीहरुलाई स्थानान्तरण गर्न लाग्दा चालकमाथि थ्रेट भएको थियो ।
‘धम्की र भ्यानमा ढुुगामुढा हुने अवस्था भएपछि चालकले भ्यान जिल्ला प्रहरी कार्यालय भित्र हालेका थिए,’ सुरक्षा स्रोतले भन्यो ‘त्यसपछि बन्दीगृहभित्र कुटपीट सुरु भयो । पाँच जना गम्भिर घाइते भए । बन्दीगृहभित्रको अवस्था असान्त भयो । कैदीबन्दीहरुले नाराजुलुस गरिरहे । ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालित गर्नु पर्यो ।’
उक्त घटनाको कारण र त्यसका भित्री पाटाहरु भने बाहिर आएका छैनन् । यसबारे जान्नका लागि कारागारभित्र मात्रै नजर लगाएर पुग्दैन, त्यसबाहिर बाहिर पनि निस्कनु पर्ने हुन्छ ।
०००
कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच एकआपसमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगर–४, का ४० वर्षीय भरत चौधरीमाथि गत साउन २३ गते राति कुटपीट भएको थियो । कुटपीटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । अन्य ४७ जनाभन्दा कैदीबन्दी घाइते भए । मृतक चौधरीमाथि लागुऔषधको मुद्दा थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको थियो । झडपको भित्री कारण खुलेको छैन । तर, कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिकजसो झडप भइरहेको छ । एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय जनाभन्दा बढी कैदीबन्दी रहेका छन् ।
प्रतिक्रिया